मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

आज असार १५, दही चिउरा खाँदै नाच्दै गाउँदै रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइँदै

धान दिवस मनाउन कृषि मन्त्री भुसाल उदयपुर पुगे

काठमाडौं – आज असार १५, दही चिउरा खाँदै नाच्दै गाउँदै रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइँदैछ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच कृषक यो दिवसलाई मनाइरहेका छन् ।

कषि मन्त्रायल र अन्य सरोकारवाला निकायले पनि यस दिवसको अवसरमा विविध कार्यक्रम राखेको छ ।

राष्ट्रिय धान दिवस मनाउन कृषि मन्त्री घनश्याम भुसाल उदयपुर पुगेका छन् । त्रियुगा नगरपालिकाले वडा नं. १३ बहेडवा भन्ने स्थानमा सामूहिक रुपमा धान रोपेर धान दिवस मनाइने छ ।

बहेडवामा १६० बिघा जग्गा चक्लाबन्दी गरिएको छ । १०–१० कठ्ठाको एउटा गह्रो बनाइएको छ । त्यहाँ यान्त्रीकरणबाट धान रोप्ने कार्यक्रम छ । कार्यक्रममा सहभागी हुन कृषिमन्त्री भुसाल आइतबार राति नै उदयपुर पुगेका थिए ।

कृषि विभागले कृषि अनुसन्धान परिषद् खुमलटार परिसरमा सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै रोपाइँ महोत्वसव गर्दैछ । कोभिड–१९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै निश्चित सहभागितामा मास्क र स्यानिटाइजर प्रयोग गर्दै रोपाइँ महोत्वस गर्न लागिएको विभागका महानिर्देशक कञ्चनराज पाण्डेले जानकारी दिए ।

धान दिवस तथा रोपाइँ महोत्सव मनाउन विभागले सुरक्षा मापदण्डनै बनाएको उनले जानकारी दिए ।

विसं २०६१ मा विश्वका ४३ मुलुकले संयुक्त राष्ट्र संघलाई अन्तराष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरे । उक्त समूहमा रहेका ४३ मध्येका एक राष्ट्र नेपाल पनि थियो । विश्वका झण्डै आधा जनसंख्याको मुख्य आहार मानिने धान उत्पादन प्रोत्साहन गर्न र बढ्दो भोकमरी नियन्त्रणमा सघाउ पुर्‍याउन उक्त कदम चालिएको थियो ।

विसं २०६१ अर्थात सन् २००४ मा संयुक्त राष्ट्र संघले ‘धान नै जीवन हो’ भन्ने नारासहित उक्त घोषणा गरेको थियो । राष्ट्र सङ्घले धान वर्ष घोषणा गरेपछि विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी पहिलो पटक विसं २०६२ असार १५ गतेदेखि नेपालमा धान दिवस मनाउन थालिएको पूर्वकृषि सचिव उत्तमकुमार भट्टराई बताउँछन् ।

धान खेतीमा कृषकलाई प्रोत्साहन गर्न सरकारबाटै असार १५ लाई धान दिवसका रुपमा उल्लासमय रुपमा मनाउन सुरु गरिएको थियो । अहिले कोभिड महामारीका बीचमा पनि किसान हतोत्साही नबनुन् भनेर दिवश मनाइएको मन्त्रालयले जनाएको छ ।

नेपालमा मुख्य गरेर दुई सिजनमा धान खेती गरिन्छ । चैतमा रोपेर असार साउनमा बाली भित्र्याउने तथा असारदेखि भदौ अन्तिमसम्म रोपेर मंसिरमा बाली भित्र्याउने चलन छ । यसका अलवा भदैया, हिउँदे गरेर तराईंमा वर्षै भरी धान खेती गर्न सकिने प्रविधिको विकास भइसकेको कृषि मन्त्रालयले जनाएको छ ।

नेपालको आर्थिक बृद्धिदर नै धानको उत्पादनमा निर्भर हुने भएकाले यसको महत्व अत्याधिक छ । धानको उत्पादन बढ्दा कुल ग्राहस्थ उत्पादन पनि बढ्छ भने धानमा समस्या आउँदा त्यसको असर कुल ग्राहस्थ उत्पादनमा देखिन्छ ।

केन्द्रीय तथ्यंक विभागले चालु आर्थिक वर्षमा २.२८ प्रतिशत मात्रै आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ । जसमा कृषि क्षेत्रको योगदान २.४८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

कोरोनाका कारण अन्य क्षेत्रको योगदान खुम्चिँन पुग्दा कृषिको योगदान अझै ठूलो हुन सक्ने र कुल योगदानमा धानको मात्रै योगदान ७ प्रतिशत हाराहारी हुने धान विज्ञ हरिकृष्ण उप्रेतीको अनुमान छ ।

नेपालमा मनाङ मुस्ताङबाहेक अन्य सबै जिल्लामा धान खेति गरिने कृषि विकास मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्ष नेपालमा १४ लाख ५८ हजार ९ सय १५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमा ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।

यस वर्ष धानको उत्पादन अघिल्लो वर्षको तुलनामा ५९ हजार मेटिक टन कम रहे पनि प्रतिहेक्टर उत्पादन भने अहिलेसम्मकै धेरै रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

अघिल्लो वर्ष एक हेक्टर जमिनमा तीन हजार ६० किलो धान फलेकोमा चालू आवमा एक हेक्टरमा तीन हजार ८ सय ४ किलो धान फलेको थियो । यस वर्ष समयामै मनसुन सुरु हुँदा असार १५ गतेसम्म झण्डै तीन लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ ।