सोमबार, असार २९, २०७७
GokarnaNews

एम्बुलेन्सले अस्पताल लैजान नमानेपछि सडकै बिते वीरेन्द्र

एम्बुलेन्सले अस्पताल लैजान नमानेपछि सडकै बिते वीरेन्द्र

जनकपुरधाम– भारतको सुरतबाट फर्किदै गरेका धनुषाका ३० वर्षीय वीरेन्द्र यादव भोक र प्यासका बीच लड्दैपड्दै जटही नाकासम्म आइपुगे। तर घरमा उनका लागि पर्खिरहेकी ६ महिनाकी छोरी, छोरा र पत्नीलाई नभेटी उनको निधन भयो।

वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र यादवका अनुसार सुरतबाट आउँदै गरेका वीरेन्द्र चिउरा, भुजा खाएरै लगभग ६ दिनपछि भारतको दरभंगासम्म पुगे। त्यतिबेलासम्म उनको अवस्था नाजुक भइसकेको थियो। उनीसँगै १०र१२ जना अरु नेपाली पनि थिए। उनीहरुले धिरेन्द्रलाई दाइको अवस्थाबारे फोन गरेर जानकारी गराए र एम्बुलेन्स लिएर दरभंगासम्म आउन भने।

धिरेन्द्र भन्छन्, ‘त्यति बेला रातिको लगभग १० बज्दै थियो। हामीले दाइसँगै रहेका उनका साथीहरुलाई जसरी भएपनि उतैबाट एम्बुलेन्स गरेर धनुषाको जटही नाकासम्म आउनका लागि आग्रह गर्‍यौँ। बरु जति पैसा लागेपनि केही छैन तर लिएर आउनुस् भनेर आग्रह गर्‍यौँ। उहाँहरुले त्यसै गर्नुभयो। दाईलाई लिएर लगभग राती १२र१ बजेको समयमा उहाँहरु पनि पुग्नुभयो र हामी पनि जटही नाका पुग्यौँ।’

‘जटही नाकामा पुगेपछि आफूहरुले नाकामा सुरक्षार्थ खटिएका नेपाली प्रहरीलाई दाइको नाजुक अवस्थाबारे सुनायौँ र उहाँहरुले दाइलाई ल्याइहाल्न स्वीकृत दिनुभयो तर जटही नाकामै रहेका भारतीय एसएसबीले भने कुनै हालतमा आफूहरुलाई बिहान नभएसम्म नजान दिने भनेपछि पारी रहेका दाइलाई बाध्य भइ त्यहीँ छोडेर हामी लगभग ३ बजेतिर जनकपुर काकाको घर फर्कियौँ’, धिरेन्द्रले सुनाए।

उनका अनुसार एसएसबीले एम्बुलेन्स कुनै पनि हालतमा लान नदिने भनेपछि लगभग ४ बजेको समयमा वीरेन्द्र सँगै रहेका उनका सहकर्मीहरुले उनलाई काँधमै बोकेर ल्याउन थालेपछि भारतीय एसएसबीले समेत उनलाई लैजान स्वीकृति दिए। वीरेन्द्रलाई नेपाली सिमानाकासम्म ल्याइयो। धिरेन्द्रलाई फोन गरेर बोलाइयो। धिरेन्द्र फेरि जनकपुरबाट वीरेन्द्रलाई लिन जटही पुगे।

त्यतिबेलासम्म वीरेन्द्रसहित भारतबाट आएका अन्य नेपालीहरु नेपाली सुरक्षाकर्मीहरु तैनाथ रहेका स्थानसम्म पुगिसकेका थिए। वीरेन्द्रको अवस्था झन् खराब हुँदै गइरहेको थियो तर उनीसहित आएका अन्य नेपालीहरुमा कोरोना हुन सक्ने डरले कोही पनि उनीहरुको नजिक गएनन्।

धिरेन्द्र पुग्दा लगभग बिहानको ५ बजिसकेको थियो र त्यतिबेलासम्म वीरेन्द्र मृत्युसँग लड्दै थिए।

धिरेन्द्र अगाडी भन्छन्, ‘खाना नपाएकै कारण दाइको अवस्था नाजुक बनेको थाहा पाएपछि हामी घरबाटै दूध, बिस्कुट, जुसहरु लिएर गएका थियौँ, तर खुवाउन पाएनौँ। कारण सुरक्षाकर्मीहरुले हामीलाई उनीहरुमा कोरोना हुन सक्छ भनेर दाइको नजिकसमेत जान दिएनन्। उहाँसँगै रहेका उनका सहकर्मीलाई हामीले टाढैबाट दूध जुसहरु पठाइदियौँ दाइले खानु पनि भयो। तर उहाँलाई तत्काल अस्पताल लगेपछि बाच्न सक्ने भन्दै अस्पताल लैजान हारगुहार लगाए पनि कोही कसैले हामीलाई सहयोग गरेनन्।’

‘यहाँसम्मकी हामीले हाम्रो शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरियालाई समेत एम्बुलेन्सका लागि फोन गर्‍यौँ। तर एक पटक फोन गएपछि उनले फोन नै स्वीच अफ गरे। चिनजानका जति एम्बुलेन्स चालकहरु सबैलाई फोन गरियो। कोही कसैले दाइलाई अस्पताल लैजान मानेनन्। अन्ततः दाइ करिब ८ बजेको समयमा मृत्युसँग हार्दै सडकमै बित्नुभयो’, धिरेन्द्रले भने।

धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ९ निवासी वीरेन्द्र खाडी मुलुक जाने योजना बनाएर त्यसका लागि उनले पासपोर्ट समेत बनाइसकेका थिए। तर उनको एजेन्टले भिसा आउन केही समय लाग्ने भनेपछि उनी तत्कालका लागि घरमा बेरोजगार भएर बस्नुभन्दा भारत गएर कुनै सानोतीनो रोजगार गर्ने सोच बनाएर उनी लगभग ६ महिना पहिले भारतको गुजरात प्रान्तमा पर्ने सुरतको एक होटेलमा काम गर्दै आएका थिए।

वीरेन्द्रका श्रीमती, एक ६ महिनाकी छोरी र ५ वर्षका छोरा छन्। यता वीरेन्द्रको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु