बिहिबार, जेठ १५, २०७७
GokarnaNews

क्यान्सरको उपचार गर्न दिल्ली गएका थिए चितवनका कोरोना संक्रमित

क्यान्सरको उपचार गर्न दिल्ली गएका थिए चितवनका कोरोना संक्रमित

काठमाडौं – शुक्रबार चितवनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएका दुई जना वृद्धवृद्धा जेठ ३ गते भारतको नयाँदिल्लीबाट फर्केको खुलेको छ।

भरतपुर अस्पतालका निर्देशक डाक्टर भोजराज अधिकारीले उनीहरू दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गरेर ३ गते नेपाल फर्किएको जानकारी दिए।

७४ वर्षीय र ७३ वर्षीया यी दम्पत्ति भरतपुर महानगरपालिका ६ केसरबाघका बासिन्दा हुन्। ७४ वर्षका वृद्धलाई क्यान्सर छ। त्यसैको उपचारका लागि उनीहरू तीन महिनाअघि दिल्ली गएका थिए।

दिल्लीमा उपचार गराएर उनीहरू कृष्णनगर नाकासम्म भारतीय एम्बुलेन्समा आएका थिए। त्यसपछि नेपाली एम्बुलेन्समा चढेर उनीहरू घरसम्म आइपुगे।
भरतपुर ६ का वडाध्यक्ष हरिविलास कोइरालाका अनुसार घर आएको दिनदेखि नै उनीहरू होम क्वारेन्टिनमा बसेका थिए।

‘उहाँहरू आफैं सचेत भएर सुरक्षित तरिकाले बस्नुभएको रैछ, कसैलाई पनि भेटेको देखिएन,’ वडाध्यक्ष कोइरालाले भने,‘भारतबाट आउनु भएकाले हामीले नै उहाँहरू स्वाब परीक्षण गर्न पठाएका हौं।’

आमाबुवासँगै आएका उनीहरूका छोराको पनि स्वाब परीक्षण गरिएको थियो। उनको नतिजा भने नेगेटिभ आएको छ।

संक्रमित दुबै जनालाई शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

उनीहरूसहित शुक्रबार बिहान थप ३० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ।

तीमध्ये तीन जनाको मृत्यु भएको छ भने ७० जना निको भएका छन्।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु