बिहिबार, जेठ १५, २०७७
GokarnaNews

निजी अस्पतालहरूलाई र्‍यापिड टेस्ट गर्न ९ कम्पनीका किट सिफारिस,ओम्नीले ल्याएको किट नचल्ने

निजी अस्पतालहरूलाई र्‍यापिड टेस्ट गर्न ९ कम्पनीका किट सिफारिस,ओम्नीले ल्याएको किट नचल्ने

काठमाडौं – सरकारले निजी अस्पतालहरूलाई र्‍यापिड टेस्ट गर्न ९ वटा कम्पनीका किट सिफारिस गरेको छ। जसमा चीनका ७, अमेरिका र क्यानाडाका एक एक वटा कम्पनीका किट परेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यी ९ कम्पनीका किटबाट निजी अस्पताहरूले कोरोनाको परीक्षण गर्नसक्ने बताएको छ। प्रयोगशालाकी निर्देशक डा. रूना झाले स्वास्थ्य सेवा विभागमा आएका सूचीहरूलाई हेरेर किट सिफारिस गरिएको बताइन्।

सो सूचीमा नेपालले पहिले प्रयोग गरेको कम्पनीको किट छैन। सरकारले सुरुमा ओम्नी समूहले ल्याएको र्‍यापिड टेस्ट किट प्रयोग गरेको थियो। उक्त किट चीनकै वन्ड्फो कम्पनीबाट ल्याइएको थियो।

झन्डै ७ करोड रुपैयाँ बढी खर्चेर सरकारले ७५ हजार त्यस्ता किट ल्याएको थियो। तर उक्त किटले आइजिजी र आइजिएम नछुट्याउने भन्दै अब सरकारले सो किट प्रयोग नगर्ने सोच बनाएको छ।

‘अहिले सिफारिस गरेका किटहरूले आइजिजी र आइजिएम दुबै पत्ता लगाउँछ’ निर्देशक झाले भनिन्, ‘पहिले जति आयो–आयो अब त्यो प्रयोग गरिन्न।’

सरकारले सुरुमै उक्त किट प्रयोगमा ल्याउँदा त्यसको गुणस्तरमाथि नै प्रश्न उठेको थियो। सरकारले त्यसको गुणस्तर मापन गर्ने भन्यो तर त्यसको नतिजा सार्वजनिक नगरी किटलाई व्यापक प्रयोगमा ल्यायो।

सोही कारण कतिपय ठाउँमा किटको नतिजा उल्टिएको पनि थियो। वैशाखको पहिलो सातामा उदयपुरको भुल्केमा सोही किटले गरेको टेस्टमा १६ जनाकै नेगेटिभ देखिएको थियो तर पछि पिसिआर परीक्षण गर्दा सबैमा कोरोना भएको पुष्टि भयो।

र्‍यापिड किटले आइजिएम र आइजिजी छुट्याउने भयो भने संक्रमण पहिले थियो कि भर्खर भएको भन्ने खोट्याउन सहज हुन्छ। किनकि यी दुबै एन्टिबडी संक्रमण भएको हप्ता दिनदेखि उत्पादन हुन थाल्छ।

आइजिएम सुरुमा उत्पादन हुन्छ र १० दिनभित्र हराएर जान्छ। यो अलिक कमजोर पनि हुन्छ। त्यसपछि आइजिजी उत्पादन सुरु हुन्छ। यो निकै बलियो हुन्छ। यी दुबै एन्टिबडीको काम भनेको भाइरसलाई परास्त गर्ने हो।

पहिलाको किटले यी दुबै एन्टिबडीलाई छुट्याउँदैनथ्यो। मात्र एन्टीबडी देखाउँथ्यो। त्यसो हुँदा संक्रमण पहिले थियो कि अहिले भर्खर छ भन्ने छुट्टिन गाह्रो हुन्थ्यो।

सरकारले लगत्तै दोस्रो लटमा दुबै एन्टिबडी छुट्याउने १ लाख किट खरिद गरेको छ। अहिले यही किट प्रयोग भइरहेको छ।

अब निजी अस्पतालहरूले पनि प्रयोगशालाले तोकेको मापदण्डभित्र रहेर र्‍यापिड टेस्ट गर्न सक्छन्। प्रयोगशालाले सिफारिस गरेको किटभन्दा अर्को किट प्रयोग गर्नुपरेमा पहिले प्रयोगशालाबाट स्वीकृति गराउनुपर्ने छ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु