बिहिबार, जेठ १५, २०७७
GokarnaNews

लिम्पियाधुरा लिपुलेक नेपालकै हो, भारतको कदम स्विकार्य छैन : राजेश हमाल

लिम्पियाधुरा लिपुलेक नेपालकै हो, भारतको कदम स्विकार्य छैन : राजेश हमाल

काठमाडौं – नेपाली कलाकारीता क्षेत्रका हस्ती एव्म महानायकको उपमा पाएका राजेश हमालले भारतले नेपाली भूमी दावी गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।

उनले एक भिडियो संदेश जारी गर्दै लिम्पियाधुरा लिपुलेक नेपालकै भएको भन्दै भारतले ऐतिहासिक तथ्य, प्रमाणलाई मान्नु पर्ने बताए।

नायक हमालले भारतले सार्वभौम राष्ट्र नेपालको स्वाधिनता माथी हस्तक्षेप गर्दै आएको भन्दै त्यो शैह्य नहुने बताए । उनले नेपाली भूमी आफ्नो भन्दै दावी गर्ने भारतको यो स्वभाव स्विकार्य नहुने बताए । उनले भिडियो सन्देसमा भनेको कुरा जस्ताको तस्तै

म आफूलाई अराजनीतिक व्यक्ति ठान्छु। त्यसो त धेरै पहिले कलेज पढ्दा राजनीति शास्त्रका शिक्षकले भनेको अझै पनि प्रष्ट सम्झन्छु कि ‘तिमी कुनै राज्यमा बस्छौं भने तिमी व्यक्ति राजनीतिबाट टाढा हुनसक्छौ तर राजनीति भने सँधै तिमीभन्दा टाढा रहनेछैन।’

मेरो अनुभवले पनि ठ्याक्कै त्यस्तै भन्छ।

अहिले पुरै नेपालमा एउटा विषय छाएको छ। यो एकअर्थमा राजनीतिभन्दा माथिको कुरा हो। नेपाल र भाारतबीचको सीमा विवादलाई म आशावादीरुपमा भन्दा यो हाम्रो छिमेकीको तर्फबाट भएको गलत बुझाईको रुपमा लिन्छु। यो विवाद पनि होइन।

यो राजनीतिभन्दा माथिको कुरा हो किनभने यसले हामी सबैलाई प्रभावित पारेको छ। जुनसुकै पृष्ठभूमि, जातीय, धार्मिक विश्वास, राजनीतिक संलग्नता जेसुकै भएपनि यसले मलगायत सबै नेपालीको भावनामा यसले प्रहार गरेको छ।

पहिलो त, यसले गर्दा हाम्रो सम्मानमा प्रहार गरेको छ र एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको नागरिक हुनुको मुख्य आधारलाई नै यसले गम्भीररुपमा खलबल्याएको छ।

यो स्वभावतः असैह्य र अस्वीकार्य कुरा हो, जुन पछिल्ला गतिबिधिमा पनि सबैतिर झल्किएको छ।। यो राष्ट्र हाम्रा विशिष्ट र वीर पुर्खाले बनाएको राष्ट्र हो। बिभिन्न पृष्ठभूमि र जातजातीका नेपाली जनताको साथबाट यो देश बनेको हो।
हामीले पनि विगतमा कमिकमजोरी र सम्झौता गरेका छैनौं भनेर म भन्दिन तर हामीले विगतमा जे जति बलिदान दिएका छौं, त्यो केवल एकमात्र कारणका लागि दिएका छौं, त्यो हो हाम्रो स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाका लागि हो।

त्यसकारण अहिलेको नेपालको हाम्रो भूमी बिनाबलिदान त्यत्तिकै बनेको होइन। नेपालको भूमिमा हामी कुनैपनि परिस्थितिमा सम्झौता गर्न सक्तैनौं।

मलाई लाग्छ, भारतले यो भावना राम्रोसँग बुझेको छ किनभने भारत आफै उपनिवेशवादी शक्तिको हेपाई र थिचोमिचोबाट गुज्रेको मुलुक हो।
हामी कुनै अनावश्यक पूर्वाग्रहतर्फ संलग्न हुन र पहिलेका कमिकमजोरी कोट्याउन पनि चाहँदैनौं। विगतका बिभिन्न नेतृत्वहरुले बिभिन्न कारणले कमिकमजोरी देखाएको भए पनि र बेलामौकामा फाट्टफुट्ट राजनीतिक तथा सामाजिक समस्या आए पनि हामीले आपसमा मैत्रीपूर्ण सहयोग देखाउँदै आएका छौं।

समय बदलिएको छ। अहिले नेपाली जनसमुदायले कुनै पनि प्रकारको अन्याय सहनेवाला छैन। अब त अहिलेको सरकारलाई खुशी पारेर मात्र पनि पुग्नेवाला छैन। यो मुद्दा अब भावनात्मक रुपमैं नेपाली जनताको मुद्दा बनेको छ। उनीहरुलाई यो विषयमा न्याय भएको छ भन्ने नलागेसम्म मैले दुखका साथ भन्नैपर्छ कि दुई देशबीचको यो सीमा समस्या सुल्झिनेछैन।

यति लामोसमय देखि समान मान्यता, परम्परा र संस्कृतिलाई सम्मान गर्ने यी दुई देशबीचको यो गतिरोधले दुई मुलुकलाई मात्र नभई यो क्षेत्रमैं प्रभाव पार्नेछ।

अहिले जसरी भारतीयतर्फबाट चीनको बारेमा समाचार आएको देख्दैछु यो त हाँडीले कित्लेलाई कालो भनेर औँल्याए जस्तो लाग्दैछ। निसन्देहः भारत अहिले यो क्षेत्रमा मात्र नभई विश्वमै एउटा शक्तिशाली राष्ट्रको रुपमा उदाइरहेको छ। तर, उसले त्यहि उचाई सुहाँउदो महानता पनि देखाउनुपर्छ, मुख्यतः आफ्ना छिमेकी मित्रराष्ट्रहरुसँग।

नेपालले मुख्यतः तथ्य र प्रमाणका आधारमा न्यायपूर्ण व्यवहारमात्र खोजेको हो। उसले आफ्नो आधिकारिक कुराभन्दा न बढि मागेको छ न त कम। नेपाली जनता पनि भारतसँग अत्यन्त राम्रो सम्बन्ध भएको देख्न चाहन्छन्।

भारतद्वारा दिँदै आएको सहयोगलाई नेपालीले सँधै खुला हृदयले स्वागत र सम्मान गर्दै आएका छन्।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो भ्रमणका बेला नेपालमा देखाइएको आत्मीयता र भाइचाराको मलाई याद छ। त्यतिबेला यस्तो वातावरण थियो कि मोदीजी आफ्नो मोटरकेडबाट बाहिर निस्केर सडकछेऊमा बसेका मानिसहरुसँग समेत घुलमिल भएका थिए।

उनलाई दिइएको ४–५ तहको सुरक्षा घेराबाहिर निस्केर उनले नेपाली सर्वसाधारणसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए भने नेपालीहरुको भीडले पनि उनलाई त्यसैगरी स्नेह दर्शाएका थिए। एउटा रकस्टारप्रति देखिने क्रेजजस्तै देखिन्थ्यो नेपाली सडकमा। त्यस्तै स्वस्फूर्तः सम्मान हाम्रा आफ्नै नेताहरुलाई पनि भए हुन्थ्यो भन्ने मलाई लाग्थ्यो।

तर दुर्भाग्यवश, त्यो उत्साह लामो समय टिकेन। जब मोदीको सरकारले विनाशकारी भूकम्पले थिलोथिलो पारेको नेपालमा नाकाबन्दी गर्‍यो।

त्यसपछि अहिलेको नेपाली पुस्तामा चाहिँ गहिरो चोट लागेको छ। भारतबाट बेलाबेला हुने यस्ता नाकाबन्दी, एकपक्षीय सन्धिहरु, नसुल्झेका सीमा समस्याहरु र हाम्रा राजनीतिक नेताहरुको कमिकमजोरीबाट फाइदा लिने प्रवृत्तिले गर्दा नेपाली समुदायमा निकै नराम्रो छाप परिरहेको छ।

यहि ऋंखलामा अहिलेको भारतले लिम्पियाधुरा र लिपुलेकबारे भारतले लिएको कदम ‘त्यो अन्तिम त्यान्द्रो जसले उँटको ढाड भाँचेको हुन्छ’ भनेजस्तै अन्तिम प्रहारको रुपमा नेपालीमाथि बज्रेको छ।

यो त दुई राष्ट्रको मात्र नभई समग्र दक्षिण एसियाली क्षेत्रकै लागि घातक छ। विश्वशक्ति बन्ने महत्वाकांक्षासहित अघि बढेको भारतकै हितमा पनि पटक्कै छैन।

छिमेकीहरुसँग शत्रुतापूर्ण व्यवहार राखेर उ कसरी प्रगति गर्नसक्छ किनभने आक्रोश र असन्तुलनले उसलाई कहिँ पुर्‍याउनेवाला छैन। दुवै मुलृकका लागि यसका परिणाम धेरै नराम्रो हुन्छन्।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिइरहेका बेला यो क्षेत्रको शक्तिशाली राष्ट्रको रुपमा आवश्यक साथ सहयोग गरेर मात्र भारत अन्तर्राष्ट्रिय मञ्चमा स्थापित हुनसक्छ।

बुद्धजयन्तीका दिन आफ्नो संबोधनमा प्रधानमन्त्री मोदीले भनेका थिए, ‘गहिरो भावना र सहानुभूतिको अनुभूतिका साथ काम गरेर मात्र हामीले ठूला चुनौतिहरुलाई पार लगाउन सक्छौं।’

हामी नेपालीले केमात्र कामना गर्छौं भने सहानुभूति र भावना त पक्कै चाहिन्छ तर त्यतिमात्र होइन न्यायपूर्ण व्यवहार हुनुपर्छ।

यो सीमा समस्यामा भारतले पश्चातापसहित त्यो भूमि फिर्ता गर्नुपर्छ किनभने यो नेपालकै हो। सबै ऐतिहासिक प्रमाण र तथ्यहरुले प्रष्टरुपमा लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालकै हो भाग हो भन्ने स्थापित गरेका छन्।

त्यसैले एउटा देश र त्यहाँको जनताको रुपमा हामीले हाम्रो छिमेकी मित्रसँग विनम्ररुपमा इतिहासका तथ्य र तथ्यांकहरुलाई हेर्न र यो विषयलाई अत्यन्त न्यायपूर्ण, स्वच्छ र स्वस्थ ढंगले हेर्न अनुरोध गर्छौं।

हामी सौहार्दपूर्ण कुटनीतिक माध्यमबाट यो विषय सल्टाउन चाहन्छौं किनभने यो क्षेत्रमा यस्तो शत्रुतापूर्ण वातावरणले सम्बन्धित दुई देशलाई मात्र नभई समग्र क्षेत्रलाई राम्रो गर्दैन।

केहि उतारचढावका बावजुद पनि विश्वमैं अनुपम सम्बन्ध भएका नेपाल र भारतले न्यायपूर्ण र उचित किसिमबाट यो विषय सम्हाल्दै एउटा समाधान निकाल्नेछन् र नेपाली जनतालाई न्याय भएको अनुभूति हुनेछ भन्ने मलाई विश्वास छ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु