बिहिबार, जेठ १५, २०७७
GokarnaNews

भारतीय सुरक्षा फौजले दशगजामै भ्यु टावरसहितको सुरक्षा पोस्ट निर्माण गर्न थालेपछि स्थानियले लखेटे

भारतीय सुरक्षा फौजले दशगजामै भ्यु टावरसहितको सुरक्षा पोस्ट निर्माण गर्न थालेपछि स्थानियले लखेटे

सांकेतिक तस्विर

काठमाडौं – सरकार र स्थानीयले लिएको अडानको असर सीमा क्षेत्रमा देखिन थालेको छ । पर्सास्थित ठोरीका बासिन्दाको विरोध र अडानपछि भारतीय पक्षले दशगजा क्षेत्रमा बनाउन लागेको सुरक्षा पोस्ट सीमाबाट करिब ३० मिटर पर सार्नु परेको हो । भारतीय पक्षले वन गस्तीका लागि भन्दै सोमबारदेखि ठोरी गाउँपालिका–४ विजयबस्तीस्थित दशगजामै टावरसहितको सुरक्षा पोस्ट बनाउन सुरु गरेको थियो । तर, अचानक स्थानीयले गिट्टी, बालुवा झारेर निर्माण कार्यसमेत थालेको भारतीय पक्षलाई खेद्न सफल भएका छन् ।

मंगलबार फेरि दशगजामै सुरक्षा पोस्ट बनाउन भारतीय सुरक्षा फौज एसएसबी, बिहार प्रहरी र भारतीय वन विभागका अधिकारी आए । करिब २ सय ५० को संख्यामा भेला भएका स्थानीय, नेपाल तथा सशस्त्र प्रहरीसमेतको संयुक्त विरोध र अडानपछि भारतीय पक्ष आफ्नै भूमिमा सुरक्षा पोस्ट निर्माण गर्न सहमत भयो । ठोरी–४ का वडाध्यक्ष बहीबहादुर पाख्रिनले ठोरीवासी र जनप्रतिनिधिको अडानले भारतीय पक्ष पछि हटेको जानकारी दिए । आफुहरुले कुनै पनि हालतमा दशगजामा सुरक्षा पोस्ट बनाउन दिन्नौं भनेर अडान लिएपछि भारत पछि हटेको उनको भनाई छ ।

सशस्त्र प्रहरी बल सुवर्णपुर बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सिंहवीर मल्लले भारतीय पक्षले भ्यु टावरसहितको सुरक्षा पोस्ट निर्माण गर्न खोज्दा विवाद उत्पन्न भएको जानकारी दिए । यसअघि ठोरी गाउँपालिका–४ स्याउलीबस्तीमा पनि यसरी नै दशगजामै वन विभागको पोस्ट बनाउन खोज्दा स्थानीयले भारतीय पक्षलाई लखेट्न सफल भएका थिए । सीमामा बस्ने जनता नै सीमाको पिल्लर हुन्छ भन्ने यस्ता धेरै घटनाहरु हामीले देखेका छौ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु