बिहिबार, जेठ १५, २०७७
GokarnaNews

काठमाडौं उपत्यकामा हुनुहुन्छ ? खानाको समस्या भए ११८० र ११३१मा फोन गर्नुस्

काठमाडौं उपत्यकामा हुनुहुन्छ ? खानाको समस्या भए ११८० र ११३१मा फोन गर्नुस्

काठमाडौं – लकडाउनका कारण समस्यामा परेपछि मजदुरहरु लामो दूरीका गन्तब्यसम्म पनि हिँडेरै जाने क्रम बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समस्या समाधानका लागि पहल थालेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयस त्रिपाठीले शुक्रबार काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीलाई बोलाएर खान नपाएर बाहरिन बाध्यहरुलाई रोक्ने गरी कदम चाल्न निर्देशन दिए । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पनि सहभागी थिए ।

सो बैठकपछि उपत्यका नगरपालिका फोरम काठमाडौँले उपत्यका नछाड्न आग्रह गरेको छ । उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख, उपप्रमुखहरु संलग्न नगरपालिका फोरमले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

‘कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन जारी राखेको छ । हामी यो लकडाउनको पूर्ण समर्थन गर्दछौँँ,’ नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘लकडाउनका बेला एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान समेत प्रतिवद्ध गरेको अवस्थामा तपाईँहरु जो जहाँ रहनु भएको छ, त्यहि सुरक्षित बस्नुहोला ।’
प्रमुख शाक्यले उपत्यकामा रहेका अतिविपन्न, असाहय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई भोकै पर्न नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।

‘अहिले दैनिक दर्जनौँ मानिस भोकभोकै पर्न थालेपछि उपत्यका छाड्न थालेको भन्ने समाचार विभिन्न सञ्चार माध्ययमबाट सम्प्रेषित भइरहेका छन् । ती समाचारप्रति हाम्रो ध्यान पुगेको छ,’ प्रमुख शाक्यले भने, ‘नगरपालिका फोरमको अध्यक्ष र काठमाडौँ महानगरपालिकाको प्रमुखको हैसियतले उपत्यकावासीलाई भन्न चाहन्छु । तपाईँहरुलाई केही समस्या छ भने उपत्यकाका सबै नगरपालिकाहरुको वडा कार्यालयमा सम्पर्क गर्नुहोला । ‘

मेयर शाक्यले राहतको व्यवस्था गर्न तयार रहेको र कतै भोकै परेको जानकारी छ भने टोल फ्रि नं. ११८० र ११३१ मा जानकारी दिए समाधान गरिने बताए ।

उनले उपत्यकाबाहिर रहेकाहरुलाई पनि लकडाउन अवधिभर उपत्यकाभित्र प्रवेश नगरिदिनुहुन आग्रह पनि गरे । ‘तपाईँहरु जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुहुन अनुरोध छ,’ उनले भने, ‘हामी सबै मिलेर लकडाउनको पूर्ण पालना गर्न सक्यौँ भनेर मात्रै कोरोना नियन्त्रण र रोकथाम गर्न सक्छौँ ।’

मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले पनि विज्ञप्ति जारी गर्दै सबैलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

‘यस्तो प्रतिकुल अवस्थामा पनि काठमाडौँ उपत्यका छाडी सयौँ किलोमिटर पैदलयात्रा गरी आफ्नो घर जाने र बाटोमा दुःखकष्ट भोगिरहेका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आआफ्नो क्षमताले भ्याएसम्म परिचालित भई रासन वितरण तथा अन्य प्रयास गरिरहेका छन् उपत्यकामा रहेका असाहय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस भनेर राहत वितरण गरेको विदितै छ ।’

सम्बन्धित समाचारहरु

वडा समाचारहरु