सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

पार्टीमा भूमरी परिरहने,भत्किने र फुट्ने प्रक्रिया चलिरहन्छ : प्रचण्ड

''कम्युनिष्टलाई दुश्मनका गोलीले लडाउन सकेन तर सत्तामा गएपछि भ्रष्टाचारले सक्यो''

पार्टीमा भूमरी परिरहने,भत्किने र फुट्ने प्रक्रिया चलिरहन्छ : प्रचण्ड

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा विवाद हुनु र भूमरी चल्नु सामान्य प्रक्रिया भएको बताएका छन्।

बिहीबार राजधानीमा भएको नेकपाका बागमती प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले विवाद नभएको दिन पार्टी नै नरहने तर्क गरे। ‘धेरैलाई लाग्न सक्छ, पार्टी शान्त भइदिए हुन्थ्यो। नेताहरू खुरुक्क मिलेर हिँडे हुन्थ्यो। हामीलाई पनि त्यस्तै लाग्छ,’ प्रचण्डले भने,‘हामी एकतावद्ध हुन कोशिस गर्ने हो तर जुन दिन विवादरहित र शान्त पार्टी बन्छ त्यो दिनबाट पार्टी चाहिन्न।’

उनले साम्यवाद नआएसम्म पार्टीमा भूमरी परिरहने, पार्टी भत्किने र फुट्ने प्रक्रिया चलिरहने बताए।

विवादरहित र शान्त भएपछि साम्यवाद आउँछ, त्यसपछि पार्टी चाहिन्न,’ प्रचण्डले भने।

पछिल्लो समय नेकपाभित्र प्रचण्ड र अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीबीचको विवाद उत्कर्षमा पुगेको छ।

बुधबारमात्रै प्रचण्डको प्रस्तावमा सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओली झनै रूष्ट बनेका छन्। उनले अर्का नेता माधवकुमार नेपालसँग सचिवालयको उक्त निर्णय नमान्ने बताइसकेका छन्।

राष्ट्रिय सभामा वामदेव जान्छन् कि ओलीको चाहनाअनुसार अहिलेका अर्थमन्त्री युवराज खतिवडा नै रहन्छन् भन्ने टुंगो नभइसकेका बेला आज नेकपाका दुबै अध्यक्ष एउटै मञ्चमा देखिएका हुन्।

उनले पार्टी विभाजन हुन नदिने पनि बताए। ‘पार्टी जमेको पोखरी जस्तो होइन। यो गडगडार जान्छ। पार्टीभित्र के हो भनेर धेरैलाई परेको छ। यो धेरै ठूलो मूल्य चुकाएर पसिना चुहाएर आएको नेतृत्व छ। त्यसैले विवाद भए पनि विभाजन र विघटन हुन दिन्नौ,’ प्रचण्डले भने।

उनले सञ्चारमाध्यममा आएका समाचारका पछि नलाग्न पनि आग्रह गरे। ‘केहि केहि विषय के हो भनेर आएका छन्। मिडियामा आएको समाचारको पछाडी नलाग्नुस्।यसलाई कमजोर र विघटन हुन दिन्नौ,’ उनले भने।

उनले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने बताए। ‘पार्टीलाई एक ढिक्का बनाएर लान्छौ। कम्युनिष्टलाई दुश्मनका गोलीले लडाउन सकेन तर सत्तामा गएपछि कुशासन र भ्रष्टाचारले सकेको छ। एउटै गोली खर्च नभई कम्युनिष्ट पार्टी आफ्नै कारण सकिएका छन्,’ उनले भने।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु