सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

बालुवाटारमा ओलीले कांग्रेस नेता शेखरसँग गरे २ घण्टा कुराकानी, शेखरको सुझाव थियो ‘तपाइले राजीनामा दिनुस्’

बालुवाटारमा ओलीले कांग्रेस नेता शेखरसँग गरे २ घण्टा कुराकानी, शेखरको सुझाव थियो ‘तपाइले राजीनामा दिनुस्’

काठमाडौं – पछिल्लो समय पार्टीभित्रको आन्तरिक कलहले प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमा चैन छैन। बुधबारमात्रै सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सिफारिस गर्ने निर्णय गरेपछि तनाव झन् बढेको छ।

यही तनावका बीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालालाई प्रधानमन्त्री ओलीले  फोन गरे। भेट्न बालुवाटार बोलाए। कोइराला बिहीबार बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगे।

ओली र कोइरालाबीच समसामयिक राजनीति, सरकारका काम र आ–आफ्ना पार्टीभित्रका आन्तरिक प्रतिस्पर्धाबारे झन्डै दुई घन्टा कुराकानी भयो।

भेटघाटको सुरूमै बोलेका कोइरालाले प्रधानमन्त्री ओलीको राजीनामा मागे।

‘शेखर दाइ त खरो मान्छे, सुरूमै प्रधानमन्त्रीज्यू म त हजुरले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेर मागिराखेको छु भन्नुभयो,’ भेटवार्तामा भएका कुराकानीबारे उद्धृत गर्दै कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘प्रधानमन्त्रीज्यूले यो त प्रतिपक्षको भूमिका हो। म पनि राजनीति गर्ने मान्छे हो, यस्ता कुरा बुझिहाल्छु नि! भन्ने जवाफ दिनुभयो।’

प्रधानमन्त्री ओली यतिमै रोकिएनन्। ‘तपाईंहरू (प्रतिपक्षी) भन्दा पनि आफ्नै साथीभाइ, आफ्नै पार्टीका नेताहरू नचाहिने, जथाभाबी भन्ने गरिरहेका छन्। त्यसले मलाई दुःख लागिरहेको छ,’ ओलीको भनाइ उद्धृत गर्दै उनले भने।

कोइरालाले प्रधानमन्त्रीसँग पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणबारे पनि कुरा उठाएका थिए।

‘यो सरकार एकपछि अर्को काण्डमा मुछिँदै गएको छ,’ कोइरालाले भने, ‘सरकारका काण्डले त राजनीतिक पार्टीहरूमै जनतामा वितृष्णा उठ्न सक्ने खतरा छ। यस्तो कामलाई रोक्नुपर्छ।’

भेटमा कोइरालाले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नहुने बताएका थिए।

‘व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्दा गलत नजिर बस्छ। यसले मुलुकलाई कुनै पनि बेला दुर्घटनामा पुर्‍याउन सक्छ। लोकतन्त्रका लागि लडेका व्यक्तिले यस्ता कुरामा विचार पुर्‍याउनुपर्छ भन्ने शेखर दाइको भनाइ थियो,’ थपलियाले भने।

भेटपछि कोइरालाले यसपटक भने प्रधानमन्त्री ओलीमा मुलुकप्रति अलि धेरै चिन्ता देखिएको पाएको बताएका छन्।

‘सहकार्य गर्नुपर्‍यो, सँगै जानुपर्‍यो, मुलुक बचाउनुपर्‍यो भन्ने खालका कुरा प्रधानमन्त्रीले भेटमा राख्नुभएको हो,’ थपलियाले भने।

प्रधानमन्त्री ओली र शेखर कोइरालाबीच पहिलेदेखि नै सुमधुर सम्बन्ध छ। बेलाबेला ओली–कोइराला भेटघाट र ठट्यौली कुरा भइरहन्छ।

करिब दुई घन्टा कुराकानीपछि कोइराला आजै गृहनगर विराटनगर गएका छन्।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु