मङ्गलबार, चैत २५, २०७६
GokarnaNews

‘मृत्यु’ रोज्न चाहेका ९ वर्षे बालकलाई खुशी बनाउन विश्वव्यापी साथ

‘मृत्यु’ रोज्न चाहेका ९ वर्षे बालकलाई खुशी बनाउन विश्वव्यापी साथ

अस्ट्रेलियाका ९ वर्षका बालकमाथि स्कूलमा भएको बुली (भयभित गराउने वा सताउने) को प्रभावको भिडियो विश्वव्यापी रुपमा भाइरल भएको छ । ९ वर्षका क्वाइडन बेयल्समाथि उनको शारीरिक अवस्थालाई लिएर बुली भएको हो । बुलीका कारण उनमा गम्भीर आघात परेको छ ।

क्वाइडन रोइरहेको भिडियो उनकी आमा याराका बेयल्सले अनलाइनमा पोस्ट गरेकी हुन् । सो भिडियो क्लिप विश्वव्यापी रुपमा दशौँ लाखपटक हेरिएको छ । क्वाइडनमाथि उनको शारीरिक स्वरुपकै कारण बुली भएको हो । उनी सामान्य भन्दा सानो कदका छन् वा उनको उचाई सामान्य भन्दा कम छ । उनमा ड्वारफिजम भनिने मेडिकल कन्डिसन रहेको छ ।

याराकाले भिडियोमा भनेकी छन्, ‘बुलिङ्गले यस्तो गर्छ।’ भिडियोमा रोइरहेका उनका छोरा क्वाइडनले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् ।

भिडियो भाइरल भएसँगै क्वाइडनको पक्षमा सेलिब्रेटीसहित विश्वव्यापीमा रुपमा मानिसहरु उभिएका छन् । उनलाई डिज्नील्याण्ड पठाउनका लागि सहयोग संकलन गर्न थालिएको अभियानले तोकिएको भन्दा ३० गुणा बली रकम संलकन गरेको छ ।

उनलाई डिज्नील्याण्ड पठाउनका लागि १० हजार अमेरिकी डलर संकलन गर्ने लक्ष्यसहित गोफण्डमी पेजमा अभियान सुरु गरिएको थियो । तर त्यसका लागि लक्ष्य भन्दा ३० गुणा बढी रकम संकलन भएको छ। अहिलेसम्म तीन लाख अमेरिकी डलर भन्दा बढी संकलन भएको हो ।

अमेरिकी कमेडियन ब्राड विलियम्सले क्वाइडनलाई डिज्नील्याण्ड पठाउनका लागि रकम संकलन गर्न सो पेज सुरु गरेका हुन् ।

राष्ट्रिय रग्बी लिगको इन्डोजिनियस अल स्टार टिमले क्वाइडनलाई शनिबार राति हुने माओरी अल स्टारसँगको खेलमा आफ्नो टिम मैदान प्रवेश गर्ने बेला नेतृत्व गर्न निम्ता दिएको छ ।

पत्रकार सम्मेलनमा क्वाइडनकी आमा याराकाले आफ्नो छोराले भोगेको हृदयविदारक अनुभवले बुलिङ्गको प्रभाव कस्तो हुन्छ र यसविरुद्ध लाग्नु पर्छ भन्नेमा सचेतना जगाएको आश गरेको बताएकी छन् ।

उनले भनेकी छन्, ‘हामीले बुलीकै कारण धेरै मानिसहरुलाई गुमाएका छौँ । विभेदका कारण गुमाएका छौँ । रंगभेदका कारण गुमाएका छौँ । बुलिइङ्गका धेरै पक्षहरु छन् ।’

उनले अघि भनेकी छन्, ‘हरेक अभिभावकको सबैभन्दा भयानक भय हो, सन्तान गुमाउने डर । मैले त्यो भय हरेक दिन भोग्नु परेको छ ।’

याराकाले आफ्नो छोरा क्वाइडनमाथि भएको बुलीका बारेमा भनिन्, ‘त्यो भन्दा पनि भयानक, असामान्य र शारीरिक रुपमा फरक वा अपांगता भएको अवस्थामा समस्या थप जटिल बन्छ र मानिसहरुले त्यो बुझेका छैनन् । रंगभेद छ र यहाँ अपांगता भएकै कारण विभेद छ ।’

 

सम्बन्धित समाचारहरु

वडा समाचारहरु