आइतबार, चैत १६, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

१ महिनासम्म लाग्ने सालीनदी मेलाको तयारी पुरा,यस बर्ष ४० लाख दर्शनार्थीलाई दर्शन गराउने लक्ष

"स्वस्थानी व्रतको महिमा र विधि''

१ महिनासम्म लाग्ने सालीनदी मेलाको तयारी पुरा,यस बर्ष ४० लाख दर्शनार्थीलाई दर्शन गराउने लक्ष
  •  बिष्णु आचार्य

काठमाडौं – १ महिना सम्म लाग्ने साँखुस्थीत शालीनदी मेलाको तयारी पूरा भएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने मेलाको तयारी पूरा भएको शालीनदी व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर श्रेष्ठले जानकारी दिए । बिशेष रुपमा स्वस्थानी व्रत कथामा शालीनदी बिशेष रुपले सम्बोधित छ । स्वस्थानी कथामा चन्द्रावती खसेको स्थान, साँखुलाई लावण्ड देशले चित्रित गरिएको साथै गोमा ब्राहमणी लगाएत जोडिएर आउने भएकाले पनि शालीनदीलाई विशेष महत्वका साथ हेरिने प्रचलन छ ।

नेपाली महिलाले गर्ने कठिन व्रतको रुपमा स्वस्तानीलाई लिईन्छ । यस व्रतमा भगवान् शिवको पूजाआराधना गरिन्छ । एकमहिना सम्म नुन नखाई कठोर वर्त गरे आफुले सोचेको मागको पुराहुने जनविश्वास रहँदै आएको छ ।

सत्य युगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको विश्वासमा स्वस्थानी व्रतकथाको विश्वास गरिन्छ।

हरेक बर्ष लाग्ने उक्त मेलमा मन्दिर व्यवस्थापन देखी व्रतालुको लागी स्नान गर्न आवश्यक कुण्डहरु निमार्ण,मन्दिरपरिषर,नदी आसपास सरसफाई,रङरोगन लगाएतका काम सकिसकेको
अध्यक्ष श्रेष्ठले बताए । उनले भने ‘अघिल्ला बर्षहरुमा अस्थाई रुपमा रहेका कुण्डहरुलाई यसपालीबाट स्थायी रुपमा बनाएका छौं । सरसफाई देखी रंगरोगन गसिकेका छौं । मेलालाई व्यवस्थापनको लागी विभिन्न पाटोका ८–१० समिति उपसमिति बनाएर दर्शालु तथा व्रतालुहरुलाई सम्भ ढङ्गबाट दर्शन गराउने तयारीमा छौं । यसको लागी विभिन्न महिला समुह,संघ सस्था, सङ्खरापुर नगरपालिका, प्रहरी प्रभाग लगाएतसँग समन्वय गरि मेला व्यवस्थापन गरीने छ ।’

अध्यक्ष श्रेष्ठका अनुसार अघिल्लो बर्ष करिव २५ लाख दर्शनार्थीले दर्शन गरेका थिए । यसपाली भने ४० लाखको हाराहारीमा पु¥याउने विश्वास समितिले लिएको छ । यस बर्ष पर्यटन बर्ष भएकोले पनि तेतीको सङ्ख्यामा दर्शनाथी आउने अनुमान गरिएको छ ।

समितिका महासचिव एलपी श्रेष्ठले बिशेष गरी स्वस्थानी व्रत कथामा बिशेष ठाँउका रुपमा शालीनदी भएकोले पनि यस ठाँउको महिमा ठुलो रहेको बताउँछन । उनले स्वस्थानी व्रत कथामा भनिएजस्तै पार्वतीले महादेव पति पाउन स्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको विश्वासमा धेरै व्रतालु शालीनदीमा वर्त बूनको लागी आउने गरेको बताए । उनले बिशेषगरी महिलाहरुले आफुले चाहेको श्रीमान पाउने,रोग व्यादी हटेर जानेका साथै व्रत गर्नाले निसन्तानले यहाँ व्रत बस्दा सन्तान भएको विश्वासमा धेरै महिला व्रत बस्ने गरेको बताए । त्यसैका कारण पनि धेरैले आफ्ना सन्तानको नाम माधव नारायण राख्ने गरेको उनी बताउँछन ।

महासचिव श्रेष्ठमा अनुसार पुस २५ बाट सुरु हुने मेलामा व्रत बस्ने व्रतालु २४ गते शालीनदी पुग्छन । सोही दिन अन्तिम भोज खुवाइन्छ । २५ गते विहानबाट ‘चिबे’ अर्थात नुन खानु नहुने भएकाले २४ गते अन्तिम भोज खुवाएर व्रत बसाल्ने गरीन्छ । राजोपाध्येबाट माधव नारायणको जल लिएर व्रत आरम्भर हुन्छ ।

सप्तमीका दिन सप्तमी पर्व विशेष रुपले मनाइन्छ । शानिनदी सहित व्रतालु झकिझकाउ भएर बस्छन भने पुरुषहरु गुल्टीदै,पल्टीदै साखु घुम्छन् । त्यस्तै एकादशीको दिन शालीनदी देखी वज्रयोगिन सम्म ‘दुन्दने’ अर्थात नाच्दै, लड्दै कुनै ढङ्गाको चिनो राख्दै त्यहाँ पुग्छन । यसै अवधीमा महिला, पुरुष व्रतालुहरु खाली खुट्टा हिडेर पशुपती फर्पीङ,पनौती, चाङ्गुनाराण(यसलाई प्रदेश जाने भनिन्छ ) जाने गर्छन । यसको व्यवस्थापन समिति लगाएत विभिन्न संस्थाहरुले गरिरहेका हुन्छन् ।

महासचिव श्रेष्ठले व्रतालु र दर्शनार्थीलाई स्नानका लागी कुण्डहरु स्थायी रुपमा निमार्णसँगै मन्दिर वरपर रहेका क्षेत्रहरुमा रंगगोगन गरिएको बताए । उनले भने ‘यस मन्दिर व्यवस्थापन देखी मेलाको लागी सङ्खरापुर नगरपालिका र वडा ७ ले यस आर्थिक वर्षको लागी ६० लाख वजेट दिएको छ । त्यस्तै माधवनारायण पार्क निमार्णको लागी माधव नेपालले संसद कोषबाट २५ लाख छुट्टाइएको छ । तेती मात्र होईन यस क्षेत्रका भौतिक संरचना निमार्ण देखी मेला व्यवस्थापन लगाएतका कुराहरुलाई मध्यनजर गर्दै मेलाको सुरु दिनबाटै माइकिङ मार्फत चन्दा संकलन गरेर आर्थिक व्यवस्थापन गरीरहेका छौं । त्यसरी करिब ६०÷६५ लाख जम्मा हुन्छ । यसपाली १ करोड उठाउने लक्ष छ । जसले पार्क निमार्णमा सहयोग गरोस् ।’


उनले शालीनदीमा एक महिना मात्र आउने नभई हरेक समय आउने, घुम्ने वातावरण बनाउनै लागी पार्क निमार्णको तयारी थालिएको बताए । उनले पार्क निमार्णको लागी केही स्तम्भहरु समेत निर्माण भइसकेको बताए ।

स्वास्थानी व्रत बस्नाले व्रतकथामा वर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ।

व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागतरूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ।

यस्तो छ स्वास्थानीको धार्मिक विश्वास र व्रत नियम

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको मान्निछ।

पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन्। विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन्।

यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भनेअनुसार गर्न सल्लाह दिए। विष्णुुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको धर्मग्रन्थमा उल्लेख छ।

व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागतरूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ।

पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटेर स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत गर्ने गरिन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ।बेलुकी स्कन्द पुराणको केदारखण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने सुनाउने परम्परा छ।

पूर्णिमाको अघिल्लो दिनअर्थात् चतुर्दशीको दिनदेखि नै दुवै हातखुट्टाका नङ्हरू काटी, पवित्र भएर हविष्य (दूध दही, जौ, गौ चामल, तिल घ्यू, सख्खर इत्यादि सात्विक पदार्थ) भोजन ग्रहण गरी श्रीस्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँ को सरसफाइ लिपपोत इत्यादि गर्नुपर्दछ।

व्रत गर्नेले त्यसै दिनदेखि व्रत नसकिँदासम्म पलङ र खाटको पनि त्याग गरी भूमिमा शयन गर्नुपर्दछ।एकछाक मात्र सात्विक भोजन ग्रहण गर्नुपर्दछ। व्रत नसकिँदासम्म व्रतालु पुरुष भए रौं काट्न पनि हुँदैन।

त्यसै दिनदेखि एक महिनासम्म कसैसँग झगडा नगर्नु, दुर्वचन नबोल्नु, झुटो नबोल्नु, क्रोध नगर्नु, कसैप्रति दुर्भाव नराख्नु, चोरी नगर्नु, ब्रह्माचर्यको पालन गर्नु, शुद्ध धोएका वस्त्र मात्रै लगाउनु, शौच गएपछि जलको प्रयोगले सफाइ गर्नु, सात्विक भाव मात्र हृदयमा राख्नु, व्रतका अनिवार्य नियमहरू हुन्।

पूर्णिमाका दिन बिहानै उठी नदीमा स्नान गरी शुद्ध वस्त्र पहिरिएर पाएसम्म कुशको आसन नपाएमा ऊनको त्यो पनि नपाए कम्मलको आसनमा बसेर नित्यकर्म गरिसकेपछि पूजा गर्ने स्थानमा तामाको लोटामा पञ्चगव्य (गोबर, गोमुत्र, दूध, दही र घ्यू) का साथै तिल, सर्सी र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरेर अभिषेक बनाई अपवित्रः पवित्रो वा भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनुपर्दछ।

त्यसपछि त्यसै अभिषेक बाट ‘मैले आजसम्म मन, वचन र कर्मले जानेर वा नजानेर गरेका सम्पूर्ण पाप नास भई मलाई यस लोकमा सुख–सम्पत्ति र अर्को लोकमा शिवलोक प्राप्ति होस् भन्ने कामनासहित एक महिनासम्म श्रीस्वस्थानी माताको नियमअनुसार व्रत बस्नेछु’ भनी संकल्प गरी व्रतको शुरुआत गर्नुपर्दछ।

त्यसपछि आफूले विगतमा खाएका हुन सक्ने अभक्ष पदार्थको प्रायश्चितस्वरूप गोदान, (गाई) असम्भव भए गोबरमा यथासक्य भेटी वा सुवर्ण राखी गोदान गर्नुपर्दछ।

गोदान कृत्यपछि मात्रै दीप, गणेश र कलशको पूजा आरम्भ गर्नुपर्दछ। दीप, गणेश र कलशको पूजा सम्पन्न भइसकेपछि एउटा तामाको थालीमा रक्तचन्दनले अष्टदल कमल बनाई कमलको बीचमा स्वस्थानी माताको सुनको प्रतिमा स्थापना गर्नुपर्दछ।

सुन नभए यथासक्य भेटी राखी स्वस्थानी माताको स्थापना गर्नुपर्दछ। स्वस्थानी माता आफ्ना चार हातमा क्रमैसँग त्रिशूल, तरवार, चक्र र कमल धारण गरेकी हुन्छन्।

साँखुस्थित शालीनदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतीदेवीका अंग पतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुको घुइँचो लाग्ने गर्दछ। ती स्थानहरूमा व्रतको अवधिभर मेला पनि लाग्ने गर्दछ।

नेपालमा धेरै श्रद्धा र विश्वासका साथ विशेषतः महिलाले गर्ने व्रतमध्येको एक श्रीस्वस्थानी माताको व्रत हो। यो व्रतको भारतलगायत अन्य हिन्दू बहुल राष्ट्रमा त्यति धैरै लोकप्रिय नभए पनि नेपालमा भने धेरै लोकप्रिय छ।

स्वस्थानी व्रतकथा यस वर्ष पुस २५ गतेबाट शुरू हुँदैछ।

 

सम्बन्धित समाचारहरु

वडा समाचारहरु