बिहिबार, चैत २०, २०७६
GokarnaNews
maya education initaitives

पिडित राजन थापाको उपचारार्थ मालारानी गाउँपालिकाद्धारा आर्थिक सहयोग

पिडित राजन थापाको उपचारार्थ मालारानी गाउँपालिकाद्धारा आर्थिक सहयोग

अर्घाखाँची – दुवै हात खुट्टा आगोले जलेर पिडित भएका १४ बर्षिय राजन थापालाई मालारानी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।
आर्थीक अवस्था कमजोर भएका थापालाई मालारानी ५ वडा कार्यालयको पहलमा गाउँपालिकाले २५ हजार आर्थिक सहयोग गरेको हो ।
वडा ५ का अध्यक्ष शोभाखर भुसालको पहलकदमीमा गाउँपालिकाको कार्यालयमा बसेर बैठकले पिडित थापालाई २५ हजार सहयोग गर्ने निर्णय गरेसँगै रकम समेत निकासा गरी पिडितको परिवार समक्ष हस्तान्तरण भएको छ ।

अध्यक्ष भुसालका अनुसार राजन थापाको आर्थिक अवस्था अत्यान्तै दयनिय भएकोले गाउँपालिकालाई आर्थिक सहयोगको लागी पहलकदमी गरेको बताए । उनले भने ‘पिडित थापाका बुबा राकेश थापाको समेत अघिल्लो बर्ष खुट्टाको क्यान्सर भएर एउटा खुट्टा काटिएको छ । घरमा दिनैकीकारोवारमा समेत समस्या छ । त्यस्ता पिडितको समस्यामा मलम लगाउने उदेश्यले पालिकामा पहल गरेको हुँ । सोही अनुरुप पालिकाले रकम निकासा गरेको छ । हामी जनप्रतिनिधिले जनताका समस्यामा मलम लगाउनकै लागी यो पदमा बसेका हौं । जनताका समस्यालाई आफ्नो पहलकदमी र आफ्नो क्षमताले भ्याय सम्म सहयोग गछौं । ’

अध्यक्ष भुसालले पिडित थापाको उपचारकोलागी आर्थिक सहयोग गरीदिन समेत सबैमा आग्रह गरेका छन् । वडा भित्रका जनताका पिडा समस्या र गुनासालाई सम्बोधन गर्दै वडा ५ मा जनताको प्रिय वडाध्यक्षका रुपमा परिचित भएका छन् अध्यक्ष भुसाल ।

विगत एक महिनादेखी काठमाडौंको किर्तीपुर अस्पतालमा उपचार उनको भईरहेको छ । दुवै खुट्टको सफल अप्रेशन भएपनि एउटा हात अत्यान्तै जलेकोले उपचारमा अझै केही समय लाग्ने चिकित्सकहरुले बताएका छन । चिकित्सकका अनुसार एउटा हातको अझै अप्रेशन गर्नु पर्ने बताइएको छ । सो हात अधिक जलेको कारण एउटा औला समेत काटिएको छ भने पुनः अर्को अपरेसन गरेर सोही हातका अन्य औलाहरु क्रमस पmुकाउनु पर्ने बताईएको छ । (अप्रेशनको सिलसिलामा सबै औलालाईं एकै ठाँउ राखेर सोही हातलाई कम्मरनेर एट्याज गरिएको छ)

त्यस्तै राजन थापाको उपचारार्थ नवदिप युवा क्लवले समेत अभियाननै चलाएर सहयोग रकम उठाइरहेको क्लबका सचिव बिष्णु आचार्यले जानकारी दिए । उनले भने ‘आर्थिक रुपमा विपन्न परिवार त्यसैमाथि उनका बुबाको अवस्था त्यस्तो। त्यो देखेरै क्लवले सामाजिक उत्तरदाहित्व आत्मसात गर्दै देउसीमा उठेको पैसा क्लबको तर्फबाट रु १० हजार सहयोग हस्तान्तरण गर्दै अभियान संचालन गरेका हौं । सहयोगी मनहरुले अहिले सहयोग गरिरहनु भएको छ । सबै प्रति आभार प्रकट गर्न चाहान्छु ।’

सचिव आचार्यले देश विदेशबाट सहयोग रकम आइरहेको भन्दै उपचारको लागी सो रकमले पिडित परिवारलाई ठुलो राहत मिलेको बताए ।

१४ वर्षिय राजन थापालाई उपचार गर्न समेत आर्थिक अभाव ले सताइरहेको छ ।अघिल्लो बर्ष बाबा(राकेश थापा)को खुट्टाको क्यान्सरका कारण एउटा खुट्टा गुमाउनु परेको थियो । ,

पिडितकी आमाले गहभरी आसु झार्दै भनिन् ‘अघिल्लो बर्ष श्रीमानको क्यान्सरका कारण खुट्टा काट्नु प¥यो । घरमा कमाएर खुवाउने, परिवारको पेट पाल्ने कोहि छैन ।भोलि कमाएर खुवाउला भन्ने छोरा अस्पतालमा छटपटाई रहेको छ ।पीडा माथि पीडा थपिएको छ । भगवानले पनि हामी गरिब माथिनै खेलवाड गरिरहेको छ । जसलाई एउटा पिडाको घाउ मेटिन पाएको छैन उसै माथि यस्तो बज्रपात परिरहेको छ ।’

उनले छोराको उपचारको लागी विभिन्न क्लव,संस्था र व्यक्तिहरुले सहयोग गर्दै आएको उल्लेख गर्दै सबै सम्पूर्ण सहयोगी हातहरु प्रति धन्यवाद व्यक्त गरिन । उनले भनिन् सम्पूर्ण व्यक्तिहरुले हाम्रो दुःखमा मलम लगाउन जसरी सहयोग गर्नु भएको छ, त्यसमा सहयोगी हातहरुको गुन कहिले बिर्सने छैनौं ।
सबैको सहयोगले बाबुको उपचार हुने देखिएकोले खुसीका दिन आउलानकी भन्ने आशामा बसिरहेका छौं ।

पिडित थापाको स्वास्थ्य अवस्था बुझ्न केही दिन अघि पूर्व उपप्रधानमन्त्री एव्म अर्घाखाँची जिल्लाका प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझी र राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्वल अस्पताल पुगेका थिए ।

सांसदहरुले थापाको स्वास्थ्य अवस्था बुझ्दै उपचारको लागी कुनै कसर बाँकी नराखी उपचारमा सहयोग गर्न डाक्टरहरुलाई आग्रह गरेका थिए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु