आइतबार, मङि्सर २९, २०७६
GokarnaNews
OnlineKhabarHub

जनकपुर विमानस्थल काउन्टरमा तोडफोड गर्ने सांसद साहलाई पक्रन पत्र काटियो

जनकपुर विमानस्थल काउन्टरमा तोडफोड गर्ने सांसद साहलाई पक्रन पत्र काटियो

जनकपुर – जहाज डिले भएको झोकमा जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने प्रतिनीधिसभाका सांसद प्रमोद साहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले पत्र काटेको छ ।

काठमाडौंमा रहेका सांसद साहलाई पक्राउ गरेर बुझाउन जिल्ला प्रहरी कार्यालय धनुषाले महानगरीय प्रहरी कार्यालयलाई मंगलबार पत्र लेखेको छ । धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार सांसद साहलाई पक्राउ गर्न पत्र काठमाडौं पठाउने प्रकृया थालिएको छ ।

‘गैर सैनिक हवाइ उडान २०१५ अन्तर्गत सांसद साहमाथि उजुरी परेको छ,’ एसपी खनालले भने, ‘उजुरी दर्ता गरेर उनलाई पक्राउ गर्न पत्र काटिएको हो ।’

बुद्ध एयरको जहाज निर्धारित समयभन्दा ३ घण्टा ढिला भएको झोकमा सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । सांसद साहले जहाजको अवस्थाबारे बुझ्न खोज्दा एयरलायन्सका कर्मचारीहरुले राम्रो रेस्पोन्स नगरेको भन्दै काउन्टरमा लात्तीले हिर्काएको स्वीकार गरेका छन् ।

नागरिक उड्डयन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको र हवाई उडानमा बाधा उत्पन्न गरेको भन्दै सांसद साह विरुद्ध सोमबार साँझ नै जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी दिएका थिए । एसपी खनालले सांसद साहलाई पक्राउ गरेर धनुषा प्रहरीको जिम्मा लगाएपछि कार्वाहीको प्रकृया अगाडि बढाइने बताए ।

यता, सांसद साहले आफ्नो फेसवुक वालमा एयरपोर्ट प्रकरणबारे थप प्रष्टिकरण दिएका छन् । जनकपुर विमानस्थलमा लामो समयदेखि यात्रुहरु एयरलायन्सको बेथिति भोगिरहेको र आफू काबू भएर सोमबार लात्ती हिर्काएको स्टाट्समा लेखेका छन् । ‘एउटा जिम्मेवारी व्यक्तिको हैसियतले एयरलायन्सको गल्ती र मनोमानी क्रियाकलापको विरोध गरेको हुँ,’ सांसद साहले लेखेका छन्, ‘जनताले दिएको मतको अपमान भइरहेकोले चुप लागेर बस्न सकिन्न । यो गल्ती हो भने कारवाही भोग्न तयार छु ।’

उनले एयरपोर्ट र एयरलायन्सको बद्मासीका बारेमा धनुषाका सिडिओ प्रदिप कँणेल र विमानस्थलका प्रमुख ढकाललाई समेत फोनमा जानकारी गराएको दाबी गरेका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका निर्वाचित सांसद साहले विमानस्थलको रनवेमा छाडा चौपाया, विशिष्ट कक्षमा फालिएको फोहर र मुटुका बिरामीलाई तत्कालै काठमाण्डौं पुर्‍याउने विषयमा विमानस्थलका कर्मचारी र एयरलायन्सले वेवास्ता गरेपछि रिसले काउन्टरमा लात्तिले हिर्काएको बताए । मुटुका बिरामी जनकपुरका शौखिलाल चौधरीको समस्याबारे बुद्धएयरलाई जानकारी गराउदा कर्मचारीले वास्ता नगरेको सांसद साहले आरोप लगाए ।

प्रतिनीधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा रोजगार समितिका सदस्य समेत रहेका सांसद साहलाई त्यो समितिको बैठकमा सहभागि हुन १ बजे नै काठमाडौं पुग्नुपर्ने थियो । तर, जहाज ढिलो हुँदा उनको त्यो बैठकमा सहभागि हुने सम्भावना टर्‍यो । ‘मंगलबार बिहानै अनुगमनमा चार जिल्ला निस्कनु छ । समितिको बैठकमा त्यही विषयमा छलफल थियो,’ सांसद साहले भने, ‘जहाज डिले भएर बैठकमा सहभागी हुन पाइन । एयरलायन्सका कर्मचारीले पनि झर्कोफर्को गरेपछि रिसमा लात्ती हिर्काएको हुँ ।’

सम्बन्धित समाचारहरु

वडा समाचारहरु