आइतबार, मङि्सर २९, २०७६
GokarnaNews
OnlineKhabarHub

एनआरएनको नवौं विश्व सम्मेलन काठमाडौंमा शुरु, राष्ट्रपति भण्डारीबाट उद्घाटन

एनआरएनको नवौं विश्व सम्मेलन काठमाडौंमा शुरु, राष्ट्रपति भण्डारीबाट उद्घाटन

काठमाडौं – नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन काठमाडौंमा आजदेखि शुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशको विकास र समृद्धिमा योगदान गरेकामा एनआरएनको प्रशंसा गरिन् ।
‘विश्वभर छरिएका नेपालीले स्वःस्फूर्त रूपमा गरेको सहयोग देशका लागि महत्वपूर्ण छ । पूर्वाधार विकास तथा लोककल्याणमा गरेको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको छ ।’ राष्ट्रपति भण्डारीले भनिन् ।

उनले भनिन्, ‘गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने व्यवस्था संविधानमा छ । सो व्यवस्था चाँडोभन्दा चाँडो कार्यान्वयन गरिने छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उच्च आर्थिक वृद्धिको दिशामा मुलुक अघि बढेकाले त्यसलाई सघाउन गैरआवासीय नेपालीलाई आग्रह गरे । सरकारको भौतिक उपस्थितिभन्दा गैरआवासीय संघको उपस्थित बढी देशमा रहेको भन्दै उनले राज्यको दायित्वमा साथ दिने गरेकामा आभार पनि व्यक्त गरे ।

संघका पूर्वअध्यक्ष शेष घलेले संघले भिजन २०२० मा गरेको बाचा पूरा गर्न संघ नेतृत्वको ध्यानाकर्षण गराए । घलेले विदेशी नागरिकताधारी गैरआवासीय नेपालीले आफु नेपाली नै रहेको भन्दै विश्वमा चिनाउन चाहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले राज्य गैरआवासीय नेपालीप्रति गर्व गर्नुपर्ने भन्दै १६ वर्षमा संघ निकै बलियो बनेको बताइन् ।

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने सन्देशका साथ आयोजित सम्मेलनले आउँदो कार्यकालका लागि नयाँ नेतृत्व पनि चुन्नेछ ।

अध्यक्षका लागि कुमार पन्त र कुल आचार्य प्रतिष्पर्धामा छन् । पदाधिकारीसहितका अरु पदमा पनि दर्जनौं उम्मेदवार प्रतिष्पर्धामा छन् । सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधि सहभागि हुनेछन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु