सेल्फी खिच्दा नवविवाहित दुलहीसहित चार जना पानीमा डुबे

सेल्फी खिच्दा नवविवाहित दुलहीसहित चार जना पानीमा डुबे

अचेल सेल्फी खिच्ने ‘क्रेज’ छ। घुमफिरमा निस्केकाहरूलाई एकअर्काको फोटो खिचेर मात्र पुग्दैन, सेल्फी नखिची हुन्न। तर, कहिलेकाहीँ सेल्फी खिच्ने रहरले ठूलो दुर्घटना निम्त्याउन सक्छ।

जोखिमपूर्ण ठाउँमा उभिएर सेल्फी खिच्दा दुर्घटना भएर ज्यान गुमाउने क्रम बढेको छ। दक्षिण भारतको तमिलनाडु राज्यमा आइतबार यस्तै घटना भयो। यहाँको एउटा सरोवरमा सेल्फी खिच्दा एक नवविवाहित महिला र परिवारका तीन सदस्यको डुबेर ज्यान गएको द हिन्दु पत्रिकाले लेखेको छ।

उक्त पत्रिकाका अनुसार छ जनाको समूह एकअर्काको हात समातेर पानी जम्मा भएको ठाउँमा सेल्फी खिच्दै थिए। यस क्रममा सेल्फी खिच्ने व्यक्ति पानीमा चिप्लिए। सबैले हात समातेका हुँदा एक जना चिप्लिनेबित्तिकै अरू पनि सँगसँगै तानिए। नवविवाहित महिलाका पति र उनकी बहिनीबाहेक बाँकी चार जना सरोवरमा डुबे।

द हिन्दु पत्रिकाका अनुसार कृष्णागिरीको बार्गुरका नवविवाहित जोडी आफन्त भेट्न जाँदा यो दुर्घटना भएको हो।

भारतमा यस्ता सेल्फी दुर्घटना धेरै बढेका छन्। सन् २०११ र सन् २०१७ मा संसारभरि २५९ जनाको सेल्फी खिच्दा मृत्यु भएको उक्त पत्रिकाले लेखेको छ। तीमध्ये आधा मृत्यु भारतमा भएको थियो। भारतपछि रुस, अमेरिका र पाकिस्तान धेरै सेल्फी दुर्घटना हुने देशमा पर्छन्।

भारतको हरियाणा राज्यमा रेल्वे मार्गमा सेल्फी खिच्दा तीन किशोरलाई विपरीत दिशाबाट आएको रेलले ठक्कर दिएको थियो। उता, उडिसामा एक पुरूषले हात्तीसँग सेल्फी खिच्दा ज्यान गुमाएका थिए। उनलाई हात्तीले सुँढले कसेर ज्यान लिएको थियो।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: