दशैँमा मासु खादै हुनुहुन्छ ?यस्ता कुरा ख्याल राख्नुस है!

दशैँमा मासु खादै हुनुहुन्छ ?यस्ता कुरा ख्याल राख्नुस है!

काठमाडौं – मासुका विभिन्न परिकारको स्वादमा रमाउँदै आफन्त र साथीभाई माझ दसैं मनाउँदै हुनुहुन्छ भने केही कुरामा तपाईले पक्कै पनि ध्यान दिनुपर्छ ।

मासुलाई सन्तुलित भोजनमा संलग्न गराएर फाइदा त लिन सकिन्छ तर अत्याधिक खाँदा स्वास्थ्यमा जटिलता पनि निम्तन सक्छ ।आममानिसले अघिपछिभन्दा दशैंमा निकै मासु खाने गर्दछन् ।

मासुका अनेकथरी परिकार दसैंको विशेषता नै हो । अन्य परिकारको तुलनामा मासु नै अधिक खाइने सर्वसाधारणको अनुभव छ ।

पहिलेको दशैं र अहिलेको दसैंमा धेरै परिवर्तन आएको छ । साधारणतया दशैं भन्नाले दक्षिणा, आशीर्वाद, मिष्ठान्न भोजन, मनोरञ्जनको पर्व भन्ने बुझिन्छ ।

यसले सबै जाति र उमेर समूहलाई विशेष महत्व राख्छ । यसले जीवनशैलीमा अपत्यारिलो परिवर्तन ल्याइदिन्छ । वर्ष दिनमा एक पटक आउने यो चाडमा मानिसले दुःख, पीर एवं व्यथासँगै दैनिक सन्तुलित खाना खान नै बिर्सन्छन् ।

अहिले पनि दशैंमा जतिसक्दो खानुपर्छ भन्ने मान्यता रहिआएको छ । वर्ष दिनभरिलाई सन्तुलित रूपमा पुर्याएर खानेकुरा एउटै पर्वमा खाइसक्नुपर्छ भन्ने मान्यता समाजमा अझै व्याप्त छ ।

यसले स्वास्थ्य, संस्कार एवं संस्कृतिलाई नै गलत दिशातर्फ धकेलेको छ । दशैंको समयमा शाकाहारी खाने घरबाहेक प्रायको घरमा राँगो, खसी तथा सुँगुरको मासु हुन्छ । जात तथा समुदायको इच्छाअनुसार मासु ल्याइए पनि यी तीन वटै रातो मासुका स्रोत हुन् ।

स्वास्थ्यका हिसाबले सकेसम्म रातो मासु कम मात्रामा खानुपर्छ । मांसाहारी थालीमा सबै किसिमका मासुका परिकार कहिले कुखुराको मासु, कहिले माछा सन्तुलित मात्रामा खानुपर्छ । माछा–मासुको साथमा हरिया सागपात खानु अझ राम्रो हुन्छ ।

चाडपर्वको बहानामा सन्तुलित आहारलाई ध्यान नदिई, मसालेदार, चिल्लो रातो मासु, फ्राई गरेको पापड, चिप्स, प्राउन, रोस्ट, सेकुवा खाँदा शरीर अस्वस्थ हुन सक्छ ।

मासु कति खाने भन्ने उमेरअनुसार फरक पर्छ । ४–५ टुक्रा मासुले ८० कि। क्यालोरी प्रदान गर्छ । चाडपर्व होस् वा अन्य समय आफ्नो खानामा दिनहुँ सन्तुलित आहारको आवश्यकता पर्छ । १ सय ग्राम कुखुराको मासुमा ३१ ग्राम प्रोटिन र खसीको मासुमा २१ ग्राम प्रोटिन हुन्छ । दैनिक प्रोटिनको आवश्यकता पनि उमेरअनुसार फरक पर्छ ।

१४ देखि १८ वर्षकालाई ६५ ग्राम, १९ देखि ७० वर्षका पुरुषलाई ६४ ग्राम प्रोटिनको आवश्यकता पर्छ । यसैगरी १४ देखि १८ वर्षका महिलालाई ४५ ग्राम, १९ देखि ७० वर्षका महिलालाई ४६ ग्राम प्रोटिनको आवश्यकता पर्छ ।

गर्भवती ६० ग्राम र सुत्केरी महिलालाई ६७ ग्राम प्रोटिन चाहिन्छ । अन्यलाई भन्दा गर्भवती तथा सुत्केरी महिलालई धेरै प्रोटिनको आवश्यकता पर्छ । दैनिक खानामा कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन मिनेरल सन्तुलित मात्रामा हुनुपर्छ । हरेक बार खान चार भन्ने मूल मन्त्र ध्यानमा राख्नुपर्छ ।
१. अन्न तथा कन्दमूल
२. गेडागुडी
३. पहेंला फलफूल तथा हरियो सागपात
४. पशुपंक्षीजन्य पदार्थलाई दैनिक सन्तुलित रूपमा खानुपर्छ । मासु त प्रोटिनको स्रोत मात्र हो । शरीरमा प्रोटिन धेरै भए कब्जियत, टाउको दुख्ने, मृगौला फेल हुन सक्ने, सास गन्हाउने, मुटु रोग लाग्ने खतरा बढ्ने र हड्डी कमजोर हुनसक्छ ।

मासुलाई उमाल्ने, बाफ विधिको प्रयोग गर्नुपर्छ । भित्री अंगमा भएको मासु र बाहिर छालामा टाँसिएको मासु स्वास्थ्यका लागि प्रतिकूल हुन्छ । यसमा कीटाणु हुने सम्भावना धेरै हुन्छ । त्यसैले यस्तो मासु नखानु वेश हुन्छ ।

खानै परे पनि उसिनेर राम्रोसँग पखालेर मात्र खानुपर्छ । बजारमा भएका मसला, अजिनो मोटो, मिट मसलाभन्दा घरमै बनाइएको मसला प्रयोग गर्नु उपयुक्त हुन्छ । ल्वाङ, मेथी, सुकमेल, बेसार, जिरा, सुप, कडी पत्ता, धनियाँ र मेथीको मिश्रणयुक्त मसला प्रयोग गर्नुपर्छ ।

बालबालिका, गर्भावस्था, वृद्धावस्थादेखि परिवारका सबै सदस्यलाई पोषणयुक्त भोजन गराएर चाडपर्वको रमाइलो महसुस गर्नुपर्छ । रेसादार सागपात, फलफूलका साथमा पर्याप्त मात्रामा पानी पिउनुपर्छ । जतिसुकै मीठो भोजन भए पनि ठिक्क मात्रामा खानुपर्छ ।

मासु भिटामिन बी १२ को मुख्य स्रोतमध्येको एक हो साथै रातो मासुमा प्रचुरमात्रामा प्रोटिन र आइरन पनि पाइन्छ । यी तत्वहरु हाम्रो शरीरको वृद्धि विकासका लागी अत्यावश्यक हुन्छ ।तर मासुमा पाइने चिल्लोले भने रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ जसले गर्दा मुटुरोगको समस्या निम्त्याउन सक्छ ।

धेरै मात्रामा रातो मासु र प्रशोधित मासुको सेवनले आन्द्राको क्यान्सरसम्म हुनसक्ने अनुसन्धानले देखाएको छ । प्रशोधित मासुमध्ये धेरै प्रयोग हुनेमा सुकुटी र ससेज पर्दछन् ।मासुका परिकारहरु पकाउने तरिकाले पनि विभिन्न रोग निम्त्याउन सक्ने चिकित्सकहरुको भनाइ छ ।

छाला निकालिएको मासुलाई थोरै तेलको प्रयोग गरी पकाएर खानु स्वास्थ्यका लागी उपयुक्त हुन्छ ।

प्राय घरभित्रै मिठो खानपानका साथ मनाइने यो चाडमा शरीरलाई आवश्यक व्यायाम पनि कम हुँदास्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ । त्यसैले चाडवाड मनाइरहँदा आफ्नो स्वास्थयमा पनि ख्याल गर्न नबिर्सौ है।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: