शाकाहारीलाई मस्तिष्कघातको जोखिम ज्यादा !

शाकाहारीलाई मस्तिष्कघातको जोखिम ज्यादा !

काठमाडौं– माछामासुरहित आहार गर्दा मुटुको रोग लाग्ने सम्भावना कम हुने भए पनि मस्तिष्काघातको जोखिम बढ्ने एउटा ठूलो अध्ययनले देखाएको छ । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापकहरूले गरेको अध्ययनमा ४८ हजार व्यक्तिलाई १८ वर्षसम्म हेरिएको थियो ।

प्रत्येक हजार मानिसहमध्ये मुटुको रोग लाग्ने शाकाहारीको संख्या मांसाहारीको भन्दा १० कम थियो । तर मस्तिष्काघात हुनेमध्ये शाकाहारीको संख्या तीन जनाले बढी थियो । आहार विशेषज्ञहरूका अनुसार शाकाहार वा मांसाहार जे गरे पनि धेरै प्रकारका खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

अध्ययनको महत्व
उक्त शोधमा आहार र स्वास्थ्यबारे एउटा प्रमुख दीर्घकालीन ईपीआईसी अक्सफोर्ड अध्ययनको तथ्याङ्क प्रकाशित गरिएको छ ।

सन् १९९३ देखि २००१ सम्मको अध्ययनमा सहभागी भएका आधा मानिस मांसाहारी थिए भने १६ हजार शाकाहारी तथा ७५ सय जना माछा मात्रै खाने थिए ।

अध्ययनमा सहभागी हुने बेलामा उनीहरूलाई आफ्नो आहारबारे सोधिएको थियो । सन् २०१० मा फेरि त्यही कुरा सोधियो ।

उनीहरूको स्वास्थ्यस्थिति, धूमपान गर्ने बानी तथा शारीरिक व्यायाम गर्ने वा नगर्ने पक्षलाई पनि अध्ययनमा समावेश गरिएको थियो ।

तीमध्ये जम्मा दुई हजार आठ सय २० जनालाई हृदयरोग लागेको थियो भने एक हजार ७२ जनालाई मस्तिष्काघात भएको थियो ।

माछा मात्रै खाने मानिसमा हृदयरोगको जोखिम १३ प्रतिशत कम र शाकाहारीमा २२ प्रतिशत कम देखिएको छ ।

तर शाकाहारीहरूमा मस्तिष्काघातको सम्भावना २० प्रतिशत बढी देखिएको छ। शाकाहारीमा भिटामिन बी १२ को कमी हुने भएकाले त्यसो भएको हुन सक्ने तर थप अध्ययन चाहिने बताइएको छ ।

के शाकाहारी हुनु अनुचित हो ?
ब्रिटिश डाइअटेटिक एसोसिएशनका डा। फ्रान्की फिलिप्स भन्छन्, ‘होइन । किनभने यो अध्ययनमा मानिसहरूले वर्षौँसम्म के खान्छन् भनेर मात्रै हेरिएको छ ।’

उनका अनुसार यो अध्ययनले सम्बन्ध देखाउने भए पनि त्यही कारणले त्यसो भएको हो भन्ने देखाउँदैन ।

‘यसको सन्देश भनेको सबै खाले खानेकुराहरू मिसिएको आहार नै ठिक हुन्छ भन्ने हो ।’

के खाने त ?

ब्रिटेनको न्याश्नल हेल्थ सर्भिसेजका अनुसार जुनसुकै आहार खाए पनि तपाईँको खानेकुरामा निम्न कुरा हुनुपर्छ । प्रत्येक दिन कम्तीमा पाँचथरी फलफूल र तरकारी, आलु, पाउरोटी, चामल र पास्तामध्ये एक, प्रोटिन बिर्सनुहुँदैन (मासु, माछा, गेडागुडी वा दाल), दुग्धपदार्थ तर चिल्लो, नुन र चिनी कम खानुपर्छ ।

शाकाहारीहरूले पोषणका बारेमा विशेष ध्यान दिनुपर्छ किनभने माछामासु वा दुग्धपदार्थबाट प्राप्त हुने भिटामिन बी१२ शरीरका लागि आवश्यक हुन्छ । बीबीसी

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: