आइतबार, मङि्सर २९, २०७६
GokarnaNews
OnlineKhabarHub

धेरै पैसा तिरेर गुणस्तरीय शिक्षा पाइन्छ भन्ने गलत मानसिकता हटाऔं – भवानीप्रसाद पौडेल

धेरै पैसा तिरेर गुणस्तरीय शिक्षा पाइन्छ भन्ने गलत मानसिकता हटाऔं – भवानीप्रसाद पौडेल

काठमाडौं – मानव समाज र राष्ट्रका लागी शिक्षा महत्वपूर्ण मेरुदण्ड हो । शिक्षाले समाजका हरेक पक्षहरु जस्तै सामाजिक आर्थिक,राजनीतिक,नैतीक र व्यवहारिक पक्ष बोकेको हुन्छ । हरेक जाती,भाषा धर्मसँग पनि शिक्षाको अपरिहार्यता गाँसिएको हुन्छ । व्यक्तिका आचरण पनि शिक्षालेनै दिशा निर्देशन गरेको हुन्छ । समग्र राष्ट्रिय राजनीतिको आधार पनि शिक्षाले बोकेको हुन्छ । त्यसैले हरेक तह र तप्कामा शिक्षा अपरिहार्य छ । तथापी पछिल्लो समय शिक्षा क्षेत्रमा अनेकौ विकृती देखापरेका छन् । शिक्षा सेवा मुलक भन्दा पनि व्यापारिकण बढ्दो छ । विद्यालय,कलेज खोल्ने होडबाजी चलिरहेको छ , अस्वस्थ प्रतिस्पर्धा, महङ्गो शुल्क, लगाएतका कुराहरु समस्याका रुपमा देखा परेका छन् । यस्तै यावत कुराहरुका केन्द्रित रहेर २०४४ सालदेखि विभिन्न तह र तप्काका शैक्षिक संस्थाहरुमा आवद्ध हँुदै निरन्तर रुपमा शिक्षा क्षेत्रलाई योगदान दिदैं गोकर्णेश्वर नगरपालिका ८ माकलबारी स्थित रहेको जया मल्टीपल क्याम्पसका क्याम्पस प्रमुख, नेपाल ट्रग अफ वारका केन्द्रिय अध्यक्ष,४१ राष्ट्रका प्रतिनिधि आवद्ध एसियाली प्रथम उपाध्यक्ष, प्याब्सनका बरिष्ठ सल्लाहकार एव्म उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) काठमाडौं जिल्लाका सचिव समेत रहनु भएका भवानीप्रसाद पौडेलसँग गोकर्णेन्युजकर्मी बिष्णु आचार्यले कुराकानीको सम्पादित अशं

लामो समयदेखी शैक्षिक क्षेत्रमा काम गरिरहनु भएको छ,नेपालको शैक्षिक क्षेत्रको पछिल्लो अवस्था कस्तो पाउनु भएको छ ?
पछिल्लो अवस्था भन्नासाथ हामी नीतीगत रुपमा जानुपर्छ । जसरी शिक्षा नीती आउनु पथ्र्यो त्यसो हुन सकेकौ छैन । अभिभावक , विद्यार्थी , शिक्षक ,विद्यालय संचालक एव्म शिक्षा क्षेत्रमा लामो समय सम्म लागेका बौद्धिक वर्गहरुले अपेक्षा गरेअनुरुप शैक्षिक नीती आएको छैन । हामीले हिजो पञ्चायत, बहुदल हुँदै आजको दिनसम्म आईपुग्दा संधीयता अंगाली रहेका छौं । देशले राजनैतीक परिवर्तनमा ठुलो फड्को मारेको छ तर शिक्षा क्षेत्रमा भने हिजो अवस्था भन्दा थोरै परिमार्जित भयो तर जुन किसिमले परिवर्त, परिस्कृत हुनुपथ्र्यो त्यो भएको छैन । समय अनुकुलको विश्व बजारमा बिक्न सक्ने खालको शिक्षा एव्म एउटा तह पार गरिसकेपछि एक लेभल विधार्थी आत्मनिर्भर बन्न सकोस, आफुले रोजगार खोज्दै हिड्ने भन्दा पनि रोजगार दिन सक्ने खालको बनोस्, एउटा केही सिप को विकास होस् भन्ने हाम्रो अपेक्षा हो तर अहिले पछिल्लो समय सम्म आईपुग्दा सरकारी नीती अनुरुप त्यस्तो पाउन सकिएको छैन ।


शिक्षामा राजनीतिकरण,माफियाकरण भयो भन्ने सुनिन्छ किन यस्तो अवस्था देखा परेको ?
अब राजनीतीलाई कसरी हेर्ने भन्ने प्रमुख कुरा हो । राजनीति नै नीती निमार्ण देखी हरेक तप्कालाई सहि बाटो दिने प्रणाली हो । वा भनौं हरेक नीतीहरुको केन्द्र हो । त्यसलाई कसरी हेर्ने र त्यसले गर्नुपर्ने काम र दाहित्व के भन्ने कुराले नै यसलाई अगाडी बढाउने हो । राम्रो र समय अनुकुलको नीती निमार्ण गरेर देशलाई शैक्षिक विकासमा अगाडी बढाउन के–कस्तो नीती, निर्देशिका बनाउने भन्नेमा गलत किसिमले चलाउने वा सही तवरबाट चलाउने भन्ने कुरामा भर पर्छ । जनता र समग्र क्षेत्रको भावना अनुरुप देश हाक्नु पर्ने पछिल्लो समय त्यस्तो नभएर जनतामा केही निरासा पनि छाएका छन् । त्यसले पनि प्रभाव पारेको हुनसक्छ । आफुलाई फाईदा हुने खालका नियम, पद्धती र नीती,कामहरु ल्याउने काम बिडम्बना हो । राजनीतिमा अराजकता देखिएको छ, सरकारले त्यसलाई े नियन्त्रण गर्न सकेको छैन । जहाँ सम्म हामीले हिसानको सवालमा हिसानमा आवद्ध रहेका विद्यालय, कलेजहरुलाई नियन्त्रण र नियमन गर्न सक्छौ । तर अन्य विद्यालय कलेजमा हाम्रो अधिकार क्षेत्र पर्दैन त्यस्ता कलेज विद्यालय कारवाही गर्न नियमन नियन्त्रण गर्न सक्दैनौं तथापी सरकारको नीती नियम बनाउने कार्यमा सहयोग गर्ने देखी विभिन्न फोरममा शैक्षिक क्षेत्रमा भएका विकृतीका विरुद्ध आवाज उठाउने हो त्यो हिसानले गरिरहेको छ । जुन सुकै विश्व विद्यालयबाट संचालनमा रहेका विद्यालय , कलेज किन नहौन त्यसलाई नीती निर्देशन दिने , सहि ट्रयाकमा चलाउने खालको वातावरण लगाएतका कुराका हाम्रो आवाज पुगिरहेको छ । हिसानका सदस्य विद्यालयहरु हामीले भनिरहेका छौं । नीतीगत रुपमा स्पष्टता हुनुप¥यो, शैक्षिक कार्यक्रममा एकरुपता आओस्, शुल्कका सवालमा समेत न्यून शुल्कमा शिक्षा दिने प्रयत्न गरौं । गुणस्तर खोज्ने सवालमा नेपाली विद्यार्थी विदेशी विश्व विद्यालय र विदेश धाउने नभई नेपालमै हाम्रा विद्यालयले गुण्स्तरिय शिक्षा दिने खालको वातावरण सृजना गरौं भनिरहेका छौं । हिसानका सदस्य विद्यालयहरु त्यो बाटोमा हुनुहुन्छ ।

एउटै देशमा दुईथरी शिक्षा प्रणाली देखिन्छ ,धनीले पढ्ने र गरिबले पढ्ने वर्गिकरण जस्तो देखिएको छ यस्तो गर्न मिल्छ ?
द्धयत शिक्षा प्रणाली त भनेर भन्न मिल्दैन । सामुदायिक र प्राईभेट भनेर द्धयत भनियो होला तर त्यसो होइन । एउटै उदेश्यका साथ एउटै शिक्षा नीती अनुरुप, एउटै शैक्षिक कार्यक्रम अन्र्तगत, एउटै करिकुलम, पाठ्यक्रम अन्र्तगत दिने गरी नीजी क्षेत्रबाट संचालित विद्यालय र सामुदायीक विद्यालयहरु नामाकरणका हिसावले दुई भए तर यहाँ दुई खालको शिक्षा नीती होईन, प्रणाली होईन,मात्र संचालनका हिसावले मात्र भए । त्यो पनि प्राईभेटले सरकारले तोकेको नीती नियम निर्देशिका लाई आत्मसाथ गरेर अगाडी बढेका छन् त्यसलाई कसरी दुई खालको भन्न मिल्छ ? जहाँ सम्म रह्यो भाषाको कुरा भाषा त माध्यम मात्र न हो । त्यलाई परिस्कृत गर्ने कुन माध्यम बनाउने भन्ने कुरा विश्व बजारमा भिड्न सक्ने र विश्व बजारले मागेको भाषा प्रयोग गर्दा त्यसलाई दुई प्रणाली भन्न मिल्दैन । अर्को कुरा धनी र गरिवका कुरा गर्दा एकाध औलामा गन्न सकिने विद्यालयले चर्को शुल्क असुली रहेका छन् होला , एउटै सट्रिफिकेटको ५ हजार मात्र नभई १०÷२० हजारै लिएको होलान त्यो आफैमा गलत छ । त्यस्तै नर्सरी १ कक्षा मा पढ्ने विधार्थीलाई भर्ना गर्न ५० हजार,लाखँ रुपैयाँ खर्च गरेर पढाएका उदाहरुणहरु पनि छन् जबकी त्यो विधार्थीलाई म कहाँ कतिका पढ्दै छु भन्ने सम्म जानकार हुँदैन तर त्यो भर्ना के का लिदै छन् त्यो हामी पनि अचम्म पर्छौ । त्यस्तो नितान्त गलत हो । त्यसैले हाम्रा विद्यालयले त्यस्तो कुनै चर्को शुल्क असुल्ने काम गरेका छैनन् । केही हिसान बाहिर रहेका एकाध विद्यालयका कारण समग्र विद्यालयलाई हेर्ने दृष्टीकोण नराम्रो छ । त्यो चिर्नुपर्छ । त्यस्ता चर्को शुल्क अशुल्ने विद्यालयलाई त सरकारले कारवाहीको दायरामा ल्याउनु पर्ने होईन ?


सरकार र सम्बन्धी निकायलाई औला उठाईरहँदा हिसान आफैमा कतिको सच्चीएको छ ? आफ्ना भुमिका र काममा कति जिम्मेवार पूर्वक लागेको छ ?
मैले अघि पनि भने हिसानले नीती निमार्ण गर्ने होइन, नीती नियमका भएका समस्यालाई उजागर गराउने, विद्यालयमा देखिएका समस्या लाई समाधानको लागी पहलकदमी गर्न र विश्व बजारले खोजेको शिक्षालाई कसरी अगाडी बढाउने कार्यमा हामी पूर्ण रुपमा लागेका छौं । जहाँ सम्म शुल्कका कुरा भए एकाध विद्यालयका कारण समग्र विद्यालयलाई एउटै बास्केटमा हाल्नु हुँदैन । काठमाडौं पनि केही एकाध विद्यालय बाहेक अधिकाशं विद्यालयमा गुणस्तरदेखी शुल्कमा त्यस्तो फरक छैन । म एउटा शिक्षा क्षेत्रमा भएको नाताले पनि विभिन्न फोरममा बसेर भन्छु विद्यार्थी राजनीति गर्न साथीहरलाई अब विद्यार्थीको हक हित भन्दै बोल्न छाड्नुस भनेको छु । किनकी यहि कक्षा ११ को भर्ना गर्नेक्रममा बागबजार , डिल्लीबजार लगाएतका ठाउँहरुका कलेजले लाखौं रकम लिएर भर्ना गरिहेको देख्छौं । त्यही कलेज, विद्यालयहरुमा अभिभावक पैसाका विटा बाकेर लाईन लागेका छन् भर्नाको लागी तर शुल्कका न्यून र गुणस्तरमा उनीहरुको भन्दा हाम्रो राम्रो हुँदा किन हाम्रोमा कम ? तपाईहरुले हाम्रा विद्यालयलाई चर्को शुल्क भयो भन्दै हिड्ने त्यस्ता विद्यालय कलेजका बारे नबोल्ने नदेख्ने ? त्यसैले अभिभावक र विद्यार्थीका हक हित आवाज भन्दै नहिड्नुस भनेर विभिन्न फोरम , छलफलहरुमा भनिरहेकै छु । हाम्रा विद्यालयहरुमा ५÷१० हजारमा भर्ना गर्न र मासिक १५ सय २ हजार हुने कलेज विद्यालयमा लाइन नभएर लाखौंमा भर्ना हुनेमा लाइन लाग्ने जुन अभिभावकका पनि गलत ट्रेन बस्यो यो सच्चीन जरुरी छ । यसलाई परिवर्तन गर्नैपर्छ । धेरै पैसा तिरे भने म समाजको राम्रो,प्रतिष्ठीत, ठुलो संस्थामा पढाएको छु । त्यो सोच आम अभिभावकमा पर्न गएको छ । पैसा र भौतिक संरचना ठुलो देख्दैमा गुणस्तरिय शिक्षा पाईने भ्रमबाट अभिभावकहरुनै मुक्त हुनुपर्छ । न्युन शुल्कमा पनि शिक्षा गुणस्तरको पाउन सकिन्छ भन्ने मानसिकताको विकास हुन जरुरी छ ।

शिक्षाविधेयक आउने क्रममा छ, सरकारी नीती नियमले हिसानका समस्याहरुलाई सम्बोधन गर्न नसकेका बिषयबस्तु के के छन् ? के हुनुपथ्र्यो ?
पक्कै पनि लामो समयपछि शिक्षा विधेयक आउने क्रममा छ ,त्यसमा पनि नीजीस्तर बाट संचालित आम विद्यालयलाई सम्बोधन गर्न सकेको छैन । पहिलो कुरा त । नीजी लगानीको ग्यारेन्टी छैन, नीजी स्तरबाट संचालन विद्यालयले सरकारले दिनुपर्ने शिक्षा नीजीले दिइरहेका छन् । तर नीजी क्षेत्रले गरेको यो योगदानलाई सम्बोधन नगरेर विदेशीने विधार्थीलाई नेपालमै राख्न सक्षम भएका छौं भनेर हेर्दिनु पथ्र्यो त्यो पनि हुन सकेको छैन । अर्को कुरा नीतीले जतिसुकै चर्का कुरा गरेपनि अहिलेको अवस्था कस्तो शिक्षा दिनुपर्ने ,विद्यार्थीलाई कसरी व्यवहारिक शिक्षा दिन सकिन्छ , अथवा सिप मुलक कसरी गराउने भन्ने पाटोमा समेत अझै समेट्न सकेको छैन ।


शिक्षा सेवामुलक संस्था हुनुपर्नेमा व्यापारिकरण किन ? विद्यालय कलेज खोल्ने अस्वस्थ प्रतिस्पर्धा किन ?
हो पछिल्लो समयमा शिक्षामा अस्वस्थ प्रतिस्पर्धा भएको छ । विभिन्न व्यपारिक क्षेत्रका मानिस शिक्षामा लगानी गरिरहेका छन् । विदेशी लगानी पनि शिक्षामै लागनी भईराखेको छ । त्यो हुनुहुँदैन । विशुद्ध शिक्षामा लाग्नु पर्ने हो तर अहिले त्यस्तो नदेखिएर , ठुला व्यापारी, विदेशी लगानी कर्ता भित्रिएका छन् त्यसमा के कारण र कुन गाईडेडबाट आउनुभयो त्यो उहाँहरुको कुरा हो । तर शिक्षालाई विशुद्ध व्यवसायीक बनाउनु प¥यो, सेवामुलक बनाउनु प¥यो नकी व्यापारिकण भन्नेमै हाम्रो जोड छ ।

नेपाली विद्यार्थी विदेशीने क्रम बढ्दो छ,नेपालमै राम्रो विश्वविद्यालय नभएर, शिक्षा नीती प्रणाली राम्रो नभएर हो वा किन यस्तो समस्या देखा पर्दैछ ?
नेपालमा प्लस टु सकाएपछि विदेशीने क्रम अत्याधिक बढदो छ । मैले विभिन्न फोरमहरुमा यसबारे आवाज र छलफल चलाएकै छु । यो ट्रेण्ड किन देखा प¥यो भने एउटा विद्यार्थीले प्लुट गरिसकेपछि उसले चाहेको पढ्न खोजेको बिषय नेपालमै होस् , उसले आफ्नो भविष्य नेपालमै छ भन्ने देख्न पाउन पर्छ , भविष्य सुनिश्चीत छ भन्ने वातावरण सृजना गराउने कार्य फेरी पनि सरकारकै हो तर त्यसो हुन नसक्दा यस्ता समस्या देखिएका छन् । अहिलेको रिर्सचले के देखाएको छ भने नेपाललाई मेडिकल साइन्सको हव बनाउन सकिन्छ भन्ने देखाएको छ, वातावरणीय, हिसावले होस वा नेपालमा पाईने विभिन्न जडीबुटी लगाएतका कुरामा । विश्वको विद्यार्थी नेपालमै आएर मेडिकल साइन्स अध्ययन गर्न सक्ने खालको रिपोर्ट र रिसर्चले देखाएको छ भने नेपालले किन लगानी नगर्ने ? अब सरकारले यसबारे अध्ययन गरेर त्यसलाई लगानी मैत्रि वनाउन किन नसक्ने ? सरकारले लगानी गरेर विभिन्न इन्सीच्युट संचालन गरेर , अस्पताल निमार्ण गरेर विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गराउने खालको वातावरण , योजना तिर लाग्नु पर्छ । भारतले १०÷१५ बर्ष अघि आईटी क्षेत्रमै लागनी गरेर विश्वका विद्यार्थी भारतमा ल्याउछौं भन्ने दिर्घकालिन योजना बनाउदा आज युरोप अमेरिकाका आइटीमा अब्बल छु , गर्छु भन्ने विधार्थी भारतमै आएर अध्ययन गरेका छन् । भारत आइटी क्षेत्रमा विश्वमा चिनिएको छ । त्यसैले हामी पनि अध्ययन ले देखाएको कुरालाई किन क्याच नगर्ने, किन लगानी नगर्ने त ? हाम्रा धेरै विद्यार्थी वंगलादेश, चिन, जर्मन, लगाएतका देशमा मेडिकल पढ्न जानेको सङ्ख्या बढ्दो छ , यदि नेपालमै मेडिकल हवको रुपमा विकाश भए किन विदेशीनु पर्ने स्थीती बन्थ्यो ? त्यसैले नेपालमै आफ्नो करियर, भविष्य देख्ने वातावरण सरकारले गर्नुप¥यो । त्यसका लागी कम्तीमा भौतिक पूर्वाधारको विकास गर्नुप¥यो । भोलीको भविष्य देख्न पाउनु प¥यो , सट्रिफिकेट मात्रले विद्यार्थीलाई हुँदैन , सिप चाहियो, व्यावहारिक ज्ञान चाहियो, साथै यस क्षेत्रमा लगानी गर्ने, आत्मनिर्भर बन्ने खालको पाठ्यक्रम होस । त्यो नभएर खाली नीतीबनाउने व्यवहारिक र सिप मुलककुरामा जब सम्म जोड दिन सकिदैन तब सम्म विद्यार्थी नेपाल बस्दैन विदेशमै आफ्नो भविष्य देख्छ । त्यसैले सरकारको नीती, नीयमले राम्रो सँग गाइड गर्न सकेन भन्ने नै हो ।


जया मल्टीपल कलेजको शैक्षिक अवस्था कस्तो छ ?
जया मल्टीपल क्याम्पस आफैमा एक इतिहास बोकेको कलेज हो । २०३८ सालमा स्थापन भएको मनकामना स्कुल काठमाडौंको त्यो समयमा पूर्वी क्षेत्रमा कुनै नीजी शिक्षलाय थिएनन् । त्यो बेला सार्वजनिक विद्यालय समेत औलामा गन्न सक्ने मात्र थिए । यो क्षेत्र काठमाडौं भएर पनि वत्तिमुनीको अध्यारो स्थीतीमा रहेकोलाई उज्यालो वत्ति दिने उदेश्यले यसका संस्थापक निर्देशक जगन्नाथ देवकोटाले २०३८ सालमा मनकामना स्कुलको स्थापन गदै शिक्षाको क्षेत्रलाई नयाँ आयाम थप्नुभयो । हिजो देखी निरन्तर रुपमा जाँदै गर्दा यो क्षेत्रमा रहेका कुनै पनि घरका विधार्थी नहोलान मनकामना मावीमा नपढेको । लामो समयदेखी विशुद्ध शैक्षिक संस्थाका रुपमा रहेको यस विद्यालयले एम टु एम( मन्र्टेस्वरी देखी मास्टर डिग्री) सम्म संचालन गर्न सक्ने हैसियत राख्ने स्थापति सस्थाका रुपमा आफ्नै छुट्टै पहिचान बोकेको शैक्षिक संस्थाका रुपमा जया मल्टीपल लाई लिइन्छ । प्लसटुमा हामीले म्यानेज मेन्ट(जसमा कम्युटर साइन्स ,होटल म्यानेज मेन्ट, विजनेश स्डी) साइन्स, ल, आमसंचार,मानविकी लगाएत छन् । त्यस्तै व्याचलर(स्नातक)मा विविएम, विसिए , विएसडब्लु,विए, विडिएसका बिषयहरु छन् भने मास्टर( स्नाकोत्तर)मा सेमसेष्टर सिष्टममा म्यानेजमेन्टलाई राखेका छौं । छिट्टै अर्को सिटिईभिटी अन्र्तगतका कार्यक्रमहरु ल्याएर , सिभिल इन्जीनीएर,एग्री कल्चर लगाएतका सिप मुलक बिषयहरु संचालन गर्न अन्तिम चरणमा छौं ।
हामीले ०५१ सालमा पहिलो एसएसीमा समावेश गराएका थियौं । त्यो बर्षनै टप टेनको लिस्टमा हाम्रा विधार्थी आए । ०५३ सालमा ८ औ स्थानमा प¥यो । विस्तारै टप टेन राख्ने कार्यक्रम हट्यो । हाम्रा शिक्षक विद्यार्थीको मेहनत र परिश्रमले आजको दिनसम्म आइपुदा समेत अब्बल स्थानै कायम राखेका छन् । पहिलो एसएसलीमा २२ जना विद्यार्थी सहभागी थिए , अधिकाशं प्रथम डिभिजनमै पास भएका थिए । गएको बर्ष १ सय ५ जना विधार्थीले एसईईमा सहभागी थिए । ५० प्रतिशत भन्दा बढि ए प्लसको ग्रेडमा छ भने अन्य को ए ग्रेड ल्याएका छन् । त्यो बेला देखी यो अवस्था सम्म आईपुग्दा हेरक क्षेत्रमा यस कलेजबाट निस्कीएका विधार्थीहरु ले आफ्नो पकड जमाउन सकेका छन् । मेडिकल फिल्ड देखी, इन्जीनीएर,सुरक्षा निकाय, कलेज विद्यालयमा टिचिङ देखी नाम चलेका कलेजहरु संचालन गर्न सक्षम भएका छन् । त्यसले पनि यहाँको शैक्षिक अवस्था राम्रो छ भन्ने प्रमाणीत भएको छ भन्ने लाग्छ । अहिले ११ देखी मास्टर सम्म विधार्थीको सङ्ख्या करिव २२ सयको हाराहारीमा अध्ययन गरिरहेका छन् ।


जया मल्टीपल क्याम्पसनै किन रोज्ने ?
लामो समयदेखी शैक्षिक क्षेत्रमा इतिहास बोकेको शैक्षिक धरोहर रुपमा रहेको जया मल्टीपल कलेजका व्यवस्थापन पक्षको टिम, संचालक मेम्बरहरु लामो समयदेखी विशुद्ध शैक्षिक क्षेत्रमै आवद्ध भएका व्यक्तिहरु हुनुहुन्छ । त्यसले पनि यो क्षेत्रबाट आएकाहरुमा शिक्षामा व्यापारिकरण गर्ने मनसाय र भाव हुँदैन र छैन । त्यो सँगै हाम्रा शिक्षक साथीहरुले विद्यार्थीका भावना र उनीहरुलाई सम्बोधन गरेर अध्यापन गराउनु हुन्छ , वातावरणीय दृष्किोणले हामी गोकर्ण वनको छेउमै सित्तलता स्वस्चछ हावा लिर्दै रमाउन पाएका छौं । आफ्नै भवन खेलमैदान, खुल्ला कोठा र सौहार्दपूर्ण वातावरण भएको, शिक्षामा आवश्यक पर्ने ल्याव लाइब्रेई, इलाईब्रेई लगायतको कुरा छ भने अर्कोतिर अभिभावकले यस कजेलाई राखेको विश्वासलाई कदर गर्छौ । शुल्कको दृष्टीले अन्यमा लाखौं लिएर शिक्षा दिने कलेज भन्दा न्यून शुल्कमा उनीहरुको भन्दा राम्रो गुणस्तरिय शिक्षा दिने प्रयत्न गरिरहेका छौं । हामी क्वालिटीमा कहिले कम्प्रमाईज गर्दैनौं । देशका करिव ४३ जिल्लाबाट समेत यस कलेजमा विद्यार्थी आएर भर्ना भएका छन् । जुम्ला ,हुम्ला , सोलुखुम्बु सम्मका विधार्थीले यस कलेजमा प्रतिनिधित्व गरेका छन् । दुरदराजबाट आएका विधार्थी समेतले आफ्नो करियर जयामा देखेर यहाँसम्म आएका छन् भने त्यो उहाँहरुको विश्वास जितेका छौं त्यसको कदर गछौं । तेती मात्र होईन जव कुनै विधार्थी जयाको कम्पाउन्टमा छिर्छ , उसले फि कै कारण फर्केर जानु पर्दैन । उसले फी तिर्न सकेन, टिचर मन प¥यो,शैक्षिक वातावरण मन प¥यो, यही पढ्न चाहान्थे फीकै कारण ले पढ्न सकिन भनेर छाडेर जाने स्थीती छैन । त्यस्ता विधार्थीलाई समेत छात्रावृतीमा राखेर भए पनि कलेजले शिक्षा दिन्छ , शिक्षाबाट बञ्चीत गराउँदैन ।केही अभिभावकमा अझै पनि बागबजार, बबरमहल चावहिल, बानेश्वर गए मात्र कलेज राम्रो पाइन्छ भन्ने मानसिकता छ । त्यो मानसिकतालाई जयाले चिरेको छ । जयाको नतिजा यहाँको शैक्षिक गुणस्तर ,वातावरण लगाएतका कुराले पनि जया उत्कृष्ट छ भन्न सक्छौं ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
पछिल्लो समय देखीएको शिक्षामा भएको अस्वस्थ्य प्रतिस्पर्धालाई चिर्नैपर्छ, शिक्षा सेवामुलक हुनुपर्छ नकी व्यापारीकरण । साथै सरकारले नीजी विद्यालय कलेजलाई हेर्ने र उसले लिएका विभेदकारी निती सच्चीनुपर्छ । आम अभिभावक विद्यार्थी र नीजी विद्यालय कलेज संचालन कर्तालाई समेत सम्बोधन गर्ने खालको नीती ल्याउनु पर्छ । त्यसले विश्व बजारमा पनि नेपाली विधार्थी पनि अब्बल भएको प्रमाणीत गर्न सक्छन् । अन्याथा नीजीलाई अंकुश लगाएर शैक्षिक अवस्था सुध्रनेवाला छैन । अर्को कुरा तपाई पत्रकारीता क्षेत्रको व्यक्तिहरुले पनि यस्ता शिक्षामा भएका समस्यालाई उजागर गर्ने, शिक्षाका बदलिदा कुराहरुलाई न्यूजले समावेश गरोस , समय सापेक्ष कुरालाई स्थान दिदै समाज परिवर्तनको बहाकका रुपमा अग्रणी भुमिका खैल्दै जानुपर्छ भन्ने लाग्छ । त्यो बाटोमा समाज र देशलाई राम्रो बनाउने कार्यमा तपाई हामी मिलेरै समाजलाई नयाँबाटो र सोचका साथ अगाडी बढाउनु पर्छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु