म्याराथुन दौडको उपाधी भीमबहादुर गुरुङलाई

म्याराथुन दौडको उपाधी भीमबहादुर गुरुङलाई

गोरखा – लिगलिकोट, सिरानचोक, गोरखा दरबार म्याराथुन दौड भीमबहादुर गुरुङले जितेका छन् । दौडमा सहभागी ११३ जनालाई पछि पार्दै निर्धारित ४२ किलोमिटर दूरी तीनघण्टा १७ मिनेट दुई सेकेण्डमा पार गरेर गुरुङ विजयी भएका हुन् । उनले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

नेपाल निर्माणको आरम्भस्थल लिगलिगकोटदेखि नेपाल एकीकरणको जग गोरखा दरबारसम्म आयोजना गरिएको सो म्याराथुन दौडमा रुकुमका दुर्गाराज बुढा दोस्रो हुन सफल भएका छन् । उनले सो दूरी तीन घण्टा १७ मिनेट ४५ सेकेण्डमा पूरा गरेका थिए । बुढाले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै सबिन लामाले निर्धारित दूरी ३ घण्टा ३० मिनेट २ सेकेण्डमा पारी गरी तेस्रो हुन सफल भएका छन् । उनले ५० हजार रुपैयाँ पुरस्कार जिते। ुनेपालको उत्पत्तिदेखि जगसम्मु भन्ने नाराका साथ गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रणसिँह दल गणको आयोजनामा म्याराथुन दौड आयोजना गरिएको हो । दौडमा ११४ जना सहभागी थिए ।

इतिहास र पर्यटनको प्रबद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा लिगलिगकोट सिरानचोककोट गोरखा दरबार खुल्ला म्याराथुन दौड आयोजना गरिएको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले जानकारी दिए ।

१६१६ भदौ २५ गते द्रव्य शाहलाई पस्लाङमा राज्याभिषेक गरेर गोरखा राज्यको स्थापना गरिएको सम्झनामा बुधबार म्याराथुन दौड आयोजना गरिएको सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङले जानकारी दिए ।

नेपालको इतिहासमा पहिलो पटक सेनाको गण लिगलिगकोटमा तयार गरेको इतिहासको सम्झनामा सो म्याराथुन दौड प्रतियोगितामा नेपाली सेनाको पनि सहकार्य रहेको गणपति लेफ्टिनेण्ट कर्णेल उज्ज्वल केशीले जानकारी दिए ।

नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गर्दै पर्यटन प्रबद्र्धनमा सघाउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरेको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले बताए । ‘हामीले इतिहासको माध्यमबाट राष्ट्रिय एकताको स्मरण गराउने प्रयास गरेका हौं, उनले भने,पृथ्वी नारायण शाहले एकीकरण गर्ने क्रममा गोरखाबाट नुवाँकोट, हनुमानढोका दरबारसम्म पुगे । यी ठाउँहरुलाई समेत जोडेर युनिफिकेसन ट्रेलका रुपमा विकास गर्ने विषयमा पनि हामी छलफलमा छौं ।

यी क्षेत्रका गढी किल्लाको संरक्षण तथा पर्यटन प्रबद्र्धनका लागि म्याराथुनले सहयोग गर्ने विश्वास लिएका छौ, उनले भने सिँगो नेपाल निर्माणको सुरुवात गोरखाबाट भएको छ । नेपालको उत्पत्ति लिगलिगकोटबाट भएको हो। जग गोरखा दरबारमा तयार भएको छ भने हामीले यसको प्रवद्र्धन किन नगर्ने ? त्यसैले यसलाई एकीकरण पदमार्ग(युनिफिकेशन ट्रेल)को नाममा विकास गर्ने उद्देश्यले हरेक वर्ष म्याराथुन दौड प्रतियोगिता गर्ने लक्ष्य छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु