प्रचण्डका घरबेटीले पाए मेलम्ची खानेपानीको ठेक्का

प्रचण्डका घरबेटीले पाए मेलम्ची खानेपानीको ठेक्का

काठमाडौं – विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीले मेलम्ची खानेपानी आयोजनाको डेढ अर्ब रुपैयाँको नयाँ ठेक्का पाएको छ।

शैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का परेको हो।

एक अर्ब ४१ करोड ६९ लाख २२ हजार ७६० रुपैयाँमा अनामनगरस्थित आयोजना निर्देशनालय कार्यालयले शैलुङ कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको हो।

सबैभन्दा कम रकम कबोलेका कारण शैलुङसँग मेलम्चीको पाइपलाइन विस्तारको काममा सम्झौता गरिएको निर्देशनालयका सूचना अधिकारी मिलनकुमार शाक्यले बताए।

बिना मगर खानेपानी मन्त्री भएकै बखत उनका ससुरा नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार अधिकारीले मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएका हुन्। मन्त्री मगर आफैं पनि अहिले खुमलटारस्थित सोही घरमा बस्छिन्।

३० महिनाभित्र काम सक्ने गरी शैलुङसँग चार महिनाअघि निर्देशनालयले सम्झौता गरेको छ।

शाक्यका अनुसार शैलुङले पाइपलाइन विस्तारको काम अघि बढाइसकेको छ।

‘ठेक्का सम्झौता भएर निर्माण हुन चाहिने सामग्री आयात भइरहेको छ, ती सामग्रीको गुणस्तर पनि परीक्षण भइरहेको छ,’ शाक्यले भने।

शैलुङले बुढानिलकण्ठको आरुबारीमा ओभरहेड ट्यांकी बनाउने छ र त्यस क्षेत्रमा पर्ने कपन तथा बुढानिलकण्ठ क्षेत्रको पाइपलाइन विस्तार गर्नेछ।

गृह मन्त्रालयका अनुसार शैलुङ निर्माण क्षेत्रमा ‘बदमासी’ गर्ने ‘क’ वर्गको ठेकेदार कम्पनी हो। गृहमन्त्री रामबहादुर थापाले गत वर्ष ‘बदमासी’ गर्ने निर्माण कम्पनीको नाम सार्वजनिक गर्दा अधिकारीको शैलुङ पनि थियो।

कानुनत प्रतिस्पर्धामा कम कबोल गर्ने कम्पनीसँग ठेक्का सम्झौता गर्ने व्यवस्था भए पनि पछिल्लो समय सरकार काम बिगार्ने ठेकेदार कम्पनीसँग कठोर प्रस्तुत भइरहेको छ।

दुई अर्ब आठ करोडको राष्ट्र बैंक केन्द्रीय कार्यालयको ठेक्का विवादास्पद पप्पु कम्पनीले पाउने भएपछि सरकारले हस्तक्षेप गरेर रोकेको थियो। पप्पुले देशैभरि पुल निर्माणको काम बिगारेको आरोप छ। बर्दियाको जबदीघाटस्थित बबई नदीको पुल भासिएपछि पप्पुलाई भ्रष्टाचार मुद्दा लागेको थियो।

शैलुङ पनि यस्तै विवादित कम्पनी हो, जसले ठेक्काका धेरै काम पूरा गरेको छैन।निर्माण क्षेत्रमा समयमा काम नगर्ने सरकारी सूचीमा शैलुङ छ। सरकारले चाहे पप्पुलाई जस्तै ठेक्का खोसेर वा कालोसूचीमा राखेर शैलुङलाई कारबाही गर्न सक्छ। तर, अधिकारीसँग नेकपा अध्यक्ष दाहाल नै जोडिएपछि राज्य निकायहरू शैलुङसँग डराउँछन्।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु