शुक्रबार, मङि्सर २०, २०७६
GokarnaNews
OnlineKhabarHub

राप्रपा संयुक्तको आरोपः अव्यवहारिक नीतिका कारण मुलुकको अर्थतन्त्र संकटग्रस्त

राप्रपा संयुक्तको आरोपः अव्यवहारिक नीतिका कारण मुलुकको अर्थतन्त्र संकटग्रस्त

काठमाडौं– राप्रपा संयुक्तले सरकारको अव्यावहारिक नीतिका कारण मुलुकको अर्थतन्त्र संकटग्रस्त भएको आरोप लगाएको छ । संविधानमा समाजवाद उन्मुख लेखेर सरकारले सोही अनुसारको अव्यावहारिक नीति लागू गरेका कारण अर्थतन्त्र अधोगतिमा धकेलिएको आरोप लगाएको हो । उसले विकल्पको रुपमा कल्याणकारी उदारवादको नीति अवलम्बन गर्नुपर्ने प्रस्ताव राखेको छ ।

मंगलबार भएको अन्तर्क्रिया कार्यक्रममा राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर जबराले भने, ‘नेपालको वर्तमान आर्थिक परिवेश एकदमै प्रतिकूल बनेको छ, यसको मूल कारण संविधानको प्रस्तावनामा समाजवाद उन्मुख भन्ने वाक्य राख्नु हो । यसै कारण वैदेशिक लगानीमा कमी आएको हो ।’

उनले संविधानमा जबसम्म समाजवाद उन्मुख भन्ने शब्द राखिन्छ तबसम्म नेपालमा कुनै पनि हालतमा वैदेशिक लगानी नआउने दाबी गरे । संविधान संशोधन गरी समाजवाद उन्मुख भन्ने वाक्य हटाई कल्याणकारी उदारवाद राखिनुपर्ने उनको तर्क थियो ।

अन्तक्रियामा राप्रपा (संयुक्त)का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समाजवादको नाममा लुटतन्त्र मच्चाएर देश सिध्याउने प्रपंच जारी रहेको कारण संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको नारामा संघर्ष गर्नु बाहेको विकल्प नरहेको बताए । त्यस्तै, परराष्ट्र विज्ञ डा. निश्चलनाथ पाण्डेले सरकार व्यावहारिक व्यवस्थापनभन्दा प्रचारमा केन्द्रित रहेको आरोप लगाए ।

अन्तरक्रियामा अर्थशास्त्री सुबोध नारायण झाले मुलुकमा भत्ता खाने सरकार भए पनि जनताको सरकार नभएको जस्तै आभाष हुने गरेको तर्क गरे । त्यस्तै, व्यवस्थापन विज्ञ शिव अधिकारीले मुलुकको अर्थतन्त्र तथा व्यापार घाटा भयावह रहेको हुँदा यस विषयमा सरकार संवेनदशील हुनुपर्ने बताए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु