काठमाडौं – विश्व आदिवासी दिवस (अगष्ट ९) यसपटक सडकमै आन्दोलनका रुपमा मनाइने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा साउन २४ गते काठमाडौंमा विश्व आदिवासी दिवस आन्दोलनको रुपमा सडकमै मनाउन लागेको हो ।
लोकसेवा आयोगले लिने निजामती कर्मचारीको भर्नामा असमावेसी व्यवहार देखाएको भन्दै आदिवासी जनजातिहरु आन्दोलित छन् । त्यसैले पनि विश्व आदिवासी दिवस सडकमै मनाउन लागेको जनजाति महासंघका अध्यक्ष जगत बरामले जानकारी दिए ।
आदिवासी जनजातिका अधिकारबारे राज्यलाई झकझक्याउन विश्व आदिवासी दिवस मनाइदै आएको छ । यसपटक २५औं विश्व आदिवासी दिवस विश्वभर मनाइँदैछ ।
नेपालमा भने विगतको तुलनामा फरक ढंगले मनाउन लागेको हो । विगतमा साताव्यापी कार्यक्रमको आयोजना गर्दै कोठे कार्यक्रमहरु हुँदै आएका थिए । आरक्षण बचाउनका लागि आदिवासी जनजातिहरु सडकमै रहेकाले यसपटक सडकमै आन्दोलनका रुपमा दिवस मनाउन लागेका हुन् ।
शुक्रबार बिहान साढे १० बजे भृकुटी मण्डपमा भेला भएर जुलुससहित माइतीघर मण्डलामा कार्यक्रम गरेर दिवस मनाउने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् । सडक ठप्पै पारेर सांस्कृतिक कार्यक्रम र परम्परागत हातहतियार प्रदर्शनसमेत गरेर दिवस मनाउने कार्यक्रम रहेको छ ।