मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

जापानमा नेपाली कामदार पठाउन कार्तिकमा भाषा र सीपसम्बन्धी परीक्षा

जापानमा नेपाली कामदार पठाउन आवश्यक भाषा र सीपसम्बन्धी परीक्षा अक्टोबरको अन्तिम साताबाट शुरू हुने श्रम मन्त्रालयले जनाएको छ।जापान सरकारले शुरूमा अरूको हेरचार गर्ने ‘केयरगिभर’ का रूपमा कामदार लिन चाहेकाले त्यसैअनुसार भाषा परीक्षाको तयारी भइरहेको मन्त्रालयका सचिव महेशप्रसाद दहालले बताए।

तर केयरगिभरका लागि कति नेपाली कामदार जापानले लिन खोजेको भन्ने चाहिँ आफूलाई जानकारी आइनसकेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।”हामीले पहिला भाषा परीक्षा लिनका लागि अक्टोबर महिनाको २७र२८ तारिख तोकेका छौँ,” सचिव दहालले भने, “त्यसपछि सीपसम्बन्धी परीक्षा नोभेम्बरको ६ र ७ तारिखमा हुन्छ।”

ख्याल गर्नुपर्ने विषय – यसअघि इपिएसमार्फत् कोरिया जाने नेपालीका लागि जस्तै जापान पनि अर्को आकर्षक गन्तव्य हुने कतिपयको ठम्याइ छ।तर जापानमा रहेका नेपालीको अध्ययन गरेका मेडिकल डाक्टर एवम् अनुसन्धानकर्ता डा। प्रकाश शाक्य नेपाली जानुअघि र सरकारले पठाउनुअघि उनीहरूलाई त्यहाँका केही विषयमा परामर्श दिएर पठाउनुपर्ने बताउँछन्।जापानमा खासगरी उपचारका क्रममा आधारभूत भाषाको ज्ञान पर्याप्त नहुने र त्यसबाहेक कतिपय सांस्कृतिक कुराबारे पनि नेपालीलाई जानकारी दिनुपर्ने उनी बताउँछन्।

“त्यहाँ रहेका अधिकांश नेपालीलाई उपचार गर्न जाँदा भाषा र स्वास्थ्य विमाको समस्या भएको देखेको छु। त्यसबारे सरकारले यहाँबाट जाने कामदारलाई परामर्श दिनुपर्छ।”खासगरी मानसिक समस्या भएका नेपालीले जापानका चिकित्सकलाई आफ्नो रोगबारे बुझाउन नसकेको पाइएको शाक्य बताउँछन्।त्यसबाहेक स्वास्थ्य बीमा प्रत्येक वर्ष नगर्दा त्यसले साँच्चै बिरामी परेका बेला नेपालीलाई उपचार गर्न समस्या हुने गरेको उनले बताए।

“मैले त्यस्ता धेरै नेपाली भेटेको छु जसलाई स्वास्थ्य बीमाको महत्त्व नै थाहा हुँदैन। त्यसैले जब आवश्यक पर्छ तब उनीहरू उपचार गराउन समस्या झेल्छन्, त्यसबारे हामीले यताबाट पठाउने नेपालीलाई परामर्श दिनुपर्छ,” शाक्यले भने।जापान सरकारले पाँच वर्षका लागि ३ लाख ४५ हजार जनालाई कामको अनुमति दिने जनाएको छ। नौवटा मुलुकमध्ये नेपाल उनीहरूको प्राथमिकतामा रहेको बताइन्छ। श्रम गर्ने भनिएका भियतनाम, चीन, फिलिपिन्स, इन्डोनेशिया, थाइल्याण्ड, म्यानमार, कम्बोडिया र मंगोलियामध्ये जापानले नेपालसँग सबैभन्दा पहिला सम्झौता गरेको थियो।कतिपय मुलुकमा भने सम्झौता गर्ने प्रक्रियामै रहेकाले पनि नेपालीहरू कति सङ्ख्यामा जान पाउँछन् भन्ने यकिन गर्न अहिले नसकिने सचिव दहालले बताए। बिबिसीबाट