बिहिबार, मङि्सर २६, २०७६
GokarnaNews
OnlineKhabarHub

बौद्धमा प्रतित्यसमुत्पाद (तेन्डेल च्यूङी)बारे धर्म देशना र विपश्यना ध्यान साधना शिविर संचालन हुने

बौद्धमा प्रतित्यसमुत्पाद (तेन्डेल च्यूङी)बारे धर्म देशना र विपश्यना ध्यान साधना शिविर संचालन हुने

राजधानीको बौद्धमा प्रतित्यसमुत्पाद (तेन्डेल च्यूङी)बारे धर्म देशना र विपश्यना ध्यान साधना शिविर संचालन हुने भएको छ ।

बौद्धस्थित प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको आयोजनमा धर्म गुरु खेन्पो ङावाङ होसेर र साथमा सधाक छेतेन नोर्गेबाट प्रतित्यसमुत्पाद (शिव खोर्लो) र विपश्यना ध्यान साधना शिविर कार्यक्रम संचालन हुने भएको छ । कार्यक्रम संस्थाको सभाहल बौद्ध–६ स्थित तामाङ भवनको दोस्रो तल्लामा जेठ १८ गतेदेखि जेठ २८ गतेसम्म संचालन हुनेछ । कार्यक्रम विहान ७ बजे सुरु भई १० बजेसम्म संचालन हुने छ । ६ लोक ३१ भुवनको पनि व्याख्या गरिनेछ ।

शील, समाधी र प्रज्ञालाई बुझ्न र आफ्ना मनभित्रका द्वेष, राग र मोह हटाएर चित्त निर्मल पार्न विपश्यना ध्यान नै उत्तम मानिन्छ । चित्त निर्मल बनाउने, सुख र शान्ति पाउने, निरोगी हुने, अध्ययनलाई राम्रो बनाउने र लक्ष्यमा पुग्ने चाहना राख्ने महिला, पुरुष, युवा तथा पाका व्यक्तिहरुका लागि मात्रै नभएर बालबालिकाका लागि समेत विशेष ध्यान शिविर सञ्चालन हुन लागेएको हो । भगवान् बुद्धको उपदेशको सार हो – धर्म सर्वदेशिक, सर्वकालीन र सर्वज्ञनिन हुन्छ । प्रकृतिका नियम तथा विश्वव्यापी विधानलाई सही रूपमा धारण गर्नु नै धर्म हो । यसमा कुनै पनि जाति, वर्ग वा सम्प्रदायको एकाधिकार हुँदैन । सूर्यको स्वभाव हो ताप र प्रकाश दिनु, चन्द्रमाको स्वभाव हो प्रकाश र शीतलता दिनु, आगोको स्वभाव हो जल्नु र जलाउनु, बरफको स्वभाव हो शीतल हुनु । यस्तै, उत्पन्न हुनु, नष्ट हुनु, उदाउनु अस्ताउनु शुद्ध धर्म हुन् ।

विपश्यना आजभन्दा करीब दुई हजार पाँच सय वर्षअघि बुद्ध स्वयंले अनुभूत गरी प्रतिपादन गरेका ध्यान विधि हो । यो ध्यान विधिले अनित्यताको बोध गर्न मद्दत गर्छ । जुन जस्तो छ त्यसलाई साक्ष्यत भाव वा तटस्थ भावले हेर्ने विधि विपश्यना हो । ‘वि’ भनेको विशेष तवरले र ‘पश्यना’ भनेको दृष्टिगोचर गर्ने हो । शील र समाधिमा प्रतिष्ठित भई भावनामयी प्रज्ञा जगाउने पवित्र अभ्यास हो विपश्यना ।

विपश्यना ध्यान गर्न चाहने साधकलाई झूटो नबोल्ने, प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, ब्रम्हचर्या पालन गर्ने र नशालु पदार्थ सेवन नगर्ने जस्ता नियमभित्र रहेर शिविरको पहिलो दिन श्वासप्रश्वासमा आफ्नो ध्यान केन्द्रीत गर्ने अभ्यास गर्न लगाइन्छ, जसलाई ‘आनापाना सति’ ध्यान भनिन्छ । साधकले मनको चञ्चलता यो बेला अनुभव गर्न पाउँछन् । उक्त कार्यक्रममा प्राचीन आनुवाद एकमातृ गुरु संघ, नेपालको कार्यालय बौद्ध–६, तामाङ भवनको दोस्रो तल्लामा उपस्थितको लागि सम्पुर्ण आस्थावन महानुभावहरुलाई आयोजकले अनुरोध समेत गरेका छन् सम्पर्क नम्बर ०१४४८४५५५

सम्बन्धित समाचारहरु

विद्या वा शिक्षा विनाको मानिस पशु समान हुन्छ भन्ने उक्ति नेपाली समाजमा परम्परादेखि नै चल्दै आएको छ । शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । एउटा राम्रो स्वस्थकर जीवनयापन गर्नको लागि पनि शिक्षाको महत्व हुन्छ । एउटा समाजमा सम्मानित व्यक्ति भएर जिउनको लागि शिक्षाको महत्व छ ।

जीवनको जति मूल्य छ त्यतिनै शिक्षाको पनि मूल्य छ । किन कि ? शिक्षा बिनाको जीवन पनि एउटा दृष्टिविहीन व्यक्ति जस्तै हो । एउटा दृष्टिविहीन व्यक्तिसँग सबै कुरा भएता पनि उनीहरु सँग एउटा मात्र कमजोरी हुन्छ । जुन आखाको ज्योति हो ।

त्यसैले उनीहरु सबै कुरावाट पूर्ण भएपनि उनीहरुले यो संसार हेर्न, देख्न सकिरहेका हुदैनन् । शिक्षा पनि त्यस्तै हो । जति सुकै धन सम्पतिले भरिपुर्ण किन नहोस् तर उसँग शिक्षा छैन भने उसले केही गर्न सक्दैन ।

पूर्वीय दर्शनले पनि शिक्षाको महत्वलाई जोडतोडका साथ व्याख्या गरिएको पाइन्छ । आफ्ना सन्ततीलाई शिक्षा वा विद्या नदिने वुवाआमा वा अभिभावकको केही अर्थ नहुने उल्लेख छ । नीति शास्त्रको एक श्लोकमा भनिएको छ । बालबालिकालाई नपढाउने आमा-बाबु बालबालिकाका शत्रु हुन् ।

विद्याले युक्त मानिस जताततै पुजिन्छ र कुनै पनि महत्वपूर्ण सभा वा कार्यमा उनको विद्वताको प्रशंसा हुने नै गरेको छ । त्यसैले सन्ताललाई विद्याबाट पर राख्नु मुर्खता हो । आजभोलि जीवन उपयोगी वा प्रयोगात्मक शिक्षामा जोड दिइन्छ । जसले गर्दा आगामी जीवनमा सहजता पाइन्छ ।

हिन्दू धर्म दर्शनमा केही श्लोकहरु रहेका छन् जसलाई हेर्नुभयो भने विद्याको महत्व प्रष्ट हुन्छ ।

नमन्ति फलिनो वृक्षा: , नमन्ति गुणिनो जनाः ।
शुष्क काष्ठश्च मूर्खश्च, न नमन्ति कदाचन् ।। ( चाणक्य नीति )

लटरम्म फल फलेको रुखको हागो जमिन तिर झुकेको हुन्छ । गुणी र विद्वान मानिस पनि सदैब झुक्छन् । तर सुकेको र मूर्ख मानिस कहिल्यै झुक्दैनन् ।

मूर्खोऽपि शोभ तावत् सभायां वस्त्रष्टितः ।
तावच्च शोभते मूर्खो यावत् किञ्चिन्न भाषते ॥

शुन्दर वस्त्रमा ठाँटिएको मूर्ख मानिस सभा/बैठकहरूमा त्यतिबेलासम्म शोभायमान (राम्रो) देखिन्छ जबसम्म केही बोल्दैन ।

माता शत्रुः पिता वैरी येन बालो न पठितः ।
न शोभते सभामध्ये हंस मध्ये बको यथा ॥

बालबालिकालाई नपढाउने आमा-बाबु बालबालिकाका शत्रु हुन्; किनभने नपढाइएका बालबालिका पछि गएर विद्वत सभामा, हाँसको बथानमा बकुल्ला जस्तो अशोभनीय लाग्छन् ।

विद्या ददाति वनयं विनयाद्याति पात्रताम् ।
पात्रत्वाद् धनमाप्नोति धनाद् धर्म तातः सुखम् ॥

विद्याले व्यक्तिलाई विनम्रता प्रदान गर्छ । विन्रमताले मानिसलाई सुयोग्य बनाउछ । सुयोग्य पात्रलाई धन प्राप्त हुन्छ । धनबाट सुकार्य (परोपकार/धर्म) गर्न सकिन्छ । धर्म (सुकार्य) बाट मानिसलाई सुख-शान्ति प्राप्त हुन्छ ।

उद्यमेन हि सिद्ध्यन्ति कार्याणि न मनोरथैः ।
न हि सुप्तस्य सिंहस्य प्रविशान्ति मुखे मृगाः ॥

कार्यसिद्ध गर्न परिश्रम गर्नुपर्छ, इच्छा मात्र गरेर हुँदैन । सुतेको सिंहको मुखमा आएर कुनै पनि पशु आफै पसिदिँदैन ।

न दैवमिति सञ्चिन्त्य त्यजेदुद्योगमात्मनः ।
अनुद्योगेन तैलानि तिलेभ्यो नाप्तुमर्हति ॥

‘भाग्यमा जे छ त्यही हुन्छ’ भनेर उद्योग गर्न छोड्नुहुदैन । परिश्रम नगरी त तिलको दानामा रहेको तेल पनि हात लाग्दैन ।

छोराछोरीलाई नपढाउने आमा–बाबु बालबालिकाका शत्रु !

काठमाडौं– नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय साहित्य महोत्सव आयोजना गर्ने भएको छ । नगर क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ । महोत्सवका बारे जानकारी दिन मङ्गलबार नगरकार्यपालिकाको कार्यालयमा आयोजित साहित्यकारको भेलामा नगर प्रमुख सन्तोष चालिसेले नगर क्षेत्रको प्रचार प्रसार गर्ने ध्येयले महोत्सव आयोजना हुन लागेको जानकारी दिए।

यसका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । ‘महोत्सवमा पर्यटकीयस्थल तारेभीर, शिवपुरी, वाग्द्वार, सुन्दरीजल, गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र, राष्ट्रिय शहीद स्मारक निर्माणस्थल क्षेत्रलगायत स्थानका बारेमा जानकारी दिई यहाँको प्राकृतिक एवं पुरातात्विक महत्व समेटेर साहित्य सिर्जना गर्न प्रेरित गरिनेछ’, उनले भने ।

महोत्सवबाट आन्तरिक पर्यटन प्रवद्र्धन हुने विश्वास लिइएको छ । महोत्सवमा प्रस्तुत गरी सर्वोत्कृष्ट पहिलो कवितालाई रु एक लाख ५० हजार, दोस्रोलाई रु एक लाख र तेस्रोलाई रु ५० हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

हास्य कवि भैरव अर्याल, आख्यानकार रमेश विकललगायत साहित्यकारको जन्म गोकर्णेश्वर क्षेत्रमै भएको थियो । हाल नगर क्षेत्रमा दुवै जना साहित्यकारको स्मृतिमा खुलेका साहित्यिक संस्था विभिन्न गतिविधिमा क्रियाशील छन् ।

यसैगरी अभिनव साहित्य समाज, सुरभि साहित्य प्रतिष्ठानलगायत साहित्यिक संस्थाले मासिकरुपमा नियमित साहित्यिक कार्यक्रम गरिरहेका छन् । आगामी पुस माघमै साहित्यिक महोत्सव गर्ने प्रस्ताव नगरपालिकाले राखेको साहित्यकार एवं अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले जानकारी दिए । भेलामा १५० भन्दा बढी साहित्यकार, लेखक एवं पत्रकारको सहभागिता रहेको थियो ।

गोकर्णेश्वरमा राष्ट्रिय साहित्य महोत्सवको आयोजना हुने

काठमाडौं– डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन २० लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सडक निर्माणअन्तर्गत रनिङ बिलको भुक्तानीका लागि ठेकेदारसँग मागेको २० लाख घुससहित श्रेष्ठ र महर्जन काठमाडौंबाट पक्राउ परेका हुन् । बिल भुक्तानीका लागि डिभिजन सडक प्रमुखले घुस रकम माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारको प्रधान कार्यालय काठमाडौंबाट खटिएको टोलीले दुवै जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

सिनियर डिभिजनल इन्जियिर श्रेष्ठ र इन्जिनियर महर्जनलाई घुस रकम लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–१० स्थित रोयल अलिना बेकरी क्याफेबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

२० लाख घुससहित काठमाडौंबाट २ जना इन्जिनियर अख्तियारको फन्दामा

काठमाडौं– गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले अवैध कार्यलाई वैधतानिकता दिएको पाइएको छ । कानुन र नियमको खिल्ली उडाउँदै अवैध रुपमा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले वालुवा खानी संचालन तथा प्रशोधनको लागी भन्दै अनुमती पत्र दिएका छन् । मेयर चालिसेले ह्यगृव भैरब वालुवा तथा ढुङ्गा खानी प्राली लाई अनुमती पत्र दिएका हुन । स्मरणरहोस ह्यगृव भैरब प्राली दर्ता गर्दा कम्पनी रजिष्टारको कार्यलय र प्रवन्ध पत्रमा उक्त वालुवा उद्योग नुवाकोटको ओखरपौवा गाविस वडा १ मा संचालन गर्ने भन्दै दर्ता गरेको छ,भने काठमाडौं महानगरपालिका वडा ३१ शंखमुल मा रजिष्टर्ड कार्यालय रहने व्यहोरा उल्लेख छ । तर गोकर्णेशवर नगपालिकाका मेयरको तोकमा सो कम्पनी धमाधम गोकर्णेश्वर नगरपालिकाको वडा ३ मा संचालन भइरहेको छ ।

गोकर्ण न्युजले नगरपालिका कार्यलयमा पुगी आवश्यक कागजात माग्दा नगरपालिकाका प्रशासन प्रमुख भिम शाहीले खानी सञ्चालनसम्बन्धी केही कागजपत्र प्रशासन शाखामा नभेटिएको जानकारी गराउदै उनले कुनै किसिमको खानी सञ्चालनका निमित्त प्रशासन र नगरसभाले आजसम्म निर्णय नगरेको बताए । यद्यपी उनले प्रशासकिय अधिकृत अग्नी अधिकारी बिदामा भएको र आवश्यक कागजात उहाँसँग हुनसक्ने बताए । कुनैपनि सरकारी प्रशासन नीतिअनुरुप चल्नुपर्ने हुन्छ तर गोकर्णेश्वर नगरपालिका भने ब्यक्तिबिशेष भई चलिआएको पाईएको छ ।

कानुनत कुनै उद्योग संचालन गर्दाका बखत कम्पनी राख्ने स्थान र ठाउँको अनुगमन गरी उपयुक्त लागेको खण्डमा सोही वडा,नगर ÷ जिल्लाले स्विकृत दिने कानुनी व्यवस्था छ । तर गोकर्णेश्वरका मेयरले भने नुवाकोटमा दर्ता भएका उद्योग, कामनपा ३१ मा कार्यालय रहेको ह्यगृव भैरबलाई गोकर्णेश्वमा चलाउन भन्दै स्विकृत दिनुले स्थानिय सरकार संचालन ऐनको ठाडो उल्लंघन र नियम मिच्दै स्विकृत दिएका हुन ।

मेयर चालिसेले स्विकृत दिएको पत्रमा गोनपा वडा ३ को संधियार सहमती तथा सर्जमीन सहितको सिफारिस पत्र तथा इन्जीनियर अजय बानियाँको स्थलगत प्राविधिक प्रतिवेदनको आधारमा गोनपाको ३ को टोठाडोलमा खानी संचालन तथा वालुवा प्रशोधन गर्न अनुमती दिएको व्यहोरा उल्लेख छ । तर यसबारे इन्जीनियर वानियाँलाई सोध्दा आफुले त्यस्तो प्रतिवेदन पत्र नदिएको बताए । उनले भने ‘१ बर्षको कुरा रहेछ मलाई तेती धेरै जानकारी भएन , तर प्रतिवेदननै बनाएर त दिएको जस्तो लाग्दैन । त्यसबारे म बुझेर जानकारी गराउने छु । मलाई कहाँ संचालित कहाँ दर्ता भन्नेबारे त्यस्ता डकुमेन्ट पनि आएनन् । मैले निवेदकको पत्रका आधारमा स्थलगत रिपोर्ट जग्गा, सधियारका सहमती, कित्ता काट लालपुर्जा लगाएतका करा लगाएतका कुरा हेरेर सानो मिनीकोट मात्र दिएको हु । तर सहमती पत्र भनेर प्रतिवेदन तयारनै पारेको स्थिीती चाहीँ छैन ।’

उनको यो भनाईलाई आधार मान्ने हो भने इन्जीनियरले गएर निविदकको पत्र र सधियारको सहमती कित्ता काट मात्र हेर्छ वा कहाँ संचालन गर्न लागेको छ । यस वडामा पर्छ वा पर्दैन ? नियम संगत ढङ्गबाट डकुमेन्ट आएका छन् वा छैनन् त्यो हेररे पत्र बनाउँछ कि हचुवाको भरमा कसैले मसँग कम्पनी छ, मैले संचालन गर्न पाउँ भनेकै आधारमा स्विकृत दिन्छ रु कानुन र नीती नियम र निर्देशिका भन्दा बाहिर गएर इन्जीनीयरको मनले लागेका कुरामा दिइन्छ ? यसरी कानुन भन्दा बाहिर गएर डकुमेन्ट नहेरी अनुमतीको लागी पत्र दिनु कहाँ सम्मको गैर जिम्मेवारी कार्य हो ?

त्यस्तै नगरपालिका भित्र हुने र भए गरेका विभिन्न उद्योग , कम्पनी संचालन गर्न नगरपालिका उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति बनाइएको हुन्छ । त्यही समितिले इन्जीनियर र वडाले ठिक भएको प्रतिवदेन दिएको खण्डमा उपमेयरनै स्वयम स्थलगत अनुगमनमा पुगेर सो प्रतिवेदनलाई मुर्त रुप दिने कानुनी व्यवस्था छ । तर यहाँको सवालमा भने गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ती नेपालले यसबारे आफुलाई थाहै नभएको बताईन । उनले भनिन् ‘मलाई खानी संचालन गराउन , वा कम्पनी , उद्योग संचालन गर्नको लागी कुनै पत्र वा जानकारी आएको छैन । म के का आधारमा अनुगमनमा जानु । मेरो उपस्थितीमा त्यस्ता वालुवा खानी संचालनको लागी कुनै अनुगमन र स्विकृत दिने काम म बाट भएको छैन । त्यस्तो अन्य ठाउँमा कम्पनी दर्ता भएर यहाँ आएर संचालन गरेको छ, भने त्यो खारेज हुन्छ,हाम्रो क्षेत्राधिकार भनेको गोकर्णेश्वर नगरपालिका भित्र हो । नुवाकोट र कामनपा ३१ मा रहेका कम्पनी उद्योगको होइन । त्यसरी झुठ्ठा विवरण पेश गरेका संचालकलाई समेत कारवाही हुन्छ । त्यस्ता कार्य रोकिन्छन ।’ उनको यो भनाई पनि आश्र्चय जनक नै लाग्छ । किनकी अनुगमन गरेर उनको स्विकृत विना काम कारवाही अगाडी बढ्दैन तर यहाँ मेयरले तोक लगाएर सीवकृत दिएका छन । तेती मात्र होइन करिव एक डेढ बर्ष देखी संचालित उक्त उद्योगका बारेमा उपमेयरनै जानकार छैनन् भने जनताले तिरेको करले तलव र भत्ताखानु के का लागी ?

यसरी जनताको आँखामा छारो हाल्ने लाखौं रकमको चलखेलमा अवैध कामलाई नै नगरपालिका प्रमुखलेनै वैधता दिनलागे कानुन नियम, निति निर्देशिका कार्यविधिको अर्थ के र केका लागी ? सम्बन्धीत निकायले यसकारे चासो दिनु पर्ने होइन र ?

“प्रशासन र नगरसभाबाट खानी सञ्चालनका लागि स्वीकृत छैन्”– प्रशासन प्रमुख भिम शाही

काठमाडौँ महानगरपालिकाले फोहरको अन्तिम व्यवस्थापन स्थानसम्म पु¥याउनका लागि स्रोतमा नै फोहरको वर्गीकरण गरी लैजाने भएको छ । शहरवासीले उत्पादन गरेको फोहर शुरुकै अवस्थामा वर्गीकरण नगरी व्यवस्थापन समस्या आएको भन्दै महानगरपालिकाका सबै वडामा यस किसिमको व्यवस्था गर्न लागिएको हो ।

स्थानीय तहले स्रोतमा नै कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहर फकर–फरक तरिकाले राख्ने तथा फोहर सङ्कलन गर्न गएका गाडीमा सोहीअनुरुप फोहर राख्नुपर्ने महानगरपालिकाले जनाएको छ ।

यसरी फोहर व्यवस्थापन गर्ने कार्यका लागि अहिले महानगरकाका ३२ वटै वडाप्रमुख र अन्य सरोकारवालासँग छलफल गरिरहेको छ । महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि नगरपालिकाबीच सहकार्य गर्ने विषय अघि बढेको बताए ।

उनले दीर्घकालीन ल्याण्डफिल निर्माणपछि पनि काठमाडौँका स्थानीय तहले वर्गीकरण गरेर मात्रै अन्तिम विसर्जन गर्ने स्थानसम्म लग्नुपर्ने अन्यथा पुनः समस्या आउने जानकारी दिए ।

उत्पादन भएका सबै फोहरलाई अन्तिम व्यवस्थापन स्थानसम्म लैजाँदा छोटो समयमै उक्त स्थानहरु भरिने गरेका र धेरै पुनः प्रयोग गर्न मिल्ले फोहरजन्य सामग्रीको पनि प्रयोग हुन नसक्दा यस किसिमको व्यवस्था गर्न लागिएको हो । यस विषयमा सम्बन्धित वडाले नागरिकलाई जानकारी दिनेछ । जानकारीभन्दा फरक तरिकाले फोहर घरधनीले राखेमा उक्त घरको फोहरनै सङ्कलन नगर्ने चेतावनी महानगरपालिकाको छ ।

फोहरलाई स्रोतमा वर्गीकरण गरेर ल्याण्डफिलसाइटमा पु¥याउनुपर्ने फोहरको परिणाम घटाएर सम्भावित समस्या समाधानको बाटो खोजिएको विभागको भनाइ छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहबाट अहिले नुवाकोटको सिसडोलमा वर्गीकरणबिनाकै फोहरको व्यवस्थापन गरिँदै आएको छ ।

ककनीमा हाल दैनिक एक हजार मेट्रिक टन फोहर लगिने गरिन्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । सबैभन्दा बढी कामपाबाट दैनिक ५०० मेट्रिक टन फोहर विसर्ज हुने गरेको छ । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोल फोहरले भरिए पनि उक्त स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण भइरहेको छ ।

शहरवासीले निकालेको फोहोर वर्गीकरण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौँ– लोकसेवा आयोगले ७६८ जना शाखा अधिकृतको माग गरेको छ । आयोगले बुधबार निकालेको विज्ञापनअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी सो संख्यामा अधिकृतको माग गरिएको हो ।

जसअनुसार न्याय सेवा अप्राविधिकको लागि १३६ जना माग गरिएको छ भने महिला ३७, आदिवासी जनजाती ३०, मधेसी ३०, दलित ११, अपांग ६ र पिछडिएको बर्ग ५ जना माग गरिएको छ ।

यसैगरी प्रशासन, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदतर्फका विभिन्न सेवा तथा समूहमा खुलातर्फ २८३ जना अधिकृत माग गरिएको छ ।

यस्तै महिला ७७, आदिबासी जनजाती ६१, मधेसी ५१, दलित २०, अपाङ्ग ११ र पिछडिएको क्षेत्रबाट १० जना माग गरिएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस १५ गतेभित्र आवेदन दिनुपर्नेछ भने दोब्बर दस्तुर तिरेर पुस २२ गतेभित्र पनि आवेदन दिन सकिने आयोगले जनाएको छ । आवेदन अनलाइनमार्फत दिनुपर्नेछ ।

यसैबीच आयोगले ३१९ अधिकृत पदहरुको जेष्ठता र कार्यसम्पादन मूल्याङकनद्वारा बढूवा गर्नेगरी सूचना निकालेको छ । सम्भाव्य उम्मेदवारले पुस २९ भित्र दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।

 

लोकसेवा आयोगले माग्यो ७६८ जना अधिकृत (सूचनासहित)

वडा समाचारहरु