रेल आजै वा भोलि आउने झै भएको बहस सुनेर अचम्मित हुन्छु : राजदूत यान्छी

रेल आजै वा भोलि आउने झै भएको बहस सुनेर अचम्मित हुन्छु : राजदूत यान्छी

काठमाडौं – उत्तरी छिमेकी चीनबाट रेल ल्याउने विषयमा काठमाडौंमा भएको बहसले बेइजिङ अचम्मित बनेको छ। हिमाल छेडेर वा नघाएर रेल ल्याउने कार्य अहिलेसम्मकै जटिल भएकाले यसमा अध्ययन जारी रहेको उल्लेख गर्दै चीनले अवस्थामा आजै वा भोलि रेल आउने झै भएको बहसले आश्चर्यमा परेको जनाएको छ।

तत्काल रेल आउनेझैं भ्रमहरु बाहिर आइरहेको अवस्थामा चीनले केरूङबाट काठमाडौं रेल ल्याउन निकै कठिन हुने भन्दै यसमा अध्ययन भइरहेको औपचारिक धारणा बाहिर ल्याएको छ। यस्तो विषयमा सोच–विचार गरेर अघि बढ्न आवश्यक रहेको पनि चीनले प्रष्ट पारेको छ।

बालुवाटार स्थित चिनियाँ दूतावासमा विहिबार विहान पत्रकारसँग औपचारिक अन्तरक्रिया गर्दै चिनियाँ राजदूत होउ यान्छीले भनिन, ‘यस्तो भूगोल छ, जहाँबाट चिनियाँ रेल आज कुरा गरेर भोलि नै आउने विषय होइन। म पनि यहाँ भइरहेको बहस सुनेर अचम्मित हुन्छु।’

राजदूतको रुपमा जिम्मेवारी लिएर आएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै उनले भनिन, ‘रेलको विषयलाई यहाँ हल्का रुपमा हेरिएको छ। त्यस्तो होइन। साँच्चै भन्नुपर्दा यो संसारकै अप्ठेरो ठाउँमा रेल निर्माण गर्ने प्रसंग अघि बढेको छ। यसका लागि धेरै वैज्ञानिक अध्ययनहरू आवश्यक पर्छ।’

बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तराष्ट्रिय सम्मेलन, राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण र चीन–अमेरिका ब्यापार विवादको यथार्थ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यान््छीले भनिन, ‘चीनको रेल काठमाडौ आउने विषय आज छलफलमा आएर भोलि रेल आइहाल्ने होइन। यो एक एक खुड्किला चढ्दै हुने विषय हो। यस्ता आयोजनामा दीर्घकालीन हुन्छ। यसलाई समय धेरै लाग्छ।’

सामान्य आयोजना निर्माणमा पनि पूर्वसम्भाव्यता, त्यसपछि सम्भाव्यता अध्ययन गर्दै निर्माणको ढाँचा तयार गर्न आवश्यक हुने सन्दर्भ उल्लेख गर्दै उनले भनिन, ‘केरुङ काठमाडौं रेलको त बल्ल पूर्व सम्भाब्य अध्ययन सकिएको छ। सम्भाब्यता अध्ययनको बारेमा छलफल चलिरहेको छ। सम्भाब्य अध्धयन नै निकै खर्चिलो पाटो हुनाले यसको मोडलहरुबारे छलफल नै चलेको छ।’

सम्भावव्यताको अध्ययन सकिएपछि ढाँचा (मोडालिटस्) को चरणमा प्रवेश हुने र चौथो चरणमा निर्माणको कार्य अघि बढ्ने हुनाले यसमा आज र भोलि भनेजस्तो छलफल र बहसमा प्रवेश गर्न नचाहेको भन्दै यसले लामो समय लिने स्पष्ट पारिन। ‘बल्ल पूर्वसम्भाव्यता अध्ययन सकिएको छ। अब यसको सम्भाव्यता अध्ययन हुनेछ। त्यसका लागि नै निकै ठूलो रकम चाहिन्छ। रकम कसरी जुटाउने भन्नेमा नै छलफल चलिरहेको छ,’ उनले भनिन्।

रेल प्रसंग चलेपछि चिनियाँ कम्पनी फस्ट सर्वे एण्ड डिजाइन इन्स्टिच्युटले नेपालको रेल विभागसँग मिलेर केही महिनाअघि काठमाडौं–केरूङ रेलबारे पूर्वसम्भाव्यता अध्ययन सकेको हो। चीनले हिमाल छेडेर वा नघाएर रेल ल्याउन सक्ने बताइसकेको छ। तर त्यसको लागि अध्ययनले रसुवागढीबाट काठमाडौंको रिङरोड नजिक ७२ किलोमिटर रेलमार्ग निर्माणको लागि कम्तिमा नौ बर्ष लाग्ने र अधिकांश स्थानमा सुरुङ र पुल निर्माण गर्नुपर्ने उल्लेख गर्दै आएको छ।

अब यसको सम्भाब्य अध्ययनबारेमा छलफल भइरहेको पनि चीनले जनाएको छ। अध्ययनको खर्च चिनियाँ पक्षले व्यहोर्ने विषय र निर्माण ढाँचाबारेमा छलफल चलेको जानकारी दिइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण नेपालमा गणतन्त्र पछि बेइजिङको पहिलो यात्रा रहेकाले यो निकै महत्वपूर्ण भएको पनि राजदूत यान्छीले बताइन। गत महिनाको उक्त राजकीय चीन भ्रमणलाई उनले नेपाल–चीन सम्बन्धमा स्थायी विकासबारे नयाँ आयाम अघि बढ्ने पाटोको रुपमा ब्यख्या गरिन्। बीआरआई सम्मेलनमा ३८ मुलुकका राष्ट्र एवं सरकार प्रमुखको साथमा छिमेकी नेपालका राष्ट्रपतिले राखेको धारणा साच्चै सराहनीय रहेको र भएका सम्झौताले नेपाल–चीन सम्वन्धमा आयम थपेको पनि उनले बताइन।

हिमालय वारपार बुहआयामिक सम्पर्क संजालमा हस्ताक्षरले चिनियाँ रेल काठमाडौं आउने विषयमा अर्को एउटा कदम अघि बढेको उनले बताइन। ‘रेलमात्र होइन समग्र संजाल विस्तार चीनको धारणा हो भन्दै यसमा नेपालले दिएको साथलाई हामी सरहना गर्छौ’ उनले भनिन्।

उनले नेपाल ल्याउने भनिएको रेलबारे चीनको अनुदान हुने या नहुने विषयमा यो चरणमा अझै आपूmहरु नपुगेको र छलफल र प्रक्रियाहरु अघि बढिरहेको बताइन।

बीआरआईलाई ऋणको पासोको रुपमा ब्याख्या गर्नु गलत भएको उनले बताइन। उनले केही त्यस्ता मुलुकले आफ्ना सीमित आकांक्षा पूरा गर्न त्यस्तो धारणा बाहिर ल्याएको र हल्ला चलाएको पनि भनिन्।

यसमा संचारमाध्यमले एकपक्षीय कुरा सुनेर यस्तो विचार प्रस्तुत गरेको पनि बताइन। हामी सहकार्य गर्न अघि बढेका हौं कुनै नेतृत्व गर्न वा शक्तिशाली हुन होइन भन्दै उनले भनिन, ‘हाम्रो धारणा स्पष्ट छ। समान विकास, खुला र पारदर्शी सहकार्य।’

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु