राजधानी काठमाण्डौंको उत्तर पूर्वमा अवस्थित यस नगरपालिका वि.सं. २०७१ मार्ग १६ गते नेपाल सरकार मन्त्री परिषद्को निर्णयद्वारा गोठाटार, मूलपानी, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गा.वि.स.लाई मिलाएर गठन गरिएको थियो । यस नगरपालिकाको नामांकन साविक गागलफेदी गा.वि.स. हालको वडा नं १ मा अवस्थित ऐतिहासिक धार्मिक स्थल कागेश्वरी महादेवको मन्दिर र मनहरा नदीको नामले कागेश्वरी मनहरा रहन गएको हो।वि.सं.२०७३ फाल्गुन २२ गते नेपाल सरकार मन्त्री परिषद्को निर्णय अनुसार हाल यस नगरपालिकामा ९ वटा वडाहरु रहेका छन् । यस नगरपालिका उपत्यकाको अत्यन्तै उर्वर कृषि क्षेत्र भएको नगरपालिका हो । पूर्व तर्फको मनहरा फाँट र पश्चिम तर्फको बागमती फाँट कृषि उपज उत्पादनका लागि प्रसिद्ध छन्...