प्रहरीको गोली लागेर नेकपाका जिल्ला इन्चार्जको मृत्यु

प्रहरीको गोली लागेर नेकपाका जिल्ला इन्चार्जको मृत्यु

काठमाडौं । प्रहरीको गोली लागेर नेपाल कम्युनिस्ट पार्टीका एक जिल्ला इन्चार्जको मृत्यु भएको छ । प्रहरीले नेकपाका सर्लाहीको लालबन्दीमा इन्चार्ज कुमार पौडेलको हत्या गरेको हो ।

विहीबार दिउँसो लालबन्दी नगरपालिका-१ लखनदेही नदी नजिकै करिब २ बजेको समयमा नेकपाका कार्यकर्तामाथि प्रहरीले फायर गरेको थियो । आफ्ना नेता कार्यकर्तालाई पछ्याउदै गएको प्रहरीले एकाएक गोली चलाएको नेकपाले बताएको छ ।

दोहोरो भीडन्तको हवाला दिएर प्रहरीले आफ्ना जिल्ला इन्चार्ज पौडेलको हत्या गरेको नेकपाले संचारकेन्द्रलाई बतायो । नेकपाका एक नेताले दोहोरो भिडन्त नभएको र आफ्ना नेता-कार्यकर्तालाई प्रहरीले गोली हानेर हत्या गरेको बताएका छन् ।

तर यता प्रहरीले भने दोहोरो भिडन्त हुँदा एक जनाको मृत्यु भएको बताएको छ । गस्तीमा गएको प्रहरीमाथि नेकपाका कार्यकर्ताले गोली चलाएपछि जवाफी कारवाही गरिएको प्रहरीले बताएको छ । पौडेलसँग भएका अन्य फरार भएको प्रहरीले बताएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार लालबन्दी नगरपालिका-१ लखनदेवी खोलाछेउमा प्रहरी र विप्लव माओवादीबीच दोहोरो गोली हानाहान भएकै हो।

दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको पोखरेलले दावी गरेका छन्। गोली लागेर मृत्यु भएका पौडेलको साथबाट एक थान सिक्सर रिभल्वर, थ्रीनट थ्री राइफलका गोली र कटुवा पेस्तोल बरामद भएको समेत प्रवक्ता पोखरेलले दावी गरेका छन्।

नेकपा नेता कार्यकर्तालाई पछ्याउदै दुई नम्बर प्रदेश प्रहरी, विशेष ब्यूरो र ईलाका प्रहरी कार्यालय लालबन्दीको टोली गएको थियो। घटनाको कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ। घटनामा संलग्न अन्य तीन जना फरार रहेको प्रहरीले बताएको छ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु