१३ वर्षीय बालकको सुसाइड नोटः ‘बुवाआमाले मलाई माया गर्नुहुन्न’

१३ वर्षीय बालकको सुसाइड नोटः ‘बुवाआमाले मलाई माया गर्नुहुन्न’

धादिङको ज्वालामुखी गाउँपालिकाका १३ वर्षीय बालकको आत्महत्या रहस्यमय बनेको छ।

विद्यालयमा पढ्न गएर घर फर्कने क्रममा बाटोबाटै हराएका सुनिल परियारको शव मंगलबार घर नजिकैको जंगलमा पासो लागेको अवस्थामा भेटियो। जेठ २६ गते आइतबार दाजुभाइ विद्यालयबाट सँगै घर फर्केका थिए। घर नजिकै चौतारामा पुगेपछि भाइलाई घर पठाएर सुनिल त्यहीँ बसेका थिए।

स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत सुनिलको शव भेटिएको ठाउँमा उनले भाइलाई सम्बोधन गरेर लेखिएको पत्र भेटिएको छ। ‘उनको कापीमा लेखिएको एउटा नोट भेटिएको छ हामी त्यसको अनुसन्धान गर्दैछौं’ धादिङका प्रहरी नायब उपरीक्षक राजकुमार वैदवारले भने।

स्कुल ड्रेसको सर्टलाई पासो बनाएर झुण्डिएको अवस्थामा भेटिएका सुनिलले कापीमा रातो मसीले भाइलाई सम्बोधन गरेर लेखेको पत्रमा भनिएको छ, ‘भाइ तिमीलाई बुवाआमाले माया गर्नुहुन्छ, मलाई माया गर्नुहुन्न र पिट्नुहुन्छ त्यसैले तिमी बुवाआमा सँगै बस्नु म मर्छु।’

३ दिनदेखि हराइरहेका छोराको शव भेटिएपछि बुवाआमा भने बेहोस भएका थिए। बुवाआमा दुवैको होस खुले पनि निकै कमजोर देखिएपछि जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।

पढाइ राम्रै रहे पनि आर्थिक रूपमा कमजोर भएका कारण उनका कतिपय आवश्यकता पूरा गर्न असमर्थ हुँदा अभिभावकले छोरालाई गाली गरेको हुन सक्ने छिमेकीहरू बताउँछन्।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु