डिपेन्डेन्टमा अष्ट्रेलिया लैजान्छु भनेर लाखौं ठग्ने युवती प्रहरीको फन्दामा

डिपेन्डेन्टमा अष्ट्रेलिया लैजान्छु भनेर लाखौं ठग्ने युवती प्रहरीको फन्दामा

काठमाडौं– डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भन्दै लाखौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अष्ट्रेलियाको पीआर होल्डर हुँ भन्ने नयाँ बानेश्वरकी २३ वर्षीया रेजिना अधिकारी र सिन्धुलीका गणेश भनिने अरविन स्याङ्वो छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले बताए । उनका अनुसार स्याङ्वो एसियन इन्टरनेश्नल कन्सल्टेन्सीका एकडेमिक डाइरेक्टर हुन् ।

थापाका अनुसार अधिकारीले माकलवारीका अमित श्रेष्ठसँग कोर्ट म्यारिज गरेर अष्ट्रेलिया लैजाने प्रलोभन देखाएकी थिइन् । तर, ४ लाख ५० हजार रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन भएको प्रहरीमा उजुरी परेको छ ।

विस्तृत अनुसन्धानका क्रममा उनलाई कन्सल्टेन्सी सञ्चालक स्याङ्वोले प्रयोग गरेको खुलेको थियो । यसअघि उनीहरुबाट चाँगुनारायणका सागर धमला समेत ठगिएका थिए । प्रहरीका अनुसार धमलाको १३ लाख ४७ हजार रुपैयाँ ठगी भएको थियो ।

पक्राउ परेका दुवै जनाविरुद्ध ठगी मद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको महाशाखाका प्रवक्ता एसपी केदार ढकाल बताउँछन् । ढकालले सोही प्रकृतिको घटना पुनः दोहोरिन सक्ने सम्भावना रहेकाले समयमै सजग हुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु