श्रृंखलाबद्ध बम विष्फोटः सुरु भयो सामुहिक अन्त्येष्टि, शोकमा डुब्यो सिंगो देश

श्रृंखलाबद्ध बम विष्फोटः सुरु भयो सामुहिक अन्त्येष्टि, शोकमा डुब्यो सिंगो देश

एजेन्सी– श्रीलंकामा आइतबार भएको श्रृंखलाबद्ध बम विष्फोटमा परेर ज्यान गुमाएकाहरुको सामुहिक अन्त्येष्टि सुरु गरिएको छ । मंगलबारदेखि सामुहिक अन्त्येष्टि पहिलो चरण सुरु भएको हो ।

श्रृंखलाबद्ध आठवटा विष्फोटमा परेर मृत्यु हुनेहरुको संख्या ३ सय १० पुगेको छ भने ५ सय भन्दा बढी घाइते भएका छन् । सामुहिक अन्त्येष्टि सुरु भएपछि सिंगो श्रीलंका शोकमा डुबेको छ । सो घटनाको मंगलबार इस्लामिक स्टेटले जिम्मेवारी लिइसकेको छ ।

घटनाको दुईदिनपछि इस्लामिक स्टेटले आफ्नो आधिकारिक समाचार संस्थामार्फत घटनाको जिम्मेवारी लिएको हो। सो संगठनको आधिकारिक समाचारसंस्था अमाकले घटनाको जिम्मेवारी लिएको अन्तर्राष्ट्रिय सञ्चारमाधयामहरुले जनाएका छन् ।

श्रीलंका सरकार प्रवक्ताले घटनाका पछि अन्तर्राष्ट्रिय आतंकवादी समूहको हात रहेको बताएका थिए। प्रहरीले घटनामा संलग्न भएको आरोपमा २४ जनालाई पक्राउ गरेको थियो।

यसअघि श्रीलंका सरकारका प्रवक्ताले घटनामा अन्तर्राष्ट्रिय आतंकवादी समूहको हात रहेको दाबी गरेका थिए भने स्वास्थ्य मन्त्री रजिथा सेनारत्नेले स्थानीय अतिवादी इस्लामिक समूह विस्फोटनमा जिम्मेबार रहेको बताएका थिए । त्यस्तै राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्धारा सोमबार संकटकाल घोषणा गरेको थियो ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब छ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरमा बिस्फोट हुँदा इसाई धर्मावलम्बी इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु