फेरिएन स्थानीय सरकारको पारा,विद्यालयको सम्पत्तिमा वडाध्यक्षको आँखा

फेरिएन स्थानीय सरकारको पारा,विद्यालयको सम्पत्तिमा वडाध्यक्षको आँखा

काठमाडौं – गोकर्णेश्वर नगरपालिका ६ का वडाध्यक्ष रमेश अर्यालले गैरकानुनी रूपमा विद्यालय कब्जा गरेको स्थानीयले आरोप लगाएका छन् ।

गोनपा ६ जोरपाटीस्थित बुद्ध एकेडेमी आवासीय माविलाई वडाध्यक्षले नै कब्जा गरी सञ्चालन गरिरहेको स्थानीयको आरोप छ । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष भ्रष्टाचार मुद्दामा परेपछि रिक्त समितिमा वडाध्यक्षले नयाँ कार्यसमिति चयन गर्नुका साटो आफैं अध्यक्ष बनेको घोषणा गरेका छन् । अध्यक्ष अर्यालको मनोमानीले आफ्ना मान्छे भर्ती केन्द्रका रूपमा विद्यालयको प्रयोग गरेका छन् । २०३६ सालदेखि चल्दै आएको विद्यालयलाई विभिन्न विदेशी दाताको सहयोगबाट सञ्चालन हुँदै आएको छ । विद्यालयमा सहयोग आउने क्रम केही समयदेखि बन्द छ । विद्यालय व्यवस्थापन समिति पूर्वअध्यक्षहरू भ्रष्टाचारमा मुछिएपछि दाताले सहयोग गर्न छाडेका हुन् । तर, वडाध्यक्ष अर्यालले विद्यालयमा भएको ढुकुटी रित्याउने खेल स्वरूप आफ्ना मान्छे भर्ती गर्ने थलो बनाएको स्थानीयको आरोप छ । उनी अध्यक्षमा आएदेखि करिब ८ बढी कर्मचारी थप्ने कामसमेत गरेको पाइएको छ ।

करिब ३ सय विद्यार्थी अध्ययनरत विद्यालयमा विद्यार्थीका माग र समस्या सम्बोधन गर्नुको साटो नयाँ कर्मचारी थप्ने र विद्यालयमा भएको ढुकुटीलाई रित्याउने खेल गरेको समेत आरोप लागेको छ । स्रोतका अनुसार अध्यक्ष अर्याल, प्रिन्सिपल निर्मलबहादुर तामाङ र लेखापाल गोविन्दप्रसाद पौड्याल मिलेर विद्यालयमा कहिल्यै बैठक नगर्ने, गरे पनि होटेलतिरै गर्ने समस्या छ । स्कुलका निर्देशकलाई समेत बाइपास गर्ने, कर्मचारी र विद्यार्थीका समस्यालाई बेवास्ता गर्दै आफूखुसी मिटिङ गर्ने प्रवृत्तिले विद्यार्थीहरूको भविष्य अन्योलमा जाने भन्दै विद्यालय व्यवस्थापन समितिलाई स्थाई रूप दिनसमेत स्थानीयले माग गरेका छन् । विगतका दिनमा समेत आर्थिक रूपमा पारदर्शी नभएको र सहयोगी दातालाई पनि खातामा हाल्न नलगाई नगर्दै लिने गरेको, कति रकम आएको भन्ने जानकारी नहुने र अडिट गर्दा पनि बढी रकम आएको स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार वडाध्यक्ष अर्यालले विद्यालयमा शिक्षक तथा कर्मचारीलाई मेरो पहुँच गृहमन्त्री, शिक्षामन्त्री सम्मै छ भन्दै अप्रत्यक्ष रूपमा समेत दम्भ देखाउने गरेका छन् । शिक्षा ऐन नियामावलीले गरेको व्यवस्थामा वडाध्यक्ष स्वयं नभई उसले तोकेको व्यक्ति हुनुपर्ने प्रावधान छ । यसलाई लत्याउँदै उनी अध्यक्ष भएर सञ्चालन गरेको पाइएको हो ।


कक्षा १२ सम्म अध्ययन हुने बुद्ध एकेडेमी अखिल नेपाल हिमाली बौद्ध संघद्वारा सञ्चालित छ । गरिब, पिछाडिएका वर्ग, अनाथ, फरक क्षमताका विद्यार्थी पढाउने भन्दै एकेडेमीले विदेशी दातासँग सहयोग लिँदै आएको छ । दाताले सहयोग गर्ने हुँदा एकेडेमीमा पढ्ने विद्यार्थीले कुनै पनि शुल्क बुझाउनुपर्दैन । विद्यालय आर्थिक रूपमा बलियो भए पनि विभिन्न व्यक्तिका दाउपेच र आर्थिक अनियमितताका कारण एकेडेमी भने समस्याग्रस्त बन्ने अवस्थामा पुगेको छ । विद्यालयको चल–अचल सम्पत्ति करिब २ अर्ब रहेको देखेपछि वडाध्यक्ष अर्यालयको आँखा विद्यालयलाई राम्रोसँग चलाउने नभई सम्पत्तिमा पर्न जाँदा यस्तो समस्या खडा हुँदै गएको स्रोत बताउँछ

तर, वडाध्यक्ष अर्याल भने नगरपालिकाले बनाएको शिक्षा नियमावलीबमोजिम र नगरपालिकाको संयोजनमा अस्थायी संयोजक बसेको बताएका छन् । उनले आफ्नो कामलाई आँच पुर्‍याउने र कपोकल्पित ढंगबाट आफूलाई आरोप लगाइएको बताएका छन् । उनले भने, ‘केही मान्छेहरूले मेरो चरित्रहत्या गर्न यस्ता खालका निराधार आरोप लगाएका छन् यो सरासर झुटो हो ।’
पूर्वअध्यक्षको मुद्दा अख्तियारमा भएकाले विद्यालय जोगाउन कर्तव्य सम्झेर आफूले अस्थायी रूपमा काम गरेको बताए । उनले भोलि अख्तियारको फैसलाअनुरूप त्यसको व्यवस्थापन गर्नुपर्ने भएकाले अन्यथा लिन नहुने बताउँछन् ।
अध्यक्ष अर्यालका अनुसार केही विद्यार्थीको राजनीति गर्ने प्रवृत्तिले स्कुलमै बैठक बस्ने वातावरण नबनेको बताए । उनले भने, ‘एक/दुईपटक बाहिर बैठक बसेकै हौं ।’ उनले आफूलाई अनियमितता गर्‍यो भनेर आरोप लगाइएको प्रमाण लिएर आए आफूजस्तो सुकै कारबाही भोग्न तयार रहेको बताए । स्थानीयले उनी आएदेखि ८ शिक्षक भर्ती केन्द्रका रूपमा प्रयोग गरेको भन्ने सन्दर्भमा अर्यालले आफूहरूले कोही शिक्षक, कर्मचारी नराखेको दाबी गरे । ‘यदि राखेको भनेर प्रमाण दिए सम्पूर्ण तलब आफैं व्यबहोर्थें,’ उनले भने । उनले विद्यालयलाई लथालिंग हुनबाट बचाउन गरेको प्रयासमा नचाहिने लान्छना लगाउने काम भएको बताए ।

तर, गोकर्णेश्वर नगरपालिका विद्यालय व्यवस्थापन समितिको गठन, काम कर्तव्य, अधिकार, बैठक र विद्यालयको खाता सञ्चालनसम्बन्धी बनेको कार्यविधि २०७५ मा भने वडाध्यक्ष कुनै पनि पदमा आसिन हुन नपाउने स्पष्ट व्यवस्था गरेको छ ।

यस्तो छ नियम
परिच्छेद – २
(१) सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न प्रत्येक सामुदायिक विद्यालयमा देहायबमोजिमका एक विद्यालय व्यवस्थापन समिति रहनेछ ः
(क) अभिभावकले आफूहरूमध्येबाट छानी पठाएका दुई महिलासहित ४ – सदस्य
(ख) नगरपालिकाको सम्बन्धित वडाध्यक्ष वा वडासमितिका सदस्यहरू मध्येबाट सो वडा समितिले मनोनित गरेको एकजना सदस्य
(ग) विद्यालयका संस्थापक, स्थानीय बुद्घिजीवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर सहयोग गर्ने व्यक्तिहरूमध्येबाट विद्यालय व्यवस्थापन समितिले मनोनीत गरेको एकजना महिलासहित दुईजना – सदस्य
(घ) सम्बन्धित विद्यालयको शिक्षकहरूले आफुहरूमध्येबाट छानी पठाएको एकजना सदस्य
(ङ) सम्बन्धित विद्यालयको शिक्षक/अभिभावक संघको अध्यक्ष – सदस्य
(च) माध्यमिक विद्यालयको हकमा शिक्षा अधिकृत/स्रोतव्यक्ति –सदस्य
(छ) विद्यालय स्तरीय बाल क्लबले मनोनयन गरेका एक बालक र एकजना बालिका गरी २ जना – आमन्त्रित सदस्य
(झ) प्रधानाध्यापक – सदस्य–सचिव
(३) विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले नियम २ (१) को उपनियम (क), (ख), (ग) र (घ) बमोजिमका सदस्यहरूमध्येबाट छानेको सदस्य सो समितिको अध्यक्ष हुनेछ । तर (ख) र (घ) बमोजिम को पदाधिकारी सो समितिको अध्यक्ष हुन पाउने छैन । अन्य सदस्यहरूको विद्यालय व्यवस्थापन समिति अध्यक्ष छनोटमा कुनै सहभागिता हुनेछैन । प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनोटका लागि संयोजनकारी भूमिका निर्वाह गर्नुपर्नेछ ।
(४) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनोट नभएसम्मका लागि सो समितिको २ (१) को उपनियम (क) र (ग) बमोजिमको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(५) विशेष शिक्षा सञ्चालन गर्ने विद्यालयको हकमा विद्यालय व्यवस्थापन समितिमा नियम २ (१) को उपनियम (क) र (ग) बमोजिमका सदस्यहरू कम्तीमा ५० प्रतिशत सदस्यहरू अपांगता भएका विद्यार्थीको अभिभावक र समावेशी शिक्षा वा स्रोतकक्षा सञ्चालन गर्ने विद्यालय व्यवस्थापन समितिमा कम्तीमा एकजना अपांगता भएका व्यक्ति सदस्य रहनेछन् ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडा ६ का अध्यक्ष रमेश अर्याल छन् भने सदस्यमा वडा ५ का अध्यक्ष नारायण बहादुर सुवेदी सहितको कमिटि रहेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु