खेलकुदमा यस्तो रह्यो २०७५

खेलकुदमा यस्तो रह्यो २०७५

वर्ष २०७५ नेपाली फुटबलका लागि चलायमान वर्ष रह्यो। यसैवर्ष भएको एसियाली खेलकुद, आठौं राष्ट्रिय खेलकुद, साफ फुटबल, क्रिकेट शृंखला, ए डिभिजन लिग, ओलम्पिक छनोट तथा अन्य खेलकुद गतिविधिले नेपाली खेलकुदलाई तरंगित पारिरह्यो।

केही प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गरेको नेपाली खेलकुदले धेरै प्रतियोगितामा भने निराशामात्रै दियो। वर्ष २०७५ नेपाली खेलकुदका लागि निम्न कारणले स्मरण योग्य रह्यो।

१. एसियाडमा प्याराग्लाइडिङको पदक
भदौ पहिलो साता एसियाडमा प्याराग्लाइडिङले नेपाललाई ऐतिहासिक रजत पदक दिलायो। नेपाली प्याराग्लाइडिङ टोलीले जापानसँग २७ अंकले मात्रै पछि पर्दै नेपालले रजतमा चित्त बुझाएको हो। नेपालले एसियाडमा २९ खेल समावेश गराएको थियो तर पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङले मात्रै नेपाललाई पदक विहीन हुनबाट जोगायो।

२. विश्व च्याम्पियन महेश्वर
विश्व शारिरिक सुगठन तथा फिलिज स्पोटर््स च्याम्पियनसिपमा पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्दै महेश्वर महर्जनले नेपाली शीर ठाडो पारेका थिए। मंसिर अन्त्यमा थाइल्याण्डमा सम्पन्न उक्त प्रतियोगितामार्फत शारिरिक सुगठनको इतिहासमा नेपालले हात पारेको त्यो सबैभन्दा ठूलो सफलता समेत हो।

३. एथ्लेटिक्समा अजितको स्वर्ण
हङकङमा अघिल्लो महिना सम्पन्न एसीयाली यूथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले ऐतिहासिक स्वर्ण जिते। तीन हजार मिटरको प्रतिस्पर्धामा अजितले निर्धारित दूरी ८ मिनेट ३० दशमलव ३२ सेकेन्डमा पार गरेर स्वर्ण जतेका थिए। एसियाली स्तरको एथ्लेटिक्समा नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो।

४. क्रिकेटमा ऐतिहासिक शृंखला
माघमा यूएईविरुद्ध भएको एकदिवसीय र टि–२० क्रिकेट शृंखला नेपालले समान २–१ अन्तरले जितेको थियो। जुन नेपाली क्रिकेटमा हात पारेको सबैभन्दा ठूलो उपलब्धि हो। सोही शृंखलामा नेपाली टोलीका कप्तान पारस खड्का एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत बनेका थिए। त्यसअघि यसैवर्ष साउनमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिलो एकदिवसीय शृंखला खेलेको थियो। उक्त शृंखला १–१ को बराबरीमा टुंग्गिएको थियो।

५. चलायमान फुटबल
बैशाख अन्तिम साता अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएपछि नेपाली फुटबल चलाएमान बन्यो। चुनावी साधारण सभाबाट उनको प्यानल पूरै निर्वाचित भएको थियो।

नयाँ कार्यसमितीले यसैवर्ष चारवर्ष सम्म हुन नसकेको ए डिभिजन लिग पनि सम्पन्न भयो। गत असोजबाट सुरु भएको लिगको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जित्दै कीर्तिमान रच्यो। यसपटकसहित मनाङले आठौं पटक ए डिभिजन लिगको उपाधि जितेको थियो। यस्तै बी र सी डिभिजनसमेत सम्पन्न भइसकेका छन्।

यस्तै एन्फाले नेपाली फुटबलको नयाँ प्रशिक्षकमा स्विडिस प्रशिक्षक योहान कालिनलाई नियुक्त ग¥यो। उनको नेतृत्वमा नेपालले अघिल्लो महिना कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्दा एकमा जित र एकमा बराबरी खेलेको थियो।

यस्तै यसैवर्ष नेपालले पुरुष र महिला दक्षिण एसियाली फुटबल(साफ)मा सहभागिता जनायो। पुरुष टोली सेमिफाइनलमा घरेलु मैदानमा भएको महिला साफमा भने नेपाल उपविजेता बनेको थियो। महिला टोलीले यसैवर्ष पहिलोपटक ओलम्पिक छनोटको दोस्रो चरणसम्म खेलेको थियो भने भारतमा भएको हिरो गोल्डकपमा पहिलो पटक भारतलाई समेत पराजित गरेको थियो।

६. चर्चामा सन्दीप
यसवर्ष भरि नै नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछाने चर्चामा रहे। यसैवर्ष उनले इण्डियन प्रिमियर लिगमा डेब्यू गरेका थिए। त्यसपछि विश्वका विभिन्न ७ फ्रेन्चाइजी लिग खेल्दै सन्दीप सधैँ चर्चामा रहिरहे।

७. महिला क्रिकेटको आशा
नेपाली महिला क्रिकेटरहरु यस वर्ष थाइल्याण्डमा सम्पन्न महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिता र टि–२० र एकदिवसीय विश्वकपको एसियाली छनोटमा उपविजेता बने। उक्त प्रतियोगितापछि नेपालमा दुईवटा महिला घरेलु फ्रेन्चाइजी लिग पहिलो पटक घोषणा भए। आगामी जेठमा हुने प्रतियोगिताले नेपाली महिला क्रिकेटको स्तर माथि उठ्ने विश्वास लिइएको छ।

८. अमेरिकामा प्रतिमाको स्विङ
नेपाली महिला गल्फर प्रतिमा चैत्रमा नै अमेरिकामा व्यवसायिक गल्फ प्रतियोगिता खेल्दै त्यहाँ गल्फ खेल्ने पहिलो नेपाली खेलाडी बनिन्। त्योसँगै बैशाखमा उनले विश्वका सर्वकालिन महान गल्फ खेलाडी टाइगर विड्सलाई भेटेको खबर पनि चर्चामा रह्यो।

९. जसलाई गुमायो
बैशाखमा नेपालले नेपाली राष्ट्रिय फुटबल टोलीका लिजेन्ड पूर्व खेलाडी मणीविक्रम शाहलाई गुमायो। लामो समयदेखि कलेजोको समस्याबाट ग्रसित शाहको ५१ वर्षे उनमा उपचारका क्रममा निधन भएको थियो।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु