बारा-पर्सामा आएको हुरीबाट कृषि र पशुपन्छीमा ५१ करोड क्षति

बारा-पर्सामा आएको हुरीबाट कृषि र पशुपन्छीमा ५१ करोड क्षति

काठमाडौं – बारा र पर्सामा आएको हुरीबाट कृषि र पशुपन्छी क्षेत्रमा करिब ५१ करोड क्षति भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार कृषि र पशुपन्छी क्षेत्रमा ५० करोड ७९ लाख ३२ हजार सात सय रुपैयाँ क्षति भएको छ।

मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ तथा उपसचिव गंगा आचार्यले चैत १७ गते आएको हुरीबाट कृषितर्फ ५० करोड तीन लाख ४९ हजार सात सय र पशुपन्छीतर्फ ७५ लाख ८३ हजार रुपैयाँबराबरको क्षति भएको हो। क्षतिको अध्ययन गर्न स्थानीय कृषि ज्ञान केन्द्रलाई परिचालन गरिएको थियो। हुरीका कारण सयौं बासिन्दाको कृषि र पशुपन्छी पेसा नै गुमेको छ।

हुरीबाट बारा र पर्साका १० वटा स्थानीय तहका २२ वटा वडामा क्षति भएको थियो। यसअनुसार बाराको कलैया उपमहानगरपालिका वडा १२ र १८, फेटा गाउँपालिकाका वडा १, ६ र ७, सुवर्ण गाउँपालिकाका वडा १, ४, ५ र ८, प्रसौंनी गाउँपालिकाको वडा ४ र महागढीमाई नगरपालिका वडा ७ मा ठूलो क्षति पुगेको छन। यसैगरी देवताल गाउँपालिको वडा ७, पचरौंता नगरपालिका वडा २ र ७ र परवानीपुर गाउँपालिका वडा ४ का किसानले कृषि तथा पशुपन्छीतर्फ क्षति व्यहोरेका छन्। यस्तै पर्साको वीरगन्ज महानगरपालिका वडा १८ र २२ तथा वौद्दारमाई नगरपालिकाको वडा ४मा क्षति भएको छ।।

मन्त्रालयको प्रतिवेदनअनुसार हुरीबाट बारामा ९ सय ३६ घर र पर्सामा एक सय २२ घर गरी एक हजार पाँच सय ५८ घर पूर्णरूपमा क्षति भएको छ। यस्तै बारामा ९ सय ५५ र पर्सामा तीन सय ८७ वटा घरमा आंशिक क्षति भएको छ। हुरीका कारण ११ जना महिला, १० पुरुष र ६ जना बालबालिकाले ज्यान गुमाएका थिए।

बारा र पर्सामा गरी चार हजार पाँच सय ५२ हेक्टरको बाली (गहुँ, मकै, दाल, तरकारी र फलफूल) मा क्षति पुगेको छ। यसमध्ये एक हजार चार सय ३५ हेक्टरको पूर्णरूपमा र तीन हजार एक सय १६ हेक्टरको बालीमा आंशिक क्षति भएको छ। बारामा एक हजार ९६ हेक्टरको बाली र पर्साको तीन सय ३९ हेक्टरको बाली नष्ट भएको छ। आंशिक रूपमा बारातर्फ एक हजार सात सय २८ हेक्टर र पर्सातर्फ एक हजार तीन सय ८८ हेक्टरको बाली नष्ट भएको छ।

मन्त्रालयले पीडितलाई पुनर्स्थापना गर्न प्रदेश सरकारको सहयोगमा राहत उपलब्ध गराउन गृहकार्य गरिरहेको उपसचिव आचार्यले जानकारी दिए। आजको अन्नपूर्ण पोष्टले समाचार छापेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु