सफलताको कडी आत्मबल

सफलताको कडी आत्मबल

सफल व्यक्तित्व बन्न लगातारको मिहिनेत परिश्रम र संघर्ष चाहिन्छ । त्यस्तै मिहिनेत र संघर्ष गर्दै आज नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा आसिन छन् विजयकुमार श्रेष्ठ ।

उनी काठमाडौंको गोकर्णेश्वर नगरपालिका जोरपाटी २ (साबिक नयाँपाटी ४) मा श्यामकृष्ण र आमा लक्ष्मीको कोखबाट २०३४ सालमा जन्मलिएका हुन् । चुच्चेपाटीको भृकुटी माविमा करिब ५ वर्ष अध्ययन गरे । पछि बालसुधार माविबाट ०५० मा एसएलसी उत्तीर्ण गरे । ०५१/५२ मा नेपाल कमर्स क्याम्पस मीनभवनमा प्रमाणपत्र तह (आईकम) भर्ना भए । ०५३ मा शंकरदेवमा स्नातक तह (बीबीएस) को अध्ययन आरम्भ गरे । उनले स्नातकको अध्ययन ०५६ मा सके । विस्तारै व्यवस्थापन पढेकाले जागिरतिर ध्यान गयो । पढाइकै सिलसिलामा उनले अशोका कारोबारमा जागिर थाले । करिब ४ वर्ष त्यहाँ जागिर गरेपछि उनलाई लाग्यो आफ्नै व्यवसाय सुरु गरौं । त्यसपछि उनले कपडाको व्यापार थाले । केही समयपछि भाँडा पसलतर्फ उनको आकर्षण बढ्यो । अनि उनले भाँडा पसल थाले । त्यतिबेला (२०५४ मा) नयाँपाटी बचत तथा ऋण सहकारी स्थापना भएको थियो । त्यसैक्रममा ०६० मा लेखा समिति सदस्य भएर काम गरे । २ वर्षे कार्यकालपछि लेखा संयोजक भए । अर्को कार्यकालमा संस्थाको कोषाध्यक्ष भएर लामो समय काम गरे । जिम्मेवारी बढ्दै गयो, नीति नियम, बजेट तर्जुमा गराउनेमै उनी व्यस्त बने । ०७१ तिर उपाध्यक्ष भए । ऋण समिति संयोजक भएर काम गरे र ०७३ मा अध्यक्षको जिम्मेवारी पाए ।

उनी सहकारीमा अध्यक्ष भएर आउँदा विभिन्न समस्या थिए । ती समस्या र चुनौती पार लगाउँदै त्यस क्षेत्रको बैंककै रुपमा परिणत गराउन सफल भएका छन् । करिब ३ सय सेयर सदस्यबाट सुरु भएको सहकारीमा अहिले झन्डै २७ सय सदस्य पुगेका छन् । उनको आत्मबल र निरन्तर संघर्षले नयाँपाटीलाई नयाँ उचाइमा पुर्‍याउन सफल भएका छन् । हिजोको सञ्चालकले अन्य सेयर सदस्यहरूलाई समावेश नगर्ने र सय–पचासजनाकै एकाधिकार अन्त्य गरी समुदायमा समावेश गर्दा लघुवित्तमा लान पनि सफल भए । अध्यक्षमा आइसकेपछि उनले नयाँ प्रविधि ल्याउँदै सफ्टवेयरलाई उच्च प्रयोगमा ल्याए । स्मार्ट बैंकिङको सुरुवात, मनी ट्रान्सफर गर्ने बिल तिर्ने, हवाई टिकट गर्ने सहकारी सदस्यहरूबीच मोबाइलबाट मनी ट्रान्सफर गर्ने एप, एटीएम मेसिन, कार्डलगायत कार्य सुचारु गरेका छन् ।

जसलाई चैत १६ मा संस्थाको स्थापना दिवसको अवसरमा उद्घाटन गर्ने योजना बनाएका छन् । जनताको माग र चाप मध्यनजर गर्दै केही समयपछि जोरपाटी, साँखु र थलीमा शाखा कार्यालय खोल्ने योजनामा उनी छन् ।
यो स्थानसम्म आइपुग्दा उनमा विभिन्न आरोह–अवरोह आए । त्यसलाई सामना गर्दै निरन्तर संघर्ष गरे । श्रेष्ठले सामाजिक काम गर्ने संस्था र क्लबहरूमा समेत आबद्ध भएर काम गरे । तत्कालीन समयमा ध्रुवतारा युवा क्लबमा सचिव, युवा जनजागरणको संस्थापक सचिवका रूपमा काम गरे, क्लबमै रहँदा विभिन्न विद्यालयका विद्यार्थीलाई उद्घोषण कक्षा दिने, रक्तदान दिने, धार्मिक कार्यका मठ मन्दिर बनाउन चन्दा दिने र उठाउने कार्यमा सक्रिय बने ।

नेपाली युवाहरू बिदेसिने क्रमले श्रेष्ठको मन दुखाइ छ । भन्छन्– ‘स्वदेशमै काम गर्न चाहे धेरै बाटा छन् पैसा यहि कमाउन सकिन्छ, त्यसका लागि आत्मबल प्रमुख कडी हो । अरूको दास भएरभन्दा आफ्नै व्यवसाय गरी रमाउनुपर्छ । अरूको देशमा गएर जे पनि गर्न तयार हुन्छौं हामी आफ्नै देशमा काम गर्न झने लाज मान्छौं । त्यसले न व्यक्तिको विकास हुन्छ न देशकै ।’ बिदेसिने त्रमलाई रोक्न सरकार र सम्बद्ध पक्ष लाग्नुपर्नेमा श्रेष्ठको जोड छ ।

श्रेष्ठको गुनासो सरकारसँग पनि छ । हामी सहकारी समुदायप्रति समर्पित छौं । समुदायबाट पैसा उठाउँछौं र समुदायमै बाँड्छौं । जनताप्रति उत्तरदायी छौं । सरकारले भन्नेबेला ३ खम्बे अर्थनिति भन्ने तर सरकारको हात थाप्ने मात्र भयो । सहकारी र सहकारीमा पिडामा भने सरकार कहिल्यै संवेदनशील भएन । यदि सरकारले कुनै अनुदान र अनुगमन हुदैन भने ट्याक्स तिर्नुको अर्थ के ? आर्थिक विधेयकमा २० ट्याक्सको व्यवस्था छ तर सहकारी ऐनमा नगरपालिमाभित्रको सहकारीलाई १० प्रतिशत भनेर राखे पनि आर्थिक विधेयकमा नभएसम्म सहकारी ऐनमा भएर नहुँदो रहेछ त्यसैले त्यो आर्थिक विधेयकमा समेत परिवर्तन गरी सरकार जानुपर्नेमा अध्यक्ष श्रेष्ठको सुझाव छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु