अमेरिकाको टेक्ससबाट एनआरएनएमा २२ जनाको उम्मेदवारी

अमेरिकाको टेक्ससबाट एनआरएनएमा २२ जनाको उम्मेदवारी

अमेरिका– पछिल्लो समय अमेरिकामा रहेका नेपाली सङ्घ संस्थामा आफ्नो दबदबा बनाउन अग्रसर टेक्सस राज्यबाट एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि सबै भन्दा बढी उम्मेदवार मैदानमा देखिएका छन् । निर्वाचन हुन अझै दुई महिना बाकी भए पनि टेक्ससमा समूह–समूहका चरणवद्ध बैठकहरू चलिरहेका छन् । नौ पदमा प्रतिस्पर्धा गर्न टेक्ससबाट २२ जनाले उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । यो सङ्ख्या अझै बढ्दै जाने देखिन्छ ।

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा ६ जनाले अध्यक्षमा दाबी गरिरहेका छन् । जसमध्ये टेक्ससबाट चार जना अध्यक्षका दाबेदार रहेका छन् । वरिष्ठ उपाध्यक्ष सुनिल शाह, प्रवक्ता विनोद कुमार तिवारी र बोर्डअफ डाइरेक्टर अर्जुन बनजाडेले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । टेक्सस निवासी बोर्ड अफ डाइरेक्टर कृष्ण लामिछाने पनि अध्यक्षका आकाङ्क्षी हुन् । अध्यक्षका यी चार प्रतिस्पर्धीलाई मिलाएर एक जनालाई अगाडि बढाउन टेक्सस भित्रैबाट कसैले पहल गरेको देखिँदैन ।

अध्यक्षका प्रत्यासी वरिष्ठ उपाध्यक्ष सुनिल साह एनआरएनए अमेरिकामा केही काम गर्छु, सेवाका लागि तयार छु भनेर धेरै जनाले चाहाना गरेर उम्मेदवारी दिनु संस्थाका लागि राम्रो भएको बताउँछन् । शाह भन्छन् “सबै जना मिलेर अगाडि जान सक्दा राम्रो हो । टाउको मिलेमा तलसम्म मिलाउन सजिलो हुन्छ । सहमति भएन भने निर्वाचनले दिने परिणामलाई सबैले सहज रूपमा स्वीकार गर्नसक्नु पर्छ ।”

अध्यक्षका अर्का उम्मेदवार डाक्टर अर्जुन बन्जाडे भन्छन् “कहिलेकाहीँ भेटघाट हुँदा र फोनमा अध्यक्षको दाबी गरिरहेका हामीहरू बिचमा मिलेर जाऔँ भन्ने कुरा त हुने गरेको छ । तर कसैले मिलाउने ठोस प्रयास गरिरहेको थाहा छैन ।” अध्यक्षका अर्का उम्मेदवार एनआरएनए अमेरिकाका प्रवक्ता विनोद कुमार तिवारी टेक्ससबाटै चार जना आपसमा प्रतिस्पर्धा गर्नु भन्दा मिल्नु राम्रो हुने बताउँछन् । मिलाउन तिर प्रयास गर्ने भन्दा अध्यक्षमा धेरै जनालाई भिडाएर वाकी महत्त्वपूर्ण पदहरूमा आफ्ना मान्छेहरूलाई जिताउने चलखेल टेक्सस भित्र भइरहेको तिवारीको बुझाई छ । तिवारी भन्छन् “मिलाउने भन्दा पनि धेरै उम्मेदवार खडा गर्ने र महत्त्वपूर्ण पदमा आफ्ना मान्छे छिराउन खोज्नेहरू सक्रिय छन् ।”

टेक्ससका व्यवसायी तथा एनआरएनए आइसीसीका सल्लाहकार हरिबोल भण्डारी भन्छन् “मिलाएर सकभर सर्वसम्मत गर्न प्रयास गर्ने हो । तर अहिले नै त्यसका लागि हतारिनु पर्ने अवस्था छैन ।” टेक्ससका अर्का व्यवसायी पासाङ लामा पनि बलिया केही उम्मेदवारलाई मिलाउन सक्दा सर्वसम्मत हुनसक्ने सम्भावना भएको बताउँछन् ।

हातमुख जोड्न श्रममा दैनिक घोटिनु पर्ने अवस्था भन्दा टेक्ससमा बस्ने केही नेपालीहरू अलिकति माथि उठेका छन् । ग्यास, ग्रोसरी, लिकरमा सानोतिनो लगानी गरेकाहरू आफ्नो उपस्थिति सामाजिक सङ्घ संस्था र समाजमा देखाउन अग्रसर छन् । जसका कारण अमेरिकामा रहेका नेपाली सङ्घ संस्थामा टेक्सबासी नेपालीहरूको उपस्थिति बाक्लिादो छ । तर उनीहरू बिचमा आपसी सद्भाव र न्यानो सम्बन्ध भेटिँदैन । एउटा समूहले अर्कोलाई घेराबन्दी गर्ने र धक्का दिने क्रम चलिरहन्छ टेक्ससमा । यसको प्रभाव एनआरएनए अमेरिकाको निर्वाचनमा पनि पर्ने गरेको छ ।

एनआरएनए अमेरिकाको मेम्वरसिप ड्राइभमा पनि पासाङ समूह जोशी–भण्डारी समूह भन्दा अगाडि छ । एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरी जोशीले यस पटक आफ्नै कर्मचारीहरूलाई समेत सदस्य बनाउन सक्रियता नदेखाएको उनको निकट रहेका ब्याक्तिहरु बताउँछन् । टेक्सस निवासी एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर रहेका अध्यक्षका एक जना आकाङ्क्षीले आफ्नै श्रीमतीलाई समेत सदस्य नबनाएको भन्दै उनलाई मजाकको पात्र बनाउने गरिएको छ । सदस्यता वितरणको समयमा केही सक्रियता देखाएका हरिबोल भण्डारीले पनि पासाङ लामाको तुलनामा सदस्यता बनाएका छैनन् । तर जोशी–भण्डारी समूहले आसन्न निर्वाचनका लागि टेक्सस मात्र हैन अमेरिका भरिनै सबैभन्दा बढी उम्मेदवारहरू खडा गरेका छन् । जसका कारण उनीहरूको शक्ति क्षीण भएको धेरैले भेउ पाउन सकेका छैनन् ।

गौरी जोशी, हरिबोल भण्डारी र कृष्ण लामिछानेको समूहले कुनै दुस्मनले आँखा लगाउन नसक्ने बलियो आधार इलाका सम्झने नेपाली सोसाइटी अफ टेक्सस (एनएसटी)को गत निर्वाचनमा पासाङ लामाको समूहसँग परास्त हुनुपर्‍यो । निर्वाचनमा प्रतिस्पर्धा नै गर्न नसकेर ‘वाक ओभर’ नै दिनु पर्‍यो । जितमा रमाएर मात्र नबसी लामाको समूहले एनएसटीमा मेम्वरसिपको ढाँचा नै परिवर्तन गरिदिएपछि जोशी–भण्डारी समूह टेक्ससमा केही थलिएको छ ।

टेक्ससबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका कसैलाई पनि लामाको समर्थन छैन । न्यु योर्क निवासी सूर्य लम्साललाई लामाले अध्यक्षका रूपमा अगाडि बढाएका छन् । लामाले स्रोतसँग कुरा गर्दै भने “सबै भन्दा बढी सदस्य रहेको न्यु योर्क र टेक्सस च्याप्टरमा अरू समूहले हामीसँग प्रतिस्पर्धा गर्न सक्दैन ।” लामाले च्याप्टरको नेतृत्वमा क–कसलाई अगाडि बढाउने भन्ने समेत टुङ्गो लागिसकेको बताए । लामाले भने “टेक्ससमा राजेश अर्याल र न्यूयोर्कमा विष्णु रानामगरलाई च्याप्टर सभापतिमा उठाउछौं । उनीहरूको सामाजिक योगदान र क्षमता पनि सबैलाई थाहा छ ।”

लामाको दाबीलाई अर्को समूहले चुनावी हल्लाको रूपमा मात्र लिएको छ । मेम्वरसिप ड्राइभमा सबै भन्दा बढी खटेका अध्यक्षका दाबेदार टेक्सस निवासी सुनिल साहसँग गौरि जोशी र हरिबोल भण्डारी अहिले राम्रो सम्बन्ध छ । धेरैले तीनजनालाई एउटै समूहमा रहेको दाबी गर्छन् । साहको चुनावी अभियानमा जुटेका टेक्सस निवासी ओम भट्टराई भन्छन् “हल्ला गर्नु फरक कुरा हो । टेक्ससमा साहको पक्षमा अत्यधिक बहुमत छ । अरू समूहको कुनै प्रभाव छैन ।”

लामाले आफ्नो समूहबाट च्याप्टर सभापतिमा उठ्ने दाबी गरेका राजेश अर्याल उनको समूहको नभएको भट्टराईले दाबी गरे । भट्टराईले भने “साह, जोशी र भण्डारी समूहका भरपर्दा सहयोगी हुन् राजेश अर्याल ।” भट्टराईले टेक्ससबाट साहलाई १२ सय भन्दा बढी मत आउने दाबी गरे । लामाले टेक्ससमा आफ्नो समूहका पक्षमा कति मतदाताहरू रहेका छन् भनेर अनुमानित तथ्याङ्क बताउन चाहेनन् ।

गत एनआरएनए अमेरिकाको निर्वाचनमा टेक्सस राज्यबाट करिब ५५ सय सदस्य बनेका थिए । जसमध्ये आउटलुकबाट नक्कली इमेल आइडी बनाएर एनआरएनए अमेरिकाको वेबसाइट ह्याक गरेर छिराइएका दुई हजार नक्कली सदस्य तत्काल हटाइएको थियो । अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका टेक्ससका एक व्यापारीले पैसा र प्रविधिको दुरुपयोग गर्दै बनाएका थप नक्कली सदस्य छानबिन समितिले हटाएपछि टेक्ससमा कवि ३२ सय सदस्य बाकी रहेका थिए । यस पटक टेक्ससमा गतवर्षको झन्डै आधा अर्थात् १७ सय ८० सदस्य रहेका छन् ।

एनआरएनए अमेरिकाको गत वर्षको ठुलो स्टेट च्याप्टर बनेको टेक्सस यस पटक न्यूयोर्कमा भन्दा ५ सय सदस्यले पछाडि पर्दै दोस्रो ठुलो च्याप्टर बनेको छ । तर एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि न्यूयोर्कमा भन्दा टेक्ससमा तिन गुणा बढी आकाङ्क्षी देखिएका छन् ।

अध्यक्षमा टेक्ससबाट चारजना चुनावी मैदानमा देखा परेका छन् भने वरिष्ठ उपाध्यक्षमा टेक्ससबाट भरत अर्याल, अमृत सापकोटा, नारायण कणेलले उम्मेदवारी सार्वजनिक गरेका छन् । क्षत्रिय उपाध्यक्षमा थलराज पन्तले आफ्नो प्रचार प्रसार सुरु गरिसकेका छन् । महासचिवमा टेक्ससका विजय भट्टराईको नाम चर्चामा रहेको भए पनि उनले उम्मेदवारी घोषणा गरेका छैनन् । सचिवमा अमृत कटेल र भानु खरेल दाबेदारको रूपमा प्रस्तुत भइसकेका छन् ।

सहकोषाध्यक्षमा सतिस ओझाको नाम चर्चामा छ ।

बोर्ड अफ डाइरेक्टरका लागि टेक्ससको अस्टिन सहरबाट सी पी पौडेल, पदम ठकुराठी, टंकप्रसाद रेग्मी, देवराज न्यौपाने, ह्युष्टनबाट जगदीश काफ्ले त्यस्तै अरू सहरहरूबाट जीवन जोशी, भुवन अधिकारीले आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि कोषाध्यक्ष र महिला संयोजक बाहेकका सबै पदमा टेक्सबाट उम्मेदवारी बाहिर आइसकेको छ । उम्मेदवारी दिने सङ्ख्या अझै बढी हुने अनुमान छ ।

एनआरएनए अमेरिकाको विगतका निर्वाचनमा अभियन्ताहरूले धेरै र कमजोर उम्मेदवार उठाउँदा नराम्रो पराजय भोग्नुपरेको थियो । टेक्ससकै मात्र सदस्यको आधार लिएर धेरै उम्मेदवार उठाउँदा टेक्ससमा यसको पुनरावृत्ति नहोला भन्न सकिन्न ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु