‘सिके राउतको रिहा र सरकारसँगको सहमति पश्चिमाको ‘ग्राइन्ड डिजाइन’

‘सिके राउतको रिहा र सरकारसँगको सहमति पश्चिमाको ‘ग्राइन्ड डिजाइन’

काठमाडौं– स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच गत साता ११ बुँदे सहमति भएको छ । राष्ट्रिय सभागृहमा सरकार प्रमुख प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापालगायत मन्त्री र नेताहरूको सहभागितामा स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके (चन्द्रकान्त) राउतबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

आजको गोकर्ण न्युज साप्ताहिकले मुख्य पेजमा समाचार लेखेको छ ।समाचारमा भनिएको छ ।
मुलुकको अखण्डता स्वीकार गर्ने, सरकारले गठबन्धनका कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने, तराई मधेसमा देखिएका असन्तुष्टि जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने, स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्ताले यसअघि प्रचार–प्रसारका क्रममा बाँडेका किताब, प्रचार र झन्डा भविष्यमा कारबाहीको विषय नबनाउने, आगामी दिनमा यस्ता प्रचार सामग्री वितरण नगर्ने, स्वतन्त्र मधेस आन्दोलनका नेता कार्यकर्ता र समर्थकलाई नेपालभित्र बसोबास गर्न जीविकोपार्जन गर्न, संघ–संगठन र मूलधारको पार्टी खोल्न राज्यबाट कुनै कारबाही नगर्ने, हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेस गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवलाई राज्यका तर्फबाट उचित क्षतिपूर्ति र एक जनालालाई रोजगारी दिनेलगायत बुँदामा सहमति भएको हो ।

सरकारसँगको सहमतिसँगै छुट्टै मधेस राज्यको माग गर्दै विभिन्न पृथकतावादी आन्दोलन गरिरहेका राउतले पृथकतावादी गतिविधि परित्यागको घोषणा गरेको र शान्तिपूर्ण रूपमा राजनीतिको मूल धारमा आउन चाहेकाले सहमति गरिएको भन्दै प्रधानमन्त्री ओलीले राउतको गुणगाान गर्न भ्याए । प्रधानमन्त्री ओलीले राउत असल, विद्वान् चरित्र भएको व्यक्ति भन्दै नेक्रवित्रम चन्द (विप्लव) नेतृत्व नेकपालाई लुटराको संज्ञा दिए । राउतलाई प्रचण्डसँग समेत दाँज्न भ्याए । कार्यक्रममै राउतले सरकार, पूर्वप्रधानमन्त्री तथा नेताहरूले शान्तिको बाटोमा ल्याउन खेलेको भूमिकाप्रति धन्यवाद प्रकट गरे । आफूले हिजो गरेका राज्यविरोधी गतिविधिमा उनले आत्मालोचना गरेनन् नै उनले नेपाल देश भनेर एक शब्दसमेत उच्चरण गरेनन् ।

सरकारसँगको सहमतिलगत्तै राउतले आफ्नो फेसबुक स्टाटसमा मधेसमा जनमत संग्रह गराउन राज्य पक्ष सहमत भएको दाबी गरे । उनले लेखेका छन्– ‘नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धनसँग भएको वार्तामा नेपाल सरकार मधेसको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधि (जनमत संग्रह) मार्फत पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।’
कार्यक्रममा पृथकतावादी आन्दोलन छाडेको घोषणा नगरेका राउतले फेसबुकमा लेखेका छन्, ‘स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दाहरू फिर्ता हुने भएको छ । साथै स्वतन्त्र मधेस गठबन्धनले आफ्नो कार्यालय विभिन्न जिल्लामा खोलेर खुला रूपले राजनीति गर्ने भएको छ ।’

अहिलेसम्म आफ्नो देशको नाम ‘नेपाल’ नभएर ‘मधेस’ बताउने गरेका राउतले यसअघि नेपाललाई ‘फिरङ्गीहरूको देश’ भन्ने गरेका थिए ।
फागुन २४ गते (शुक्रबार) सरकार र राउतबीचको ११ बुँदे सहमतिपत्रको व्याख्या विभिन्न कोणबाट भइरहेकै छ । नेकपाका नेता भीम रावलले सरकार र राउतबीच भएको सहमतिपत्र र भाषामै गम्भीर त्रुटि रहेको भन्दै विरोध जनाए । सँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले, झलनाथ खनाललगायत नेताले समेत असन्तुष्टि जनाएका छन् । त्यति मात्र नभई राउतसँग हुने सहमतिमा समेत नेकपाका अर्का अध्यक्षलाई समेत अघिल्लो दिन मात्र थाहा नभएको स्रोत बताउँछ । स्रोतका अनुसार प्रधानमन्त्री ओली र नेकपा महासचिव विष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोखरेललगायत नेता राउतसँग निरन्तर छलफलमा गरी यो निष्कर्षमा ल्याउने कार्यमा लागेको स्रोत बताउँछ । नेकपाभित्रकै शीर्ष नेताहरूलाई यसबारे जानकार नहुन र छलफल नै नगरी सहमति गर्नुले नेकपाभित्रै यसका असन्तुष्टिहरू देखापरेका छन् ।
अखण्ड र सार्वभौम नेपालमा सहमति जनाउँदै सरकारसँग ११ बुँदे सहमति गरेको पर्सिपल्ट (आइतबार) राउत जनकपुर पुग्दा पुरानै शैलीमा विखण्डको नारा लाग्यो । काठमाडौंबाट राउत जनकपुर ओर्लिंदा तालिम प्राप्त उनका निजी सुरक्षा दस्ताले घेरिए । ती दस्ता कालो ज्याकेट, टाउकोमा रातो फेटा, मुखमा मास्क, कालो चश्मा र स्वतन्त्र मधेस गठबन्धन लेखिएको झन्डा लिई विमानस्थल पुगेका थिए । राउतका समर्थकले ‘स्वतन्त्र मधेसको’ नारा पनि मज्जैले घन्काए ।

उनले पृथकतावादी आन्दोलन छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेको भनिरहँदा कार्यकर्ताहरू भने पुरानै व्यवहार झल्काउँदै थिए । यो हेर्दा सरकारसँगको सहमतिले गिज्याइरहेको थियो ।
‘फ्री मधेस’ अंकित झन्डासहित उनको स्वागतमा पुगेका कार्यकर्ताले हिन्दी भाषामा विखण्डनको नारा लगाए । उनीहरूले ‘नेपाली उपनिवेश मुर्दावाद, मधेस देश लेके रहेंगे, स्वतन्त्र मधेस गठबन्धन जिन्दावाद’ लगायत नारा लगाए ।
सहमतिमा सांसद र विभिन्न नेताले असन्तुष्टि जनाएपछि गृहमन्त्री थापाले आइतबार प्रतिनिधि सभामार्फत जवाफ दिएका थिए । सोही क्रममा स्वतन्त्र मधेस गठबन्धन आफैमा गैरकानुनी भएको बताए । सरकारसँग सहमति गरेका राउतका कार्यकर्ताले गरेका नाराबाजी, प्रदर्शनमा फ्री मधेस लेखिएका तुल ब्यानर तत्काल रोक्नुपर्ने बताए ।राउतले स्वतन्त्र मधेसका लागि जनमत संग्रह हुनुपर्छ भनेको अवस्थामा सहमतिबाट ‘ब्याक’ हुन सक्ने गृहमन्त्री थापाले संसदलाई बताइसकेका छन् । राउतबाट सहमतिमा धोका भएको अवस्थामा त्यो समूह नै सिद्धिने चेतावनी पनि गृहमन्त्रीले दिइसकेका छन् । उता राउतको स्वतन्त्र मधेस गठबन्धन यूएनपीओको सदस्यसमेत हो । यूएनपीओमा राउतले आफ्नो देशको नाम ‘मधेस’ राखेका छन् । अहिले पनि यूएनपीओको सदस्यबाट राउत हटेका छैनन् ।
विश्लेषकहरूका अनुसार सरकारसँग अखण्डको सहमति गरेका राउतले जनकपुर पुग्दा पुरानै गतिविधिलाई निरन्तरता दिनुले विखण्डनलाई बैधानिकता दिने नियत भएको बताउँछन् ।

सहमति पश्चिमाको ‘ग्राइन्ड डिजाइन’

विश्लेषकहरूका अनुसार सीके राउतको रिहा पश्चिमाहरूको ग्राइन्ड डिजाइनमा भएको बताएका छन् । उनीहरूका अनुसार राउतलाई अदालतले रिहा गर्नु वर्तमान सरकार, प्रधानमन्त्री ओली र ओली नजिकका नेताहरू अमेरिकामको लबिङमा रहनु, राउतका पछाडि पश्चिमा शक्तिको साथ रहनु साथै केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाको सन्दर्भमा दिएको अभिव्यक्तिले अमेरिकालगायत पश्चिमाहरू चिढिनु नै त्यसको क्षतिपूर्तिमा राउतको रिहा गरिएको देखिन्छ । वर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासमेत पश्चिमालाई नचिढाई न्याय सम्पादन गर्ने गरेको भन्दै त्यसको गठजोड राउत रिहा भएको विश्लेषकहरू बताउँछन् ।
राउतको रिहा र सहमतिसँगै राउत नेपालको राजनीतिक मूलधारमा सहभागी भई नेपालको राजनीतिलाई पश्चिमीकरण गर्ने गतिलो माध्यमका रूपमा राउत उदाउने निश्चित छ । क्षेत्रीय राजनीतिमा सन्तुलन गुम्ने खतारा हुँदै जाने परिस्थिति नेपाल र नेपाली राजनीतिमा घातक सिद्धत हुने होइन भन्ने प्रश्न पनि अनुत्तरित बनेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु