दुई महिनामै दुई लाख पर्यटक नेपाल भित्रिए, अघिल्लो बर्षभन्दा ३२ प्रतिशतले बढ्यो

दुई महिनामै दुई लाख पर्यटक नेपाल भित्रिए, अघिल्लो बर्षभन्दा ३२ प्रतिशतले बढ्यो

काठमाडौं– पर्यटक आगमनमा संसारमै उच्च वृद्धिदर हासिल गरेको नेपालले सन् २०१९ को सुरूआतमा त्यसलाई निरन्तरता दिएको छ । सन् २०१८ मा उच्च पर्यटक वृद्धिदर भएका शीर्ष तीन गन्तव्यमा परेको नेपालले २०१९ को पहिलो २ महिनामा पनि उक्त वृद्धिदरलाई कायम गरेको हो ।

पर्यटन बोर्डका अनुसार अघिल्लो वर्षको तुलनामा यो फेब्रुअरीमा ३९ प्रतिशतले पर्यटक बढेका छन्। जनवरीमा २५ प्रतिशतले पर्यटक बढेका थिए । दुई महिनामा २ लाख १६ हजार विदेशीले नेपाल भ्रमण गरेका छन्।

फेब्रुअरीमा सबैभन्दा बढी चीनबाट १६ हजार पर्यटक आएका छन्। तश्रीलंकाबाट १४ हजार र भारतबाट पनि १४ हजार पर्यटक नेपाल आएका छन् । थाइल्यान्डबाट १४ हजार पर्यटकले नेपाल आउँदा अमेरिकाबाट ७ हजारले नेपाल घुमेका छन्।

वर्षको सुरुआतमा वौद्ध धर्मालम्बी धेरै भएका मुलुककबाट नेपाल आउने पर्यटकको वृद्धिदर उच्च रहेको छ। दक्षिण कोरिया, जापानजस्ता मुलुकबाट नेपाल आउनेको संख्या पनि बढेको बोर्डले जनाएको छ।

नेपालमा जाडोलाई पर्यटनका लागि अफ सिजन मान्ने गरिन्छ। यद्यपी बजारीकरणको रणनीति परिवर्तन गर्दा सदाबहार पर्यटन बजारको रूपमा नेपाल स्थापित भएको बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले बताए।

‘हामीले पछिल्लो समय देशको मौसम र घुम्ने मुडका आधारमा बजारीकरण गरिरहेका छौं। जस्तो फेब्रुअरीमा चीनमा धेरै सार्वजनिक विदा हुन्छ त्यहीअनुसार हामीले चीनमा बजार प्रवर्द्धन गर्‍यौं,’ जोशीले भने।

एक पटकमात्र नभई नेपालले पछिल्लो समय पर्यटक आगमनको वृद्धिदरलाई कायम राखेको छ । पर्यटक बजारको सम्भावना धेरै भएको नेपालमा बढ्दो वृद्धिदरलाई थेग्ने पूर्वाधार निर्माण पनि सँगसँगै नभए पर्यटक आगमन खुम्चिन सक्नेतर्फ व्यवसायीले चासो व्यक्त गर्दै आएका छन्।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु