बाग्मती सरसफाई महाअभियानः उपत्यकाबाट १९ मेट्रिक टन फोहर व्यवस्थापन

बाग्मती सरसफाई महाअभियानः उपत्यकाबाट १९ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ– उपत्यकाका नदी र चक्रपथ सफाइ गरी १९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रका स्थानीय तहले व्यवस्थापन गर्दै आएका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारी साधन प्रयोग भएको आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् ।

वाग्मती सफाइ महाअभियानको ३०४औँ हप्तामा टेकु दोभानस्थित वाग्मती पुलक्षेत्रको नदी किनारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पूर्व राजदूत भिक्ट्रीशम्शेर राणा, सफाइ अभियानकर्मीलगायत ४०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत १९ संस्थाको सक्रियता रहेको उक्त समितिका सदस्य माला खरेलले जानकारी दिए । गुह्येश्वरीमाथिको नदी सफाइको २६५औँ हप्तामा गोकर्णेश्वर नगरपालिका– ५ र कागेश्वरी मनोहरा नगरपालिका–८ को सीमास्थित गोठाटार पुलमुनिको नदी किनार सफाइ गरिएको थियो ।

दुबै नगरपालिकाका वडाको संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाडिएको नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए । सो सफाइमा चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउन समेत आह्वान गर्दै आएको छ । घरकै फोहर व्यवस्थपन नगर्नेलाई पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ ।

सफाइमा मानव अधिकार तथा शान्ति समाज अन्य सङ्घ संस्थासहित स्थानीयवासी गरी ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । मञ्चको सक्रियतामा एक हप्ता लगाएर सफाइ गरिएको भैरव स्मृति जोरपाटी उद्यानलाई गोकर्णेश्वर नगरपालिका–५ ले सञ्चालनमा ल्याउने भएको छ ।

सफाइ अभियानकर्मीले सहयोग जुटाएर उद्यानमा मेचको व्यवस्था गरिदिएको मञ्चका अध्यक्ष पुडासैनीले बताए । उद्यानलाई हरियाली बनाएर आराम गर्ने स्थलका रुपमा विकास गर्ने प्रतिबद्धता सम्बन्धित वडा कार्यालयले जनाएको छ ।

रुद्रमती सफाइ अभियानको २५९ हप्तामा रातोपुल–कालोपुल–शहीदमार्गसम्ममको क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।

विष्णुमती सफाइको २३१औँ हप्तामा तारकेश्वर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोकबाट मानसिंह माध्यमिक विद्यालयसम्म सफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताए ।

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा ११४औँ हप्ताको सफाइ गरियो । एक सय १५ जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।

चक्रपथ सफाइको १००औँ हप्ता
चक्रपथ सफाइ अभियानको १००औँ हप्तामा बसुन्धरामा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारको मात्र सक्रियताले सरसफाइ एवं वातावरण संरक्षणमा काम गर्न नसकिएकामा नागरिकस्तरबाट भएको अभियानले सहयोग पुगेको बताएका थिए ।

पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले उपत्यकाका सडक र वाग्मती सहायक नदी सफाइ नगरेसम्म वाग्मती सफाइ महाअभियानले सफलता पाउन नसक्ने भएकाले आफू शहरी विकासमन्त्री भएका बेला विसं २०७४ वैशाख २ गतेदेखि चक्रपथ सफाइ अभियान शुरु गरिएको बताए ।

चक्रपथ सफाइ अभियानकर्मी भूपाल आचार्यले फोहर फाल्न र बाल्न नहुनेमा जनसाधारणमा चेतना जगाउनुपर्नेमा जोड दिँदै सही तरीकाले फोहर व्यवस्थापन गर्न सिकाउनुपर्ने बताए । सफाइ अभियानबाट उठाइएको फोहर ल्याण्डफिल्ड साइडमा लैजाँदा अतिरिक्त ४०० तिर्नुपरेकामा सरकारको बेलैमा ध्यान जानुपर्ने उनले बताए ।

सफाइ अभियानका संयोजक लोकबहादुर टण्डनले १००औँ हप्तासम्ममा ४० हजार मानिस सहभागी भएर एक हजार ५०० मेट्रिकटन फोहर व्यवस्थापन भएको जानकारी दिनुभयो । यस अवधिमा कोटेश्वरबाट स्वयम्भूसम्म सफाइ गरिएको उनले बताए ।

सफाइ अभियानलाई १०० हप्तासम्म ल्याउन सहयोग गर्ने अभियानकर्मीलाई सो अवसरमा सम्मान गरिएको थियो ।

सफाइ महाअभियान शुरु भएको पाँच वर्षसम्ममा पनि ठोस् रुपमा काम हुन नसकेको र सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरे पनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ । वाग्मती किनारमा सञ्चालन भएका सुङ्गुर बङ्गुर फार्म र सुकुम्वसी बस्ती हटाउन समेत सरकारले पहल गर्न सकेको छैन ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । वाग्मतीबाट प्रभावित भई उपत्यकाका अन्य नदी, चक्रपथ र उपत्यका बाहिर पनि केही नदी एवं शहरमा गरी १०२ स्थानमा सरसफाइ भइरहेको जनाइएको छ । सबै सफाइ अभियानलाई जोडेर सरकारले स्वच्छता महाअभियान शुरु गर्ने वन तथा वातावरणमन्त्री बस्नेतको भनाइ थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु