Breaking News

कोटेश्वर–कलंकी आठलेन रिङरोड परीक्षण शुरु

कोटेश्वर–कलंकी आठलेन रिङरोड परीक्षण शुरु

काठमाडौं– सडक विभागले कोटेश्वर–कलंकी आठलेन रिङरोड परीक्षण थालेको छ। चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले भर्खरै निर्माण सकेर हस्तान्तरण गरेको आठलेन रिङरोडमा भएका प्राविधिक त्रुटि सच्याउन विभागले सुरक्षा परीक्षण (अडिट) गर्न लागेको हो।

यही आइतबारबाट परीक्षणको पहिलो चरणको काम थालिएको विभागका सुरक्षा तथा ट्राफिक इकाइ प्रमुख दीप बाराहीले जानकारी दिए।

यसनिम्ति विभागीय इञ्जिनियरहरूका साथै चिनियाँ कम्पनीका प्रतिनिधि, सडक सुरक्षा विज्ञ, यातायाच इञ्जिनियरहरूको टोली गठन गरिएको छ। टोलीले त्रुटि सच्याउन तत्कालै गर्न सकिने र दीर्घकालमा गरिने उपाय सिफारिस गर्ने बाराहीले बताए।

‘हामीले आइतबारबाटै पहिलो चरणको काम थालिसकेका छौं। रिङरोडमा गएर एकपटक सर्सर्ती स्थलगत अनुगमन गर्यौं। अब कागजी काम गर्दैछौं,’ उनले भने ।

उनका अनुसार विज्ञ टोलीमा समावेश भएकाहरूको नाम टुंगो लागिसकेको छैन। यसमा केही समय लाग्ने भएकाले विभागीय तर्फबाट भने काम थालिएको उनको भनाइ छ।

लगभग साढे १० किलोमिटर लामो सडक निर्माणकै क्रममा डिजाइनमाथि प्रश्न उठेको थियो। वारिपारि घनाबस्ती बीचको सडक द्रुतमार्गको ढाँचामा बनाइएको भन्दै इञ्जिनियरहरूले आलोचना गरेका थिए। विभागका जिम्मेवार अधिकारीहरूले गत वर्ष नै त्रुटि स्वीकार्दै हस्तान्तरणपछि सच्याउने बाचा गरेका थिए। गत छ महिनामा मात्र रिङरोडमा १२ जनाले ज्यान गुमाइसके।

बाराहीका अनुसार अब रिङरोडको प्रमुख डिजाइन, अहिलेको अवस्था र यसमा उठेका प्रमुख समस्याबारे छलफल गरिनेछ। अध्ययन सकेर एक महिनाभित्रै रिपोर्ट बुझाउने तयारी छ। रिङरोड पूर्ण सञ्चालनमा आइसकेकाले चाँडै अध्ययन सक्ने गरी काम गरिने बाराहीले बताए।

‘हामी चाँडै यो अध्ययनको काम सकेर तत्काल गर्न सुधार सुझाउनेछौं,’ बाराहीले भने, ‘त्यसपछि दीर्घकालमा के–के गर्न सकिन्छ भन्ने तय हुन्छ।’

अहिलेसम्म विभिन्न सडक विज्ञ तथा इञ्जिनियरहरूले रिङरोड डिजाइनमा देखिएका समस्या औंल्याउँदै सुधार्न आग्रह गर्दै आएका छन्।

रिङरोड घनाबस्तीको बीचबाट गुज्रने भएकाले यसलाई द्रूतमार्ग बनाउन नहुने सुझाव इञ्जिनियरहरूले दिएका छन्। उनीहरूले ५० किलोमिटर प्रतिघन्टा गति घटाएर ३० किलोमिटरमा सीमित गर्नुपर्ने सुझाएका छन्।

‘रिङरोड जोखिम कम गर्न गति कम गर्ने कुरा उठेको छ,’ बाराहीले भने, ‘अब अध्ययन र विज्ञहरूको अन्तिम सुझावपछि यसको गति निर्धारणमा काम हुनेछ। यो तत्काल गर्ने काममा पर्छ।’

रिङरोडको अर्को मुख्य समस्या सडक बीचमा मिडियन नहुनु हो। ५० किलोमिटर प्रतिघण्टाको गतिमा विपरीत दिशाबाट हुइँकिएर आउने सवारीलाई बाटो छुट्टयाउन बार, पर्खाल वा खाली ठाउँ छैन। यसले दुर्घटना जोखिम बढाएको छ। यो पनि डिजाइनमै गल्ती भएको विभागले स्विकारेको थियो।

‘हामीले तत्कालका निम्ति अस्थायी मिडियन राख्ने सोचिरहेका छौं,’ बाराहीले भने, ‘ठूलो संरचनामा अहिल्यै काम गर्न सकिँदैन। यसकारण फराकिलो बाटो छुट्टाउन बीचमा प्लाष्टिकका कोन, स–साना कंक्रिट ब्लक, तार के लगाउन सकिन्छ र प्रभावकारी हुन्छ भन्ने यकिन गर्नेछौं।’

सडक लेन आकारमा फरक पर्ने गरी एक–डेढ मिटरका मिडियन बनाउँदा संरचना फेरिने विभागको भनाइ छ। यसनिम्ति सडक बनाइदिने चिनियाँ कम्पनीसँगै सल्लाह गर्नुपर्छ। संरचना नबिग्रने गरी बनाउन केही समस्या छैन। दुईतर्फी सडक बीचमा बार वा पर्खाल नभए एउटा लेनको गाडी ओभरटेक गर्न अर्को लेनमा घुस्छन्। सडककै बीचमा ‘यु–टर्न’ लिएर अर्को लेन छिर्नु यहाँ सामान्य हो। यसले दुर्घटना जोखिम बढाएको छ।

यसअघि माइतीघर–तीनकुने सडक खण्ड विस्तार गर्दा मिडियन थिएन। ठूल्ठूला दुर्घटना भए। अहिले दुईतर्फी बाटो छुट्टयाउन सानो आकारको कंक्रिट ब्लक राखिएको छ। कलंकी–सोल्टीमोड खण्डमा यही समस्या थियो। पछि मिडियनको आवश्यकता महसुस गरेर यहाँ पनि कंक्रिट ब्लकले छुट्टयाइएको छ।

रिङरोडका ठाउँठाउँमा चोकहरू व्यवस्थापन गर्नेबारे पनि अध्ययन हुने बाराहीले बताए। चोकहरू भएपछि गति सीमा कायम राख्न मद्दत पुग्छ।

विभागले जेब्रा क्रसिङबारे पनि अध्ययन गर्ने बताएको छ। साढे १० किमी लामो खण्डमा कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना र बल्खु गरी जम्मा पाँच ठाउँमा मात्र जेब्रा क्रसिङ छ। जबकि, यसबीच वारि र पारि नै घनाबस्ती बसिसकेको छ। यहाँ सवारी चाप धेरै हुन्छ भने सडक ओहोरदोहोर गर्नेको संख्या पनि धेरै छ। दिनहुँ हजारौं मान्छे सडकबीचमै हुइँकिएका गाडी छल्दै बाटो काट्न बाध्य छन्। अडिट सकेर एक वर्षभित्रै जेब्रा क्रसिङ बनाइसक्ने विभागको लक्ष्य छ।

सहरी सडकमा कम्तीमा २ सय मिटर दुरीमा जेब्रा क्रसिङ बनाउनुपर्ने अन्तर्राष्ट्रिय नियम छ।

‘हामी यो रिङरोड सुधार्न अन्तर्राष्ट्रिय अभ्यास पनि हेर्नेछौं,’ बाराहीले भने, ‘यस किसिमको सडकमा के–कस्ता पूर्वाधार कति चाहिन्छ भन्ने अध्ययन गरी निधो गर्नेछौं।’

विभागले आकासेपुलको काम पनि थालिसकेको छ। चिनियाँ कम्पनीले कोटेश्वर, बिएन्डबी अस्पतालअगाडि र बागडोलमा आकासे पुल बनाइएको छ। विभागले अरू छ ठाउँमा पुल बनाउनेछ। बालकुमारी, ग्वार्को, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना र बल्खुमा नयाँ आकासे पुल बन्नेछन्। त्यसमध्ये पाँचवटाको काम सुरू भइसकेको विभागले जनाएको छ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु