एनसेल कर प्रकरणः सर्वोच्चमा एनसेल लाभकरसम्बन्धी थप तीनवटा मुद्दा विचाराधीन

एनसेल कर प्रकरणः सर्वोच्चमा एनसेल लाभकरसम्बन्धी थप तीनवटा मुद्दा विचाराधीन

काठमाडौं– निकै लामो बहस र विवादपछि एनसेल कर प्रकरणमाथि सर्वोच्च अदालतले फैसला गर्दै पुँजीगत लाभकर एक्जिएटा कम्पनी र एनसेलबाटै असुल्न आदेश दिएको छ । यदि यस्तो हुने हो भने राज्यको ढुकुटीमा ७० अर्ब रुपैयाँभन्दा बढी राजस्व जम्मा हुने देखिएको छ ।

सर्वोच्चले मुख्य विवाद निरूपण गर्दै सो फैसला गरे पनि एनसेल लाभकरसम्बन्धी थप तीनवटा मुद्दा भने अझै विचाराधीन छन् । राजस्व विवादमा मुछिएका दुई कम्पनीविरुद्ध र एनसेल आफैंले हालेको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको हो । वुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित न्यायाधीशहरूः मीरा खड्का, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंक मोक्तानको वृहद पूर्ण इजलासले एनसेलबाटै पुँजीगत लाभकर असुल्न आदेश दिएको हो ।

एनसेल कर विवादको विषयमा परेका छुट्टाछुट्टै चार वटा रिटमाथि एकमुष्ट सुनुवाई गर्दै बृहद इजलाशले लाभकर एनसेलबाटै उठाउन आदेश दिएको हो । लगातार पाँचदिनको सुनुवाईपछि प्रधानन्यायाधीशको इजलाशले दिएको आदेशले नेपालको अर्थबजारमा तरंग उत्पन्न भएको छ । यसअघि न्यायाधीश शारदा प्रसाद घिमिरेले यो मुद्दाको नेतृत्व गरेका थिए । पुस २२ गते घिमिरेको अवकासपछि एनसेलसँग सम्वन्धित सबै मुद्दालाई एक ठाउँमा राखेर सुनुवाई अगाडि वढाइएको थियो ।

सर्वोच्चले लाभकर असुल्न आदेश दिनुअघि ठूला करदाता कार्यालयले एनसेलको कुल मूल्य एक खर्ब ४४ अर्ब रुपैयाँ आधार मानेर कर निर्धारण गरेको थियो । ३५ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ कर, १८ अर्ब ६ करोड ५३ लाख रुपैयाँ जरिवाना र ६ अर्ब ७३ करोड ३७ लाख ब्याज गरी ६० अर्ब ७१ करोड २४ लाख रुपैयाँ कर निर्धारण गरेको थियो ।

एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र्र महतोको कम्पनी सिनर्जी नेपालले एनसेल लाभकर छलेपछि ठूला करदाता कार्यालयले सर्वोच्चमा दायर गरेको मुद्दा विचाराधीन छ ।

अर्थमन्त्रालयले मंसिर २१ गते संसदको लेखा समितिलाई दिएको जानकारीअनुसार पनि एनसेलले नेपाल सरकारलाई ६० अर्ब ७१ करोड कर तिर्न बाँकी छ । एनसेल खरिद–बिक्री भएको ३ वर्षभन्दा बढी समय भइसकेको छ । तिर्नुपर्ने लाभकर र विलम्ब बापतको जरिवानासहित अब एनसेलले करीब ८० अर्ब रुपैयाँ तिर्नुपर्ने अर्थमन्त्रालयको राजस्व शाखाले जनाएको छ ।

एनसेलको १२ औं पटकको बिक्रेता टेलियासोनेरा नेपालबाट भागेपछि आजियटा र एनसेलले लाभकरको दायित्व टेलियासोनेराको भन्दै पन्छँदै आएको थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु