Breaking News

बौद्धनाथ स्तुपालाई किन अशान्त पारिदै छ ?

बौद्धनाथ स्तुपालाई किन अशान्त पारिदै छ ?

काठमाडौं- तामाङ समुदायको राष्ट्रिय पर्व एवंम नयाँ बर्षका रुपमा मनाउदै आएको फो: ड्वा सुगुर वर्ग २८५५ औं सोनाम ल्होछार भब्य रुपमा मनाउने समय भित्रिदै छ । तामाङ समुदायका विभिन्न संघ संसथाहरुले स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाउने जमर्को गरिरहेका छन् । सुगुर वर्ग अर्थात तामाङ समुदायले मनाउने प्रमुख पर्व सोनाम ल्होछार यस बर्ष भने ६० बर्षको अन्तरालमा आएको वर्गको रुपमा लिएको छ । सुगुर बर्गलाई दायित्वबाट नभाग्ने (सुगुरले आफ्नो बास स्थानमा जस्तो सुकै फोहर भएपनि आफ्नो दायीत्व र कार्यलाई इमान्दारी पूर्वक गर्ने) अर्थात,राष्ट्र र राष्ट्रियताका निम्ती आफ्नो दायीत्व र कर्तव्यबाट बिमुख नहुने ,नयाँ बसन्त ऋतुको आगमन समय, जमिन अथवा भुमीलाई उर्वरा बनाउने, रुख पालुवा पलाउने, साथै जाडो समयलाई विदाई गर्ने पर्वका रुपमा सोनाम ल्होछार तामाङ समुदायले मनाउने गरेको किम्बद्धन्ती छ ।

यसरी तामाङ समुदायले यस पर्वलाई धुमधामका साथ मनाउन लागिएको सन्दर्भमा भने बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र बौद्ध स्तुपामा माथी भने अशान्त फैलिएको छ । जँहा तामाङ समुदायका गुरुहरु बिच ‘रेम्बोचे’ को हुन, कस्तो हुने, कुन प्रावधानबाट आएकोले रेम्बोचे उपाधि पाउने भन्ने बिषयमा एकै खालको मत छैन् । त्यस्तै एउटा अशान्तको रुप देखा परेको बौद्धनाथ स्तुपामा रेम्बोच विवाद चिनिया लामा (ब्रज लामा) ले खेम्बो पास नगरी कसरी रेम्बोचे भयो ? यावत प्रश्नले ठाँउ पाएको छ । राष्ट्रिय धरोहरको रुपमा रहेको बौद्ध स्तुपामा यतिबेला रेम्बोचे विवाद चुलिदै गएको छ । चिनिया लामा अर्थात ब्रज लामा आफुलाई रेम्बोचे भएको दाबी गर्छन तर तामाङ समुदायका विद्धान र गुरुहरुले भने ब्रज लामा कुनै खेम्बो पास नगरी, कुनै अध्ययन नगरी पुस्ताका आधारमा आफुले आफैलाई रेम्बोचे बनाएर बौद्ध स्तुपा कब्जा गरेको आरोप लगाएका छन्. । विद्धानहरुका अनुसार रेम्बोचे हुन,टुल्कु अवतार आएपछि,राम्रो काम गदै गएपछि, ध्यान गर्ने र अध्ययन स्वरुप सिरिम, ढिम्रुक, थुरिम, आचार्यको १७ बर्षे कोर्ष गरिसकेपछि न्युन्तम ३ बर्ष वा सो भन्दा वढि समय त्रिपिटक एवं तन्त्रका कुराहरुलाई भन्न सक्ने धरै कुराहरु भन्न सक्ने, विनयका कुराहरु भन्न सक्ने संविधानका कुरा भन्न सक्ने, भगवान गौतम बुद्धको टिचिङ लाई भन्न सक्ने, पढ्न सक्ने र तर्क गर्न सक्ने भएपछि मात्र एकेडेमिक संस्थाले आफ्नो प्रकृया पुर्याएर सर्टिफिकेट प्रदान गर्ने प्रकृयाहरु भएको बताउछन् । तर बज्र लामा(चिनिया लामा) यी सम्पूर्ण प्रावधान र प्रकृया पुरा नगरी खेम्बो पास नगरी आफै रेम्बोचे भएको घोषणा गदै हिडेको आरोप बौद्धनाथ क्षेत्र विकास कोषका अध्यक्ष राज कुमार लामाले लगाउछन । लामाका अनुसार चिनिया लामाका दुई वटा नागरिकता भएको समेत बताएका छन् ।

केहीदिन देखी चिनिया लामा हटाउ अभियान नै गरेर वौद्ध स्तुपा वरिपरी विरोध एवं प्रर्दशन हुदै आएका छन् ।

यसरी देशको राष्ट्रिय धरोहर एवं विश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध स्तुपामा यस्ता विरोघ प्रदर्शन र अशान्त गतिविधिले बौद्धस्तुपालाई अवलोकन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकको मानशपटलमा कस्तो सन्देश जाला त्यस तर्फ घ्याङगुठी, बज्रलामा(चिनिया लामा), बौद्धनाथ क्षेत्र विकास कोषले कतिको ध्यान दिएको छ ? सम्पूर्ण हिन्दुधर्मालम्बी र बौद्धधर्मालम्बीहरुको आस्थाको धरोहर बनेको बौद्धनाथ स्तुपामा किन राजनितिकरण हुदैछ ? रेम्बोचेको नाम बेच्दै चिनिया लामा हिड्ने क्षेत्र बिकास कोष बज्र लामालाई हटाउनु पर्छ भन्दै हिड्ने गर्नाले राष्ट्रको धरोहर बौद्धनाथ स्तुपालाई कस्तो असर पर्ला ? सरकारले लिएको पर्यटन बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने संकल्प गरेको छ । तर यता विश्व सम्पदामा सुचिकृत एवं बौद्धधर्मालम्बीको आस्थाको धरोहरमा दिनहू वाद विवाद सृजना हुँदै जानुले सरकारले लिएको पर्यटन बर्ष कतिको फलदायी होला ? बौद्ध स्तुपामा दिनहु हजारौ पर्यटकले अवलोकन गर्छन तर यहाँको अवस्था भने अत्यन्तै दयनिय बन्ने क्रमका बढ्दो छ। चिनिया लामाको गलत मानशिकता र बौद्धनाथ क्षेत्र विकास कोषको हठका कारण दिनानु दिन द्धन्द्ध सृजना भईरहेको छ ।

सरकारले लिएको लक्ष र संकल्पलाई यस्ता गतिविधिका कारण लक्ष्यले सार्थकता भने पक्कै पाउने छैन् । देशको धरोहर कुनै व्याक्ती र समुदायको कब्जामा हुनुले पनि सम्बन्धीत निकायले यस्ता गतिविध र कार्यमा ठोस निर्णय गर्नु पर्नेमा द्धन्द्ध र अशान्त वातावरणलाई टुलुटुल हेरेर बसेको देखिन्छ । भोलीका दिनमा द्धन्द्धले भयाभव रुप लिदाँ अन्तराष्ट्रिय जगतमा यसको कस्तो असर पर्ला ?

त्यस्तै बौद्ध स्तुपा नजिकै वत्तिघर राखिएको छ । त्यहाँ दैनिक हजारौ वत्तिहरु जलाउने गर्दछन्, एउटा वत्ती को करिब ५० देखी ६० रुपैँया सम्मका दरले विक्रि वितरण हुदै आएको देखिन्छ । त्यो पैसा कहाँ गएको छ ? दिनमा हजारौ रकम उठ्ने ठाँउमा त्यसको व्यवस्थापन कसरी गरिएको छ ? राष्ट्रको सम्पतीको प्रयोगबाट उठेको करोडौं रकम कुनै व्याक्ती र समुदायको नहुनु पर्नेमा त्यो नभई तामाङ कल्याण गुठीले रकम आफनो पोल्टामा राख्ने कदम कत्ति सम्मको न्यायोचित हो ? केही समय पहिले यसै वत्ती घरमा आगलागी हुँदा संयोगबस स्तुपामा ठुलो क्षती हुनबाट जोगिएको दृष्टान्त हामी सबैले देखेकै हौ तर तामाङ कल्याण गुठी त्यसलाई हटाउने तर्फ किन सचेत हुन सकेन ? यस्ता यावत प्रश्नहरु बौद्ध स्तुपा भित्रका आन्तरिक किचलो छरपस्ट छन् । कहिले घ्याङ गुठी स्तुपमा ड्रिल गर्ने गर्छ, कहिले सँगै रहेको पार्कमा आफनो भन्दै चाबी लगाउन उद्दत हुन्छ । यसरी हेर्दा देशको सम्पदा माथि व्यक्तीहरुको लडाईले शान्तीको संगम स्थल बौद्ध स्तुपालाई किन धमिलो र अशान्त पारिदैछ ? यस तर्फ कस्को ध्यान जानु पर्ने हो ?

उता ताामङ समुदाय र सम्पदाको उत्थान र विकासका लागी खोलिएको संघ तामाङ घेदुङ छ । तामाङ घेदुङ समाजले यस्ता गतिविधिमा ध्यान पुर्याउनु पर्ने हो वा होईन ? ताामङ समुदाय, सम्पदाको उन्नती एवं बिकाशका लागी काम गर्ने भन्ने संघले रेम्बोचेको प्रावधान के हुनुपर्ने ,प्रावधान के–के छन् ? रेम्बोचे बन्न कस्तो व्यक्ती हुने वा हुन सक्ने भन्ने बारे पनि केही धारण राख्न सक्ने वा नसक्ने ? के तामाङ घेदुङको काम टुडिखेलमा दुई दिन ल्होछार मनाउने पर्वको आयोजक बन्ने संस्था मात्र हो ? घेदुङ एउटा नाचगान गर्न आयोजक बन्ने संस्था मात्र बन्न कतिको सुहाउला ? तामाङ समुदायको आस्थाको केन्द्रमा भईरहेका गतिबिधिमा टुलुटुलु हेरेर बस्नु पर्ने कस्तो बाध्यता ?

कुनै व्याक्तीहरुका स्वार्थको लडाईले राष्ट्रको सम्पदालाई अशान्त बनाई राख्ने जो कोहीलाई स्थानिय, जनप्रतिनिधि,प्रदेश सरकार,र केन्द्र सरकारले यस्ता गतिविधिलाई नियन्त्रण लिएर आवश्यक कार्वाहीको दायरामा ल्याउन सम्बन्धीत पक्ष लाग्नु पर्ने होईन र ?

वडा समाचारहरु

सम्बन्धित समाचारहरु