टोखाको गणेशस्थानमा खाजाघरको नाममा यौनधन्दाः दुईजना प्रहरी फन्दामा

टोखाको गणेशस्थानमा खाजाघरको नाममा यौनधन्दाः दुईजना प्रहरी फन्दामा

काठमाडौं– पछिल्लो समय बाहिर खाजा घरको नाम राखी भित्र यौन व्यवसाय गर्ने होटल फस्टाउँदै गएको छ । राजधानीमा रहेका कतिपय होटलमा यस्तो धन्दा सञ्चालन हुने गरेको पाइएको छ ।

काठमाडौंको टोखा–९, गणेशस्थानमा कविता खाजाघरको नाममा यौनधन्दा पनि हुने गरेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले पत्ता लगाएको छ । यो सँगै दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा माघ ७ गते उक्त खाजाघरमा छापा मार्दा युवतीहरुलाई दैनिक २० देखि २५ जना ग्राहकसँग समेत यौन सम्पर्क गर्न बाध्य बनाइएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

पक्राउ पर्नेहरुमा मनु छन्त्याल र राजु छन्त्याल भनिने राजु महर्जन रहेका छन् । सोही दिनदेखि फरार रहेका राजु छन्त्याललाई विशेष सूचनाको आधारमा वृतबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसिरहेको अवस्थामा शुक्रबार पक्राउ गरेको हो ।

उनीहरुले युवतीहरुलाई खाजा घरमा काम दिने प्रलोभनमा पारी ग्राहकहरुसँग यौन सम्पर्क गर्न लगाएको, यौन सम्पर्क गर्न नमानेमा शारीरिक र मानसिक यातना दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

खाजा घर सञ्चालनको नाममा यौनधन्दा हुने गरेको पाइएको वृतका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए । ‘अपरिचित पुरुषहरुसँग बस्न र जान नमानेमा कुटपिट गरेर होटलमै बन्धक बनाएर राख्ने गरेको भेटिएको छ,’ प्रसाईंले भने ।

निजहरुले परिवर्तित नाम १६७ र परिवर्तित नाम १६७ (क) लाई निजहरुको ईच्छा मन्जुरी बिना दबाबमा पारी लामो समयदेखि जबरजस्ती यौनजन्य कार्यमा संलग्न गराइएको पाइएको छ ।

उनीहरुलाई महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु