नोबेल शान्ति पुरस्कार विजेता मलालाको नयाँ पुस्तक

नोबेल शान्ति पुरस्कार विजेता मलालाको नयाँ पुस्तक

काठमाडौं  – नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजाईले विश्व आप्रवासी नीतिले प्रभावित महिलाको कथा समेटेर एक पुस्तक प्रकाशन गरेकी छन्।

‘वी आर डिसप्लेस्ड : माई जर्नी एन्ड स्टोरिज फ्रम रेफ्युजी गर्ल्स अराउन्ड द वर्ल्ड’ नामक उक्त पुस्तकमा उनले आफ्नो व्यक्तिगत कहानीसमेत समेटेकी छन्। आफ्नो देश पाकिस्तानमा तालिवानको आक्रमणबाट झन्डै मारिएकी मलालाले आफ्नो घटनाका साथै विश्वका अन्य विभिन्न ठाउँबाट विस्थापित महिलाको कथा पुस्तकमा प्रस्तुत गरेकी छन्।

शरणार्थीका बारेमा सुन्दा उनीहरू विश्वभर कति संख्यामा छन् भन्ने तथ्यांक मात्रै आउने भए पनि उनीहरू के भन्न चाहन्छन्, उनीहरूको सपना के हो भन्नेबारे पुस्तकमा आफूले प्रस्तुत गर्न चाहेको युसफजाईले बताइन्। अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनरत मलालाले उक्त पुस्तकमार्फत शरणार्थीका विविध पक्षबारे जानकारी दिन खोजेको पनि बताइन्।

विश्वमा युद्धबाट प्रभावित महिला तथा बालबालिकाको जीवन रक्षाका लागि एउटै विकल्प हुन्छ, शरणार्थी बन्नु। यी महिला पनि शान्त वातावरणमा बाँच्न चाहन्छन्, आफ्नै घर होस् भन्ने चाहन्छन्। आफ्नै छोराछोरीसँग भविष्य बिताउन चाहन्छन्। तर यस्ता कुरा बाहिर नआउने भएकाले संसारलाई आफूले यही कुरा किताबमार्फत बुझाउन खोजेको उनको भनाइ छ।

पुस्तकमा मलालाले कंगो र जाम्बियामा फैलिएको हिंसाबाट पेन्सिलभेनिया पुगेकी मारी क्लेरीको कथा समेटेकी छन्। ग्वाटेमालाबाट मेक्सिको हुँदै अमेरिका पुगेकी एनालिसाको कथा पनि धेरैका लागि प्रेरणादायी हुनसक्ने उनले बताएकी छन्। एजेन्सी

वडा समाचारहरु

सम्बन्धित समाचारहरु