पूर्वसांसद राईले कपाल मुन्डन गरेरै आमाको किरिया बसिन्

पूर्वसांसद राईले कपाल मुन्डन गरेरै आमाको किरिया बसिन्

काठमाडौं  – अचेल महिलाहरुले पनि बा-आमाको निधनमा काज किरिया गर्ने चलन यदाकदा देखिन थालेको छ ।

समाजको पुरातन संस्कारलाई चुनौती दिँदै उनीहरुले गर्ने किरियालाई लैंगिक विभेद् हटाउने पहलको रुपमा पनि टिप्पणी हुन्छ । यस्तैमा संविधानसभा सदस्य तथा सभासद उषाकला राईले आफ्नी आमाको मृत्युमा काज किरिया सुरु गरेकी छन् ।

हिजो पुस २५ गते आमा लक्ष्मी राईको निधनपछि पशुपति आर्यघाटमा दाह संस्कार गरेर कपाल मुन्डन नै गरी उषाकलाले १३ दिने काज किरियामा बस्ने निधो गरेकी हुन् । वैदिक संस्कारको रुपमा पुरुषले किरिया गर्ने चलन भए पनि उषाकलाले उक्त संस्कार हटाउँदै किरिया बसेकी हुन् । उनको यस्तो कदमलाई उषाकलाकै श्रीमान संघीय सांसद तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले लैंगिक विभेद् विरुद्ध पहलको रुपमा व्याख्या गरेका छन् ।

तामाङले उषाकलालाई सम्बोधन गर्दै फेसबुकमा लेखेका छन्, ‘आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भने पनि पुरुष अर्थात पुत्र बस्ने चलन) बसी समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भए पनी व्यहारिक हिसाबले अन्त्य गर्न तपाईंहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।’

पहिलो संविधानसभाको मौलिक अधिकार समिति अन्तरगत लैंगिक उपसमितिको संयोजकको रुपमा संविधानमा महिलाको वंशको हक लेखाउन राईको भुमिका थियो । उनको यस्तो कदमलाई स्मरण गर्दै सांसद तामाङले प्रसंसा पनि गरेका छन् ।

सभासद राई आमाको निधनको आज दोस्रो दिन काठमाडौंको जोरपाटीस्थित निवासमै किरिया बसिरहेकी छन् । तामाङले बताए अनुसार उषाकलाले वैदिक संस्कार अनुसार पाचौँ दिन जन्मथलो खोटाङको दिक्तेल नगरपालिकामा लगेर पितृको अस्तु सेलाउने छिन् । लक्ष्मीको एक्लो सन्तान उषाकला १३ दिनसम्म किरियापुत्रीको रुपमा कपाल मुन्डनकै अवस्थामा सेतो कपडा लगाएर बस्ने बताइएको छ । नेकपाका नेता समेत रहेका सांसद शेरबहादुर तामाङ र उषाकला राई तामाङ मन्त्री छँदा क्वार्टरकै जमिनमा तरकारी फलाएर चर्चामा आएका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु