Breaking News

प्रदेश ३ सरकारले विद्युतीय बस सञ्चालन गर्ने,३० करोडको योजना

१० वर्षमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारी विस्थापित गर्ने नीति

काठमाडौं- प्रदेश ३ सरकारले विद्युतीय बस सञ्चालनको प्रक्रिया तत्काल सुरु गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायात सहकारी संस्था लिमिटेड र काठमाडौं महानगरपालिकासँगको सहकार्यमा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको हो ।

बुधबारको मन्त्रिपरिषद् बैठकले साझा यातायात सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा प्रदेशका जिल्लामा विद्युतीय बस सञ्चालन गर्ने निर्णय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

यसअघि बुधबार नै मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, प्रदेश ३ नीति तथा योजना आयोग उपाध्यक्ष डा. खिमलाल देवकोटा, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितसहितको बैठकमा विद्युतीय बस खरिद गरेर सञ्चालन गर्नेबारे छलफल भएको थियो ।

प्रदेश सरकारले यसै आर्थिक वर्षमा ३० करोड रुपैयाँसम्म खर्च गर्ने र काठमाडौं महानगरपालिकाले १० करोड रुपैयाँ बराबरको विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने योजनाअघि सारिएको हो ।

प्रदेश सरकारले ०८५ सम्ममा काठमाडौं उपत्यकासहित चितवन, हेटौँडा, बनेपा, धुलिखेल, पनौतीमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधन विस्थापित गर्ने नीतिअनुरूप विद्युतीय बस सञ्चालनको तयारी गरिएको मुख्यमन्त्री पौडेलले जानकारी दिए । नमुनाको रूपमा चालू वर्षमा ३० करोड रुपैयाँको विद्युतीय बस खरिद गर्न लागेको उनले बताए ।

मन्त्री ढुंगेलले प्रदेश सञ्जाल जोडिने गरी विद्युतीय बस सञ्चालन हुने बताए ।सरकारी लगानीको संस्था भएकाले साझा यातायातसँग सहकार्य हुने उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाका मेयर शाक्यले बस खरिदका लागि १० करोड रुपैयाँ छुट्याएको जानकारी दिँदै साझा यातायातसँगको सहकार्यमा बस खरिद गरेर चलाउने बताए ।

साझा यातायातका अध्यक्ष दीक्षितले काठमाडौंका लाखौँ यात्रुले यातायातमा समस्या खेपिरहेको स्मरण गर्दै साझा यातायातले धेरै राहत दिएको बताए । साझामार्फत चल्ने बसको संख्या र सुविधा बढाउनुपर्ने बताए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु