Breaking News

हेलिकप्टर उडान रुट अलग्गै,१२ वटा रुट तय

''निषेधित क्षेत्र उडानमा सहजीकरण माग''

काठमाडौं  – हेलिकप्टर उडान रुट अलग्गै हुने भएको छ। निजी क्षेत्रका हेलिकप्टरको छाता संगठन हेलिकप्टर सोसाइटी अफ नेपालको पहलमा नियमित उडानका जहाजलाई असर नपर्ने गरी ६५ सय फिटभन्दा कम उचाइबाट उडान गर्ने गरी नयाँ रुट तय गरिएको छ। नयाँ रुटमा आइतबारदेखि परीक्षण उडान सुरु हुन्छ। हेलिकप्टर आखाँले हेरेर (भीएफआर)मा उडान गरिन्छ।

सोसाइटीका महासचिव योगराज शर्मा कँडेलले कम उचाइ कायम गरेपछि लगातार टावरसँग सम्पर्क गरिहनु नपर्ने जानकारी दिए। यसले पटकपटक टावरसँग सम्पर्क गर्नु नपर्ने भएकाले टावरको फिक्वेन्सीको व्यस्तता पनि कम गर्छ। ‘टावरसँग हेलिले पाँच नटिकलमाइल र २५ नटिकल माइलमा मात्रै सम्पर्क गर्ने गरी काठमाडौं विमानस्थल भित्रिने र बाहिरिने गर्छ। यसका लागि १२ वटा रुट तय गरेका छांै शर्माले भने।

उपत्यकाबाट बाहिरिँदा र प्रवेश गर्दा गोकर्ण रुटबाहेक टोखा, चाँगुको कात्तिके र नगरकोट पासमा ६५ सय रुटमा उडान हुन्छ। गोकर्णको सुन्दरीजल पासमा ७५०० फिटमा उडान गर्नेछ। भक्त नाला र साँगामा ६ हजार, वाग्मतीको (ब्राभो, किलो), थानकोट (ब्राभो, किलो), सीतापाइला, मैजुमा ५५ सय फिटमा उडान गर्नेछन्। यस अघि यही रुटमा टावरले दिएको अनुमतिका आधारमा हेलिको उडान हुन्थ्यो।

बढी व्यस्त हुन थालेको र हेलीको उडानलाई थप सहज बनाउन विकल्प खोजिएको हो। अब भने जहाजभन्दा तल उडान गर्ने हुँदा हेलिका कारण न विमानस्थल व्यस्त हुन्छ न त जहाजलाई नै बाधा पुग्छ। यसबाट सुरक्षामा समेत नकारात्मक असर पर्दैन। यो उडानपछि विमानस्थलमा हवाई चापमा करिब ३३ प्रतिशतसम्मले कम आउने अनुमान गरिएको छ।

हाल विमानस्थलमा आउँदा जहाज आकाशमा होल्ड गर्नुपर्ने समस्या छ। यसले गर्दा इन्धन बढी खपत हुने र जहाजको उडान आवर पनि सकिने गर्छ। यो समस्याका कारण होलिकप्टर पनि पालैपालो उडानमा जाने तथा उडान समय पर्खनुपर्ने अवस्था थियो। अब समस्यामा कमी आउँछ।

हेलिकप्टर सोसाइटीको अग्रसरतामा यस्तो हेली रुट १२ वटा तय भएको छ। हाल जम्मा ६ वटा मात्रै यस्तो हवाई रुट छन्। पोखरा र लुक्लामा पनि यस्तो रुट तय हुनेछ। हवाई रुट आइतबारबाट १५ दिनलाई अभ्यासको लागि प्रयोग गरिनेछ। त्यसपछि हुने समीक्षा बैंकठले यसमा देखिएका समस्या र सुधार गर्नुपर्ने विषय समेटेर अन्तिम प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पेश गर्ने हेलिकप्टरस सोसाइटीले जानकारी दिएको छ। रुट अभ्यासकै समयमा फिक्स विङ्सका जहाज, हेलिकप्टरका पाइलट र एटीसीसँग पनि छलफल हुन्छ। ‘यसमा केही समस्या आइपरे समाधान गर्दै नियमितरूपमा सोही रुट प्रयोग हुन्छ’, कँडेलले भने।

यस्तो हवाई रुट तय गर्न र एक महिनाभित्र लागू गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रतिनिधिसहित सात सदस्यीय समिति बनेको थियो। समितिले प्राधिकरणबाट निर्देशन पाएको एक सातामै नयाँ रुट तय गरेको हो। यसलाई लागू गर्न सोसाइटीले पाइलट र एटीसीलाई तालिम दिने भएको छ। यो रुट एरोनटिकल इन्फरमेसन पलिब्केसन (एआईपी)मा प्रकाशन गरेपछि लागू हुन्छ।

हेलिकप्टर सोसाइटी अफ नेपालले निषेधित क्षेत्रमा उडान गर्न अनुमति लिने प्रक्रिया सहजीकरण गर्न माग गरेको छ। हाल यस्तो क्षेत्रमा उडान अनुमति लिन समय लाग्ने र झन्झटिलोसमेत भएकाले सहजीकरण गर्न सोसाइटीले बिहीबार पर्यटन मन्त्रालयसँग यस्तो आग्रह गरेको हो। सोसाइटीले पर्यटन सचिव कृष्ण देवकोटालाई ज्ञापनपत्र बुझाउनुका साथै हेलिकोप्टर उडानका समस्या जानकारी गराएको छ।

सोसाइटीका अध्यक्ष क्या.रामेश्वर थापा, उपाध्यक्ष सतीस प्रधान, महासचिव योगराज कँडेल शर्मा, सदस्य निमा नुरु शर्पा, विनोद थकाली, अनिल मानन्धर, प्रतापजंग पाण्डे, राजु न्यौपानेसहितको टोलीले सचिवसँग भेटेको हो। सोसाइटीका अध्यक्ष थापाले हेलिकप्टर कम्पनीले भोग्नुपरेका समस्यामा सोसाइटी पनि एउटा स्टेक होल्डर भएकाले समस्या समाधानमा हातेमालो गर्न तयार रहेको बताए। उनले हवाई सेफ्टी र सेक्युरिटीमा कसरी हातेमालो गरी अगाडि बढ्न सकिन्छ त्यसमा सोसाइटीले आवश्यक साथ र सहयोग दिने पनि बताए।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु