चन्द्रागिरीले नियम विपरित असुल्यो कवाडी करः व्यवसायीहरुले पोखे गुनासो

चन्द्रागिरीले नियम विपरित असुल्यो कवाडी करः व्यवसायीहरुले पोखे गुनासो

काठमाडौं– चन्द्रागिरी नगरपालिकाले अव्यवहारिक रुपमा कवाडी कर असुल गरेको त्यहाँका कवाडी व्यवसायीहरुले गुनासो गरेका छन् । सर्वोेच्च अदालतले गत असोज २२ गते नगपालिकाको बाटो प्रयोग गरेर दोहोरो कर लिने गरेको ठहर गर्दै सो कर नउठाउन आदेश दिएका थियो ।

तर, सो आदेश विपरित नगरपालिकाले दोहोरो कर असुल गरिराखेको नेपाल कवाडी व्यवसायी समाजका अध्यक्ष रामकेबल गुप्ताले बताए । अध्यक्ष गुप्ताले आफूहरुले अहिलेपनि राज्यलाई तिर्नुपर्ने कर तिरिरहेको भएपनि चन्द्रागिरी नगरपालिकाले भने दोहोरो कर लिन नछाडेको गुनासो गरे ।

काठमाडौंबाट निस्किएका कवाडी सामानहरु लिएर जाँदा सम्बन्धित ठाउँमा कर तिरिसकेको रसिद देखाउँदा पनि नगरपालिकाले दोहोरो कर लिइरहनु व्यवहारिक नभएको उनले बताए । काठमाडौंमा १८ वटा नगरपालिका रहेका छन् । व्यवसायीहरुले नगरपालिकाभित्रका कबाडी संकलन गरी प्रसोधनकालागि काठमाडौं बाहिर लैजाने गरेका छन् ।

उक्त कबाडी निकासी बापत राजस्व कार्यालयलाई कर तिरिसके पनि बाटो बाटोमा बसेर फेरि यसरी कर उठाइनु नियम संगत नभएको व्यवसायीहरुको गुनासो छ । अदालतको आदेश समेत नमानि नगरपालिकाले मनपरी कर लिनाले कर प्रणालीमाथि प्रश्न चिन्ह खडा भएको व्यवसायीहरुको भनाई छ ।

अध्यक्ष गुप्ताले भने, ‘यदि निकासी गर्दा हरेक ठाउँमा कर तिर्दै जानु पर्ने भयो भने व्यवसाय नै संकटमा पर्छ ।’ केही समय अगाडि समाजले काठमाडौंमा पत्रकार सम्मेलननै गरेर चन्द्रागिरी नगरपालिकाले कवाडी व्यवसायीहरुसँग अव्यवहारिक रुपमा दोहोरो कर लिएको भन्दै कडा आपत्ति जनाएको थियो ।

यसैबीच चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीसँग यसबारे प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । स्रोतको सम्पर्कमा आएकी उपप्रमुख लिशा नकर्मीले भने आफूलाई यसबारे केही जानकारी नभएको भन्दै मेयरसँग नै बुझ्न आग्रह गरिन् ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु