Breaking News

पुरातात्विक तथा ऐतिहासिक घर निर्माण गर्नेलाई शङ्खरापुर नगरपालिकाको एक लाख सहयोग

साँखु– शङ्खरापुर नगरपालिकाले साँखुमा पुरानो शैलीका पुरातात्विक तथा ऐतिहासिक घर निर्माण गर्नेलाई एक लाख थप अनुदान वितरण गरेको छ । साँखुको ऐतिहासिक पहिचान र अस्तित्व बचाउन परम्परागत शैलीमा घर निर्माण गर्नुपर्ने नगरपालिकाको निर्णयअनुसार उक्त रकम वितरण गरिएको हो ।

नगरपालिकाले तोकेको मापदण्डअनुसार साँखु बजारक्षेत्रका आठ भूकम्पपीडितले आवास पुनःनिर्माण सम्पन्न गरी नगरपालिकाबाट एक/एक लाख गरी आठ लाख लिइसकेको शङ्खरापुर नगरपालिकाका इञ्जिनीयर मिलन फुँयालले जानकारी दिएका छन् । बजारक्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक संरक्षणका लागि पुरानै शैलीमा आवास निर्माण गरेपछि नगरपालिकाबाट थप अनुदानस्वरुप एक लाख पाइन्छ । कात्तिकसम्ममा पुनःनिर्माण सम्मन्न गरी अनुदान पाउनेमा साँखुका शान्तिलाल श्रेष्ठ, हरिकृष्ण मानन्धर, बलराम श्रेष्ठ र राजाराम डङ्गोलसहित आठ जना छन् ।

आवास निर्माण सम्पन्न गरेर नगरपालिकाबाट थप अनुदानको लागि अन्य तीन जनाले निवेदन दिएका छन् । निवेदन दिएका लाभग्राहीको घर अवलोकन गरी नगरपालिकाले थप अनुदान वितरण गर्ने नगरपालिकाका प्रमुख कार्यकारी प्रमोद सिम्खडाले बताएका छन् । नगरपालिकाले पुरानै शैलीमा घर निर्माण गर्नेलाई नक्सासमेत निःशुल्क बनाइदिने गरेको छ । इञ्जिनीयर फुँयालका अनुसार नक्साको गलत प्रयोग नहोस् भनी नक्सा बनाउनुपूर्व धरौटीका लागि केही रकम नगरपालिकाको खातामा राख्ने र पछि घर सम्पन्न गरिसकेपछि फिर्ता गर्ने गरिएको छ ।

साँखु बजारका झण्डै एक हजार घरमध्ये करीब ७०० ऐतिहासिक तथा पुरातात्विक शैलीका घर ध्वस्त भएका थिए । अहिले १०० भन्दा बढी घर निर्माण भइरहेका छन् । भूकम्प गएको चार वर्ष भइसक्दा पनि राजधानीभित्रकै प्राचीन, ऐतिहासिक तथा पुरातात्विक महत्वको शहर साँखुमा घर अझै पुनःनिर्माण हुनसकेको छैनन् । विसं २०७२ मा गएको भूकम्पबाट प्राचीन शहर साँखुबजारका मौलिक शैलीका धेरै घर क्षतिग्रस्त भएका थिए । शङ्खरापुर नगरपालिकाको ढिलासुस्ती, लामो समयसम्म कसले पुनःनिर्माण गर्ने भन्ने अन्योल, आर्थिकभार, जग्गा विवादलगायतका कारण साँखु बजारक्षेत्रको पुनःनिर्माण हुननसकेको स्थानीयवासी बताउँछन् ।

स्थानीयवासी दिनेशलाल श्रेष्ठले पुरानै शैलीमा घर निर्माण गर्न साँखुमा अहिले दक्ष कामदारको समेत अभाव भएको बताए । “लिच्छवीकालीन झ्यालढोका निर्माण गर्न कालीगढको अभाव छ, पाइहाले पनि अत्यधिक महङ्गा र काममा ढिलाइ हुँदा साँखुवासी पीडित छन्,” उनले भने । भूकम्पमा परी शङ्खरापुर नगरपालिकामा २६ पुरुष र ७२ महिलाको मृत्यु भएको थियो । यहाँ ६ हजार ४५२ घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । जनस्तरसहित सरकारका तर्फबाट पनि साँखुका ऐतिहासिक संरचनाको जगेर्ना गर्ने काम तदारुकताका साथ भइदिए त्यसले साँखुको वैभवपूर्ण सांस्कृतिक सम्पदालाई चीरकालसम्म बचाइराख्न सहयोग पुग्ने पुरातत्वविद् बताउँछन् । रासस

वडा समाचारहरु

सम्बन्धित समाचारहरु