Breaking News

घरघरमा खानेपानी सुविधापछि स्थानीयवासी हर्षित

बेझाड– बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौँ खानेपानी खोजेर जीविका चलाएका सिलुवा माथिल्लोथरका स्थानीयवासी अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दङ्ग छन् ।

वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य यहाँका स्थानीयवासीलाई बिहान उठेपछि अरू कामकाजभन्दा खानेपानीको जोहो गर्नेमा निकै पिरलो पर्ने गथ्र्यो । पूर्वखोला गाउँपालिका–१ माथिल्लोथरका स्थानीयवासीले लिफ्टिङ प्रणालीबाट सहज रुपमा खानेपानीको उपभोग गर्न पाएका हुन् । स्थानीयवासीको अथक प्रयास र मिहेनतपछि घरघरमा पानी आएको हो ।

खानेपानी तथा सरसफाइ कार्यालय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजनामार्फत गाउँका सबै घरघरमा खानेपानीको सुविधा पुगेको छ । झिसमिसेमै गाग्री बोकेर पानी खोज्न निकै दौडधुप गर्नुपथ्यो अहिले त्यो समस्या हटेको स्थानीयवासी प्रेमकुमारीले बताईन् ।

“पानी बोक्नमै घण्टौँ समय खर्चनुपथ्र्यो, अहिले घरमै धारा जडान भएकोले जतिबेला पनि पानी आइरहन्छ, पानी बोक्ने समय अरु काममा लगाउन पाइएको छ ”, उनले भनिन् । सो आयोजनामार्फत यहाँका ६० घरधुरीमा खानेपानीको सुविधा पुगेको छ । यस आयोजनाबाट करीब तीन सय लाभान्वित भएका छन् । गाउँदेखि झण्डै चार हजार मिटर तलबाट लिफ्टिङ गरी पानी वितरण गरिएको हो । सरकारको रु ४२ लाख, स्थानीयवासीको जनश्रमदान ११ लाख गरी रु ५३ लाख बराबरको लागतमा आयोजना सम्पन्न भएको जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजनाका संयोजक मानबहादुर बयम्बुले बताए । आव २०७०/७१ बाट आयोजना निर्माण कार्य शुरु भएको थियो । रासस

वडा समाचारहरु

सम्बन्धित समाचारहरु