टोखा नगरपालिकाका प्रशासकीय अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २० दिनअघि १ लाख घूस लिँदा लिँदै पक्राउ परेका टोखा नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीविरूद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले मंगलबार विशेष अदालतमा उनीविरूद्ध मुद्दा चलाएको जानकारी दिएको छ ।

उनीलाई १ लाख जरिवाना ४ महिनादेखि ६ महिनासम्म कैद सजाय हुनुपर्ने माग अख्तियारले विशेष अदालत समक्ष राखेको छ ।

‘निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसूर गरेको देखिन आएकोले निजलाई बिगो एक लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ,’ अख्तियारले जारी गरको विज्ञप्तिमा उल्लेख छ।

उक्त ऐनको दफा ३ को उपदफा १ मा घूस लिनेबाट जति घूस लिएको छ त्यो असुल गर्न र त्यति नै रकम जरिवाना तिराउनुपर्ने उल्लेख छ । उपदफा १ को (ग) मा भने ५० हजार देखि १ लाख रूपैयाँसम्म घूस लिनेलाई ४ देखि ६ महिनासम्म कैद सजाय सुनाउनुपर्ने भनिएको छ।

नव सिर्जना टोल सुधार उपभोक्ता समाजलाई बाटो ढलानको लागि छुट्टयाएको रकमको अन्तिम बिल भुक्तानी गरी दिनेबेला उनले घूस मागेका थिए।

उक्त घूस रकमसहित अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु